कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ८२ हजार ५०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
अब भने कम्पनीले दोस्रो चरणमा ४१ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र १६ हजार ५०० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित राखी बाँकी रहेको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ६ करोड ८४ लाख ७५ हजार रुपैयाँबराबरको ६ लाख ८४ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा चैत २५ गते हुनेछ भने ढिलोमा २०८३ बैशाख ६ गते हुनेछ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको ५ मेगावाटको साँगु (सोरुन) खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड १४ लाख रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २९ वर्ष ५ महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.१९ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १५.३६ वर्ष रहेको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन्।