सरकारले सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली लागु गर्ने कि नगर्ने भनेर विभिन्न चरणमा छलफल चलाइरहँदा निजी क्षेत्रका यातायात व्यवसायीहरुले भने तत्काल रातो नम्बर प्लेटका सवारीमा जोरबिजोर लागु गर्नुपर्ने माग गरेका हुन् । रातो नम्बर प्लेटका निजी सवारी जस्तैः कार, मोटरसाइकलजस्ता सरकारी प्रयोजनका सवारीमा तत्काल जोरबिजोर प्रणाली लागु गर्नुपर्ने नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका कार्यबाहक अध्यक्ष सरोज सिटौलाले मेरोलगानीसँग बताए ।
उनले तत्काल सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गर्दा त्यसको प्रत्यक्ष मार आम सर्वसाधारणमा पर्ने हुँदा पहिलो चरणमा रातो नम्बर प्लेटका सवारीमा यो नियम लागु हुनुपर्ने उनी बताउँछन् ।
‘मध्यपूर्वी युद्धले पेट्रोलियम पदार्थ र तेल आपूर्तिको समस्या आउँदैछ । तर, त्यसका लागि हामीले वैज्ञानिक विकल्प अपनाउनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यो भनेको तत्काल रातो नम्बर प्लेटका सवारीलाई जोरबिजोर गर्ने । आम सर्वसाधारणलाई अप्ठ्यारो पर्ने गरी अहिले नै पहेँलो र कालो नम्बर प्लेटका सवारीलाई निर्वाध चल्न दिऔं ।’
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागलगायतका निकायसँग अनौपचारिक रुपमा छलफल भए पनि कुनै निर्णय नभएको उनले बताए । उनकाअनुसार, पेट्रोलियम पदार्थको आपूर्ति हुँदाहुँदै अहिले नै लामो र छोटो दूरीका सार्वजनिक सवारीहरुमा जोरबिजोर प्रणाली आवश्यक नभएको उनी बताउँछन् ।
‘पछि पेट्रोलियम पदार्थको आपूर्तिमा ठूलो समस्या आएको खण्डमा सार्वजनिक सवारीमा पनि जोरबिजोर लागु गर्न सकिन्छ । तर, तत्काल त्यस्तो अवस्था छैन् । पेट्रोलियम पदार्थको आपूर्ति नियमित नै छ,’ उनले भने, ‘सरकारसँग मेरो अनुरोध छ कि तत्काल रातो प्लेटका सवारीमा यो नियम सुरु गरौं ।’
यता, सरकारले सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली लागु गर्ने विषयमा प्रारम्भिक छलफल अघि बढे पनि ठोस् निर्णय भने नभएको जनाएको छ । ‘पछिल्लो मध्यपूर्वी युद्धको असर नेपालको पेट्रोलियम पदार्थको आपूर्तिमा देखा पर्न सक्ने देखिन्छ । त्यसलाई हेरेर सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली लागु गर्ने कि भन्ने छलफल अघि बढेको हो,’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भने, ‘छलफलकै चरणमा छौं, निर्णय भइसकेको छैन् ।’ पेट्रोलियम पदार्थको खपत घटाउन र मितव्ययी हुनुपर्ने अवस्थाका कारण पनि यसो गर्नु परेको उनी बताउँछन् ।
उनकाअनुसार, खपत घटाउन काम गर्ने दिन घटाउने, घरबाट नै काम गर्नेलगायतका बुँदाहरुमा समेत छलफल भएको छ । त्यस्तै, बिजुलीको प्रयोग बढाउने, इन्धन तथा पेट्रोलको खपत घटाउने विकल्प खोज्नेलगायतका काम भइरहेको मन्त्रालयले जनाएको छ ।
नेपाल आयल निगमले भने भविष्यमा पेट्रोलियम पदार्थको आपूर्तिमा हुन सक्ने समस्यालाई मध्यनजगर गर्दै रणनीति बनाउनुपर्ने जनाएको छ । मध्यपूर्वी क्षेत्रका देशहरुको युद्ध लम्बिँदै गएको खण्डमा भने जोरबिजोर विकल्प हुन सक्ने निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।
तर, हालसम्म निगमले सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली लागु गर्ने विषयमा कुनै सिफारीस नगरेको उनले बताए । अहिलेको अवस्थामा भने पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण निगम आफैंले पनि ठूलो घाटा व्यहोर्नुपरेको उनले बताए ।