भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM merolagani



नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ। 

गत शुक्रवार मुलुकले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह (बालेन) लाई पायो। धेरैले सोचेका थिए कि एउटा नयाँ र जोसिलो अनुहार देशको नेतृत्वमा आएपछि शेयर बजारले निकै ठुलो फड्को मार्नेछ। तर, आइतबारको बजारले भने सबैको अनुमानलाई उल्टाइदियो। बजार खुलेको केही समयदेखि नै ओरालो लाग्न सुरु गरेको नेप्से परिसूचक दिनको अन्त्यसम्म आइपुग्दा ७१ अंकभन्दा बढीले घट्यो। यो गिरावटले धेरै लगानीकर्तालाई अत्त्याएको छ। 

नयाँ प्रधानमन्त्री नियुक्त हुने बित्तिकै सरकारले चालेको निकै आक्रामक कदमले बजारमा हलचल ल्याइदियो। सरकारले कार्यभार सम्हाल्ने बित्तिकै पूर्व प्रधानमन्त्री र पूर्व गृह मन्त्रीलाई पक्राउ गर्‍यो। सुशासनको दृष्टिकोणले यो एउटा साहसिक कदम मानिए पनि शेयर बजारका लगानीकर्ताका लागि भने यसले डरको वातावरण सिर्जना गराइदियो।

नेपालमा जब  राजनीतिक शक्तिहरूबिच द्वन्द्व सुरु हुन्छ। तब मुलुकमा अस्थिरता बढ्छ भन्ने आम बुझाइ छ। नेकपा एमालेले यस गिरफ्तारीलाई प्रतिशोधको राजनीति भन्दै देशव्यापी विरोध प्रदर्शन सुरु गरेपछि लगानीकर्ताहरूमा एउटा त्रास फैलियो। उनीहरूलाई लाग्यो कि अब फेरि मुलुक सडक आन्दोलन र राजनीतिक खिचातानीमा फस्नेछ।  शेयर बजारले सधैँ शान्ति र स्थिरता खोज्छ। तर जब सडकमा नाराबाजी र राजनीतिक मुठभेडको संकेत देखिन्छ। तब लगानीकर्ताहरू आफ्नो पैसा जोगाउन शेयर बेचेर बाहिरिन हतारिन्छन्। आइतबारको बजारमा त्यही देखियो। जे जति मूल्य आउँछ लिएर निस्की हालौँ भन्ने। 

आइतबारको कारोबारको तथ्याङ्क हेर्दा बजार २.४० प्रतिशतले घटेर २८७९ को विन्दुमा झरेको छ। तर एउटा रोचक कुरा के छ भने, बजार घटे पनि कारोबार रकम भने निकै उच्च छ। करिब १५ अर्ब ३ करोड रुपैयाँको शेयर खरिद–बिक्री हुनुले के देखाउँछ भने बजारमा शेयर किन्नेभन्दा बेच्नेहरूको भिड निकै ठुलो थियो। जब धेरै मानिसहरू एकै पटक डराएर शेयर बेच्न थाल्छन्। त्यसलाई बजारको भाषामा 'प्यानिक सेलिङ' भनिन्छ। आइतबार ठ्याक्कै त्यस्तै भयो। खास गरी साना लगानीकर्ताहरूले राजनीतिक अस्थिरताको डरले धमाधम शेयर बेच्न थालेपछि बजारको ओरालो यात्रालाई कसैले रोक्न सकेन। ३३३ वटा कम्पनीमध्ये २५५ वटा कम्पनीको मूल्य घट्नुले बजारमा चौतर्फी निराशा छाएको स्पष्ट पार्छ। तर यस बिचमा पनि शेयर किन्नेहरु पनि देखिए। उनीहरूले अरू सबै डराएको बेला शेयर किन्ने साहस गरे। जसले गर्दा नै १५ अर्ब भन्दा बढीको काम हुन सकेको हो। तर आज साहस गरेर शेयर किन्नेले आउने दिनमा जित्लान् वा हार्लान् त्यो भने आउने दिनले नै प्रस्ट पार्ने छ। तर विश्व चर्चित लगानीकर्ता बारेन वफेटले भनेका छन् 'सबै डराएको बेला साहस गर्नेको जित हुन्छ'। 

 

सरकारले आफ्नो दोस्रो दिन नै जनताको विश्वास जित्नका लागि १०० बुँदे सुधारको योजना सार्वजनिक गरेको थियो। यस योजनामा मन्त्रालयको सङ्ख्या घटाएर १७ मा झार्ने, सरकारी खर्च कटौती गर्ने, भ्रष्टाचार नियन्त्रणका लागि डिजिटल प्रविधिको प्रयोग गर्ने र ऊर्जा क्षेत्रमा रहेका अवरोधहरू हटाउने जस्ता निकै राम्रा कुराहरू समेटिएका थिए।

तर नेपाल सरकार मन्त्रीपरिषद् मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरुको बुँदा नम्बर ४५ मा 'भ्रष्टाचार नियन्त्रणलाई प्रणालीगत बनाउन नेपाल राष्ट्र बैंकले १०० दिन भित्र बैंक खाता, डिजिटल वालेट, शेयर लगानी तथा अन्य वित्तीय गतिबिधिहरुलाई समेट्ने समन्वित डिजिटल सम्पत्ति लगत (Integrated Digital Asset Registry) स्थापना गर्ने, सोमा जोखिममा आधारित संकेत (Risk-Based Red Flag) प्रणाली लागु गर्ने तथा संदेहास्पद कारोबारहरूको स्वचालित पहिचान गरी सम्बन्धित निकाय मार्फत अनुसन्धान प्रक्रिया अघि बढाउने' उल्लेख छ। जुन बुँदाले शेयर बजारका लगानीकर्ताहरू समेत तानिने भय सञ्चार गरायो। जसले गर्दा आज शेयर बजार प्रभावित भयो।   

जबकि आम सर्वसाधारणले सबै बुँदाहरूलाई स्वागत गरे पनि शेयर बजारका लगानीकर्ताले भने यही ४५ नम्बर बुँदालाई गम्भीरता पूर्वक लिँदा विश्वास डगमगायो। अर्को तर्फ नेपालमा योजनाहरू बन्नु तर कार्यान्वयन नहुनु एउटा पुरानो रोग हो। लगानीकर्ताहरूले कागजमा लेखिएका बुँदाभन्दा पनि व्यवहारमा देखिने नतिजालाई बढी महत्त्व दिए।

अझ अहिलेको राजनीतिक मुठभेडको अवस्थामा यी सुधारका योजनाहरू कत्तिको लागू होलान् भन्ने संशयले बजारमा सकारात्मक ऊर्जा भर्न सकेन। लगानीकर्ताको मनोविज्ञानमा सुधारका कुराभन्दा पनि राजनीतिक प्रतिशोध र सम्भावित आन्दोलनले बढी प्राथमिकता पायो। सोही कारण आज बजारमा पहिरो गएको हो। 

बजारमा अर्को एउटा महत्त्वपूर्ण पाटो भनेको लगानीकर्ताको 'मनोविज्ञान' हो। धेरै लगानीकर्ताहरूले नयाँ प्रधानमन्त्री नियुक्त हुनुअघि नै बजार बढ्ने आशामा शेयर किनेर राखेका थिए। शेयर बजारमा एउटा चलन छ— हल्ला चल्दा शेयर किन्ने र समाचार सार्वजनिक भएपछि नाफा सुरक्षित गरेर बेच्ने। बालेन शाह प्रधानमन्त्री बन्ने निश्चित भएपछि धेरैले शेयर बेचेर नाफा सुरक्षित गर्ने योजना बनाएका थिए। आइतबार त्यही मनोविज्ञानले काम गर्‍यो। जब समाचार सत्य साबित भयो र साथमा राजनीतिक तनाव पनि थपियो, तब लगानीकर्ताहरूले शेयर बेच्नु नै बुद्धिमानी ठाने। प्राविधिक रूपमा हेर्दा पनि बजारले ३००० को मनोवैज्ञानिक तहलाई पार गर्न नसकेर तल झर्नुले एउटा नकारात्मक संकेत पहिले नै दिएको थियो।

बजारको यो गिरावटलाई केवल एउटा घटनाका रूपमा मात्र हेर्नुहुँदैन। नयाँ सरकारले जतिसुकै राम्रा योजनाहरू ल्याए पनि यदि राजनीतिक वातावरण धमिलो भयो भने त्यसको मार पूँजी बजारमा पर्छ नै। जेन-जी भनिने युवा पुस्ताको समर्थनमा आएको यो सरकारले पुराना शक्तिहरूसँग कसरी तालमेल मिलाउँछ र देशलाई कसरी शान्तिको बाटोमा लैजान्छ भन्ने कुरा नै अबको बजारको दिशा तय गर्ने मुख्य आधार हुनेछ। यदि सरकारले ती १०० बुँदे सुधारका योजनाहरूलाई द्रुत गतिमा कार्यान्वयन गर्दै राजनीतिक तनावलाई कम गर्न सक्यो भने बजार फेरि लयमा फर्कन सक्छ।

आइतबारको १५ अर्बको उच्च कारोबारले यो पनि देखाउँछ कि बजारमा पैसाको अभाव छैन। केवल विश्वासको अभाव छ। धेरै लगानीकर्ताहरू अहिले 'पर्ख र हेर' को अवस्थामा छन्। उनीहरू हेर्न चाहन्छन् कि बालेन शाहको सरकारले एमाले जस्ता  दलहरूको विरोधलाई कसरी व्यवस्थापन गर्छ र आफ्ना सुधारका योजनाहरूलाई कसरी अगाडि बढाउँछ। 

प्राविधिक रूपमा हेर्दा पनि बजारले ३ हजारको मनोवैज्ञानिक तहलाई पार गर्न नसकेर तल झर्नुले एउटा नकारात्मक संकेत दिएको थियो। शेयर बजारको प्राविधिक चार्टले देखाए अनुसार बजार अहिले एउटा महत्त्वपूर्ण मोडमा छ। यदि यो गिरावट आगामी दिनमा पनि जारी रह्यो भने यसले लगानीकर्ताको आत्मविश्वासमा अझ ठुलो चोट पुर्‍याउन सक्छ। तर, यदि सरकारले आफ्नो काम र सुशासनको बलमा राजनीतिक स्थिरताको अनुभूति दिलाउन सक्यो भने, यो ७१ अंकको गिरावट केवल एउटा सानो अवरोध मात्र साबित हुनेछ। अहिलेका लागि लगानीकर्ताले संयमित भएर बजारको चाल र राजनीतिक घटनाक्रमलाई नजिकबाट नियाल्नु नै सबैभन्दा उत्तम विकल्प देखिन्छ। 

बजार सधैँ एउटै दिशामा जाँदैन। तर यसको गन्तव्य कता हुन्छ भन्ने कुरा देशको राजनीतिक स्थिरता र सरकारको काम गर्ने शैलीमा नै निर्भर रहन्छ। त्यसैले, अहिलेको अवस्थामा सुधारका योजनाभन्दा पनि राजनीतिक स्थिरता नै शेयर बजारका लागि सबैभन्दा ठुलो 'ब्याकअप' हुन सक्छ। यस्तो संवेदनशील समयमा हल्लाको पछाडि नलागी कम्पनीहरूको वास्तविक अवस्था र देशको समग्र परिस्थितिको विश्लेषण गरेर मात्र लगानीको निर्णय लिनु आवश्यक छ। देशले नयाँ नेतृत्व पाएको छ, आशा गरौँ कि यसले सुरु गरेको सुधारको यात्रा केवल कागजमा मात्र सीमित नभई व्यवहारमा उत्रिएर शेयर बजारलाई पनि नयाँ उचाइमा पुर्‍याउनेछ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।