प्रशासनिक सुधारको लागि हुन लागेका प्रधानमन्त्री शाहले शुरुदेखि नै आक्रमकरुपमा काम गर्ने योजना बनाइरहेको चर्चा चलिरहँदा सपथ नखाँदैदेखि सडक प्रदर्शनको सामना गर्नु परेको छ, त्यो पनि अरु कुनै विरोधीहरुले नभएर सरकारी हाकिमहरुबाटै ।
छरितो मन्त्रीमण्डल बनाउने नाममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउन लागिएको भन्दै बिहीबार काठमाडाैंकाे माइतीघरमा महिला अधिकारकर्मीहरूले विरोध प्रदर्शन गरेका छन् । त्यसको नेतृत्व महिला आयोगकी अध्यक्ष कमला पराजुली र राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापाले गरेका छन् । विरोध प्रदर्शनमा महिला अधिकारकर्मीहरुको साथै विभिन्न मन्त्रालयमा रहेका कतिपय महिला हाकिमहरुको समेत सहभागिता रहेको छ ।
प्रदर्शनकारीलाई सम्वोधन गर्दै महिला आयोगकी अध्यक्ष पराजुलीले राज्यको खर्च कटौती गर्ने नाममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समाहित गर्न लागेको भन्दै कडा आपत्ती जनाइन् । उनले जनसंख्याको ५१ प्रतिशत महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकको सवाललाई महिला मन्त्रालयले सम्बोधन गरिरहेको भन्दै यदि मन्त्रालय खारेज गरिए देशभरका महिलाहरु सडकमा उत्रने दावी गरिन् ।
राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापाले खर्च कटौतीको नाममा पटक-पटक महिला मन्त्रालयमाथि टार्गेट गर्ने गरिएको बताउँदै बन्न लागेको सरकारले महिला आयोग पनि खारेज गर्ने तयारी गरेकोले महिला अधिकारवादीहरुलाई सशक्त आन्दोलनको लागि तयारी गर्न आब्हान गरिन् ।
स्मरण रहोस् राष्ट्रिय स्वन्तन्त्र पार्टीले महिला मन्त्रालयलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभेर स्वास्थ्य तथा समाज कल्याण मन्त्रालय बनाउने तयारी गरेको सार्वजनिक भएको छ।