काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी र गौतमश्री बहुउद्देश्यीय सहकारीका पदाधिकारीहरूलाई पक्राउ गरेको हो । गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडका अध्यक्ष इमानसिंह राई सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने अन्यमा संस्थाका मुख्य कार्यकारी अधिकृत लालबहादुर क्षेत्री,अविन कुमार राई र पूर्वलेखा सदस्य कर्णबहादुर राई रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाअनुसार उक्त सहकारीमा १० हजार ५९८ जना बचतकर्ताको कुल चार अर्ब पाँच करोड ६० लाख ६८ हजार ४५८ रुपैयाँ बचत रहेको पाइएको छ । तर, संस्थाको अभिलेखमा एक अर्ब ४९ करोड १६ लाख ३३ हजार ९२४ रुपैयाँ मात्र ऋण तथा लगानी प्रवाह भएको देखिएको हो । बाँकी रकमको कुनै हिसाब नभेटिएको र प्रवाह भएको ऋणसमेत बिना धितो वा कमसल धितोमा बाँडिएको देखिएको हो । पक्राउ परेका चारै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।
यसैगरी, कुलेश्वरमा प्रधान कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका व्यवस्थापक रवीन बिष्ट पनि पक्राउ परेका छन् । बिष्टलाई अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट नियन्त्रणमा लिएको हो । यस सहकारीले बचतकर्ताको साढे पाँच अर्ब रुपैयाँ भन्दा बढी ठगी गरेको आरोप छ । बिष्टलाई थप अनुसन्धान र म्याद थपका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
पछिल्लो समय सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाएपछि पीडित बचतकर्ताहरूले प्रहरीमा उजुरी दिने क्रम बढेसँगै प्रहरीले दोषीहरूमाथि कारबाही प्रक्रिया तीव्र पारेको छ । सरकारले पनि साशकीय सुधार अन्तर्गत पीडिहरुको बचत फिर्ता गर्न चासो देखाएको छ । साथै १०० दिन भित्र साना बचतकर्ताको बचत फिर्ता गर्ने तयारीका लागि सरोकारवालहरुसँगको छलफलमा तिब्रता दिएको छ ।