इन्धन संकटले साँच्चीकै ‘कन्ट्रक्सन होलिडे’ को अवस्था निम्तिएको हो ? यसो भन्छन् निर्माण व्यवसायी

Apr 12, 2026 06:15 PM merolagani



विगतदेखि नै मध्यपूर्वी क्षेत्रमा जारी युद्धका कारण नेपालमा पेट्रोल, डिजेललगायत(इन्धन)मा भएको चर्को मूल्य वृद्धिको असर नेपालको निर्माण क्षेत्रमा देखिन थालेको छ ।

इन्धनको मूल्य वृद्धिले निर्माणधीन विकासे आयोजनाहरुको काम ठप्प हुन पुगेको निर्माण व्यवसायी बताउँछन् । इन्धनको मूल्य वृद्धिको असरले निर्माणजन्य वस्तुको ढुवानी र लागत बढ्ने कारणले निर्माण कार्य अवरुद्ध हुन पुगेको हो ।

पटक पटक इन्धनको चर्को मूल्य वृद्धिको असर सिमेन्ट, डण्डी, बालुवा, सिमेन्ट, गिटीलगायतका निर्माण सामग्रीको ढुवानी र आपूर्तिमा समस्या देखिँदा निर्माण कार्य अवरोध भएको हो । निर्माण कार्यमा अत्यधिक प्रयोग हुने बिटुमिनको अभावसँगै डण्डी, सिमेन्टजन्य वस्तुको मूल्य वृद्धिको अतिरिक्त भार निर्माण व्यवसायीमा परेको छ ।

इन्धन अभावसँगै अन्य कारणले पनि तीव्र रुपमा काम हुने समयमा निर्माण क्षेत्र ठप्प हुने अवस्था सिर्जना भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघले सार्वजनिक खरिद ऐन २०६३ संशोधन गर्नुपर्ने, मूल्य समायोजन मार्ग निर्देशिका–२ जारी गर्नुपर्ने र निर्माण क्षेत्रमा तत्काल आपतकाल घोषणा गर्नुपर्ने माग गरेको छ ।

इन्धनको मूल्य वृद्धिसँगै बिटुमिनको अभावलगायतका कारण समग्र निर्माण क्षेत्र धराशायी हुने अवस्थामा पुगेको महासंघका निवर्तमान अध्यक्ष रवि सिंहले बताए । पछिल्लो इन्धनको मूल्य वृद्धिका कारण निर्माण क्षेत्रमा परेको असर र समस्या समाधान गर्न उनले सरकारसँग माग गरे ।

‘इन्धनको मूल्य बढेको बढ्यै छ । बिटुमिनको अभाव उत्तिकै छ । यसले समग्र निर्माण क्षेत्रमा आपतकाल घोषणा गरेर अघि बढ्नुपर्ने अवस्था छ, उनले भने, ‘मूल्य वृद्धिको अतिरिक्त भार निर्माण व्यवसायीलाई पर्ने स्थिति छ । नयाँ सरकारले समस्या समाधान गर्ने पहल गरोस् ।’

उनले सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्दै मूल्य समायोजन मार्ग निर्देशिका–२ जारी गर्नु  पर्ने बताए । देशभरका निर्माण व्यवसायीले तत्काल निर्माण बिदा(कन्ट्रक्सन हलिडे) घोषणा गरेर समस्या समाधान गर्न सरकारसँग माग गरिरहेका छन् ।

तर, सरकारले भने तत्काल कुनै ठोस् कदम चालेको छैन् । स्रोतका अनुसार, निर्माण व्यवसायीको यो समस्यालाई समाधान गर्न सरकारले हालै मात्र सार्वजनिक खरिद ऐन २०६३ लाई संशोधन गर्न विधेयकको प्रारम्भिक मस्यौदा तयार पारेको बुझिइएको छ । केही दिनमा नै उक्त विधेयक स्वीकृतिका लागि प्रक्रिया अघि बढाइनेछ ।

नेपाल निर्माण उद्योग परिषद्ले गत चैत २८ मा एक विज्ञप्ति जारी गर्दै इन्धनमा भइरहेको मूल्य वृद्धिको असर निर्माण क्षेत्रमा परेकाले तत्काल निर्माण क्षेत्रमा आपतकाल घोषणा गर्न माग गरेको छ । परिषद्का अध्यक्ष बलि भद्र रानाद्वारा  जारी विज्ञप्तिमा कानुनी व्यवस्थाबाट मूल्य समायोजन हुन नसक्ने भन्दै मूल्य समायोजन मार्ग निर्देशिका २ जारी गर्न माग गरिएको छ ।

त्यस्तै, निर्माण व्यवसायी महासंघ, लुम्बिनी प्रदेश र सिन्धुली निर्माण व्यवसायी संघलगायतका निकायले पनि इन्धनको संकट र चर्को मूल्य वृद्धिका कारण विकास निर्माणका आयोजनाहरु ठप्प हुन पुगेकाले निर्माण क्षेत्रमा आपतकाल घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

 

 




एकपछि अर्काे राजीनामा, गोल्छा र अग्रवाल पछि नेपाल पुनर्बीमाका पौडेलले दिए राजीनामा

Apr 07, 2026 03:12 PM

विवादास्पद व्यवसायी दीपक भट्टलाई हिरासतमा लिएर सम्पत्ति शुद्धीकरण मुद्दामा कारवाही चलाएपछि उनीसँग जोडिएका धेरै कम्पनीका सञ्चालकहरुले राजीनामा दिएका छन् ।