कास्की प्रहरीको अपराध अनुसन्धान शाखामा खटिएका उनले विभिन्न सहकारी ठगी सम्बन्धी कसुर, सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतका कसुरको अनुसन्धानमा उत्कृष्ट काम गरेको भन्दै केही महिना अघि उनी सम्मानित भएका थिए ।
तर, उनै थापा शनिबार साँझ घुससहित पक्राउ परे। लागू औषध सम्बन्धी मुद्दा मिलाइदिन्छु भन्दै घुस डिल गरेका उनलाई शनिबार सेवाग्राहीले ५० हजार दिए । स्रोतका अनुसार थापाले ३ लाखमा मिलाइ दिने गरि सम्झौता गरेका थिए ।
त्यसो त ‘उत्कृष्ठ कर्मचारी’ भ्रष्टाचारको अभियोगमा पक्राउ वा कारवाहीमा परेको यो नै पहिलो घटना भने होइन । बरु यस्ता घटना पटक पटक दोहोरिइरहेका छन् । यस्ले गर्दा सरकारी निकायले ‘उत्कृष्ठ कर्मचारी’ भन्दै सम्मान गर्ने परिपाटीमाथि नै प्रश्न उठ्न थालेको छ ।
सरकारले हरेक वर्ष भदौ २२ गते निजामति दिवस मनाउँछ । त्यो दिन निजामति क्षेत्रमा कार्यरतहरुमध्ये एक जनालाई सर्वाेत्कृष्ठ निजामति पुरस्कार र अरु केही कर्मचारीहरुलाई उत्कृष्ठ निजामति पुरस्कार प्रदान गर्ने गर्छ । तर, त्यसरी पुरस्कृत हुनेहरु नै धमाधम भ्रष्टाचारको अभियोगमै पक्राउ पर्ने वा अख्तियारले मुद्धा लगाउने क्रम बढिरहेको छ ।
केही दिन अघि काठमाण्डौ उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्धा दायर गरेको छ । तिवारीको २५ करोड ६ लाख २२७ रुपैंया सम्पत्ति देखिएकोमा १४ करोड ५१ लाख ९१ हजार ३ सय २५ रुपैंया मात्र वैध रहेको र अरु भ्रष्टाचारबाट कमाएको भन्दै आयोगले मुद्धा दायर गरेको हो ।
तिवारीले निजामति क्षेत्रमै उत्कृष्ठ काम गरेको भन्दै सरकारले ३ वर्ष अघि २०६७९ मा २ लाख पुरस्कारसहित ‘सर्वाेत्कृष्ठ निजामति कर्मचारी पुरस्कार’ बाट सम्मान गरेको थियो । उनै तिवारी अहिले अवकाश पाए लगत्तै करोडौं भ्रष्टाचारको अभियोगमा अख्तियारको फन्दामा परेका छन् ।
यस्तै जिल्ला मालपोत कार्यालय ताप्लेजुङकी अधिकृत लेखा महत पनेरु उत्कृष्ठ कर्मचारी भन्दै २०७९मा सरकारबाट पुरस्कृत भएको एक महिनामै डेढ लाखरुपैंया घुससहित पक्राउ परेकी थिइन । उनलाई विशेष अदालतले एक लाख ५० हजार विगो र त्यति नै रकम जरिवानासहित ६ महिना कैद सजाय तोकेको थियो ।
२०६८ सालको सर्वाेत्कृष्ठ निजामति पुरस्कार पाएका सूर्य गौतम पनि केही समयमै भ्रष्टाचारको अभियोगमा मुछिए । उनी आफ्नी श्रीमती इन्दिरा ढकालको लोकसेवाको परिक्षाको कापी आफै चेक गरेर उत्कृष्ठ नम्बर दिएको भन्दै नसिहत पाए ।
राष्ट्रसेवकको दर्जामा रहेका निजामती कर्मचारीहरुमा भ्रष्टाचार गरी अकूत सम्पति आर्जन गर्न खोज्ने प्रवृत्ति बढेको छ । सुशासन दिने, देश र जनताको काम इमान्दारीतापूर्वक गर्ने शपथ खाएका राष्ट्रसेवकहरु धमाधम भ्रष्टाचार काण्डमा मुछिने क्रम बढेको हो ।
अख्तियारले चालु आर्थिक वर्षको मुद्धाको विवरण सार्वजनिक गरेको छैन । तर, अख्तियारका अधिकारीहरु करिब ४ सयको हाराहारीमा निजामति कर्मचारी विरुद्ध भ्रष्टाचारको मुद्धा दायर भएको बताउछन् ।
अख्तियारले आर्थिक वर्ष २०८०÷८१ मा मात्रै विभिन्न दर्जा र सेवा समुहका गरी ५ सय २० जना कर्मचारीहरुलाई भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यसैगरी आर्थिक वर्ष २०७९÷८० मा ३५६ जना कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो भने आर्थिक वर्ष २०७८÷७९ मा ३१० जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
निजामति कर्मचारीले सरकारी सेवामा प्रवेश गर्दा देश र जनताको इमान्दारीतापुर्वक सेवा गर्ने कसम समेत खाने गरेका छन् तर त्यो फगत औपचारिकतामा सिमित हुने गरेको छ ।
निजामती सेवा ऐनको परिच्छेद ७ मा कर्मचारीको आचरण सम्वन्धमा महत्वपुर्ण व्यवस्था गरिएको छ । आचरण ७ का विभिन्न दफामा कर्मचारीलाई अनुशासित,इमान्दार,कर्तव्यनिष्ट तथा सुशासनप्रेमी बनाउने गरि व्यवस्था गरिएको छ । ऐनको परिच्छेद ७ को दफा ४७ मा कामको सिलसिलामा कुनै पनि कर्मचारीलाई दान, उपहार , चन्दा आदि प्राप्त गर्न र कुनै पनि सापटी लिन प्रतिवन्ध लगाइएको छ । सो दफामा त्यस खालका कुनै पनि गलत सुविधा नलिन कर्मचारीलाई भनिएको छ ।
यसैगरी दफा ४२ मा निजामती कर्मचारीले अनुशासनमा रही आफ्नो कर्तव्य इमान्दारीता र तत्परताका साथ पालना गर्नुपर्ने व्यवस्था गरिएको छ ।तर यस्ता अधिकांश प्रावधानलाई कर्मचारीले वेवास्ता गर्ने गरेको पाइन्छ ।