५२९ किमी रेन्ज र १८० किलोवाट मोटरलगायतका फिचरसहित एमजीको एस ६ ईभी नेपाल भित्रिँदै

Apr 27, 2026 02:47 PM Merolagani



एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी एमजी एस ६ सार्वजनिक गर्ने भएको छ ।

पारामाउन्ट मोटर्सले आगामी एक महिनाभित्रै नेपाली बजारमा यो नयाँ मोडल सार्वजनिक गर्ने बताएको छ । नेपालभर रहेका एमजीका सबै १४ शोरुममार्फत नयाँ ईभीको बुकिङदेखि बिक्री समेत प्रारम्भ हुने कम्पनीको भनाइ छ ।

गत वर्षदेखि बजारमा उपलब्ध एमजी एस ५ को सफलतापछि कम्पनीले त्यो भन्दा ठूलो साइज, बढी पावर र आधुनिक प्रविधिसहितको नयाँ ईभी ल्याउन लागेको हो । बजारमा उपलब्ध विभिन्न ईभीका सफल मोडेलमा एमजीले छुट्टै प्रभाव पार्दछ । अझ यो नयाँ ईभीमा भएको प्रविधि, डिजाइन र उत्कृष्ट रेन्जका कारण नेपाली ग्राहकका लागि एक आकर्षक विकल्प बन्न सक्ने अनुमान गरिएको छ ।

विशेषगरी प्रिमियम फिचर र लामो दूरीको यात्रा तय गर्न चाहने ग्राहकलाई लक्षित गरी यो गाडी बजारमा ल्याउने तयारी भएको एमजीका मार्केटिङ प्रमुख सन्दीप शर्माले जानकारी दिए । पारिवारिक आवश्यकता र आधुनिक प्रविधिलाई प्राथमिकता दिएर डिजाइन गरिएको यो एसयूभीले नेपाली बजारमा निकै प्रतिस्पर्धात्मक बन्दै गएको इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा बलियो उपस्थिति जनाउने अपेक्षा गरिएको छ ।

एमजी एस ६ मा १८० किलोवाटको मोटर र ७७ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । जसले १४४ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । यसमा रहेको रियर ह्विल ड्राइभले २४४ हर्सपावर र ३५० एनएम टर्क उत्पन्न गर्छ । यसले एक पटकको फुल चार्जमा करिब ५२९ किलोमिटरको रेन्ज प्रदान गर्छ।

‘यो ईभीको भित्री फिचरलाई निकै आरामदायी बनाइएको छ । यसमा अगाडिको सिटहरूमा हिटेड र भेन्टिलेटेड दुवै सुविधा उपलब्ध छ भने पछाडिको सिटमा समेत हिटेड सुविधा दिइएको छ,’ शर्माले भने । अघिल्ला मोडेलहरूको तुलनामा यो गाडीमा धेरै प्राविधिक सुधारहरू भएका छन् ।

आकर्षक डिजाइनका साथ एमजी एस६ ईभीका मुख्य विशेषताहरू

उक्त ईभी एमजीको मोड्युलर स्केलेबल प्लेटफर्ममा आधारित छ । जसमा चर्चित एमजी ४ ईभी पनि निर्माण गरिएको छ । कम्पनीका अनुसार यसको डिजाइन निकै आक्रामक देखिन्छ, जसमा एमजीको साइबरस्टर रोडस्टरबाट प्रेरित एंगुलर हेडल्याम्प र आकर्षक फेसिया प्रयोग गरिएको छ । गाडीको पछाडिको भागमा पूर्ण चौडाइको एलईडी लाइट बार दिइएको छ ।

यो गाडीको इन्टेरियरमा प्रविधि र सुविधाको उत्कृष्ट मिश्रण रहेको कम्पनीको दाबी छ । यसमा १२.८ इन्चको इन्फोटेनमेन्ट स्क्रिन र १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले जडान गरिएको छ । आधुनिक टच इन्टरफेसका बीचमा पनि मुख्य कार्यहरूका लागि फिजिकल कन्ट्रोलहरू कायमै राखिएको छ, जसले ड्राइभिङका क्रममा सहजता प्रदान गर्ने बताइएको छ ।

कम्पनीका अनुसार व्यवहारिकताको हिसाबले यसमा ६७४ लिटरको बुट स्पेस छ । जसलाई पछाडिका सिटहरू फोल्ड गरेर १,९१० लिटरसम्म बढाउन सकिन्छ । साथै, चार्जिङ केबल वा साना सामान राख्नका लागि अगाडि १२४ लिटरको फ्रन्ट ट्रंक पनि दिइएको छ । सुरक्षाका दृष्टिकोणले एमजीको यस गाडीले फाइभ स्टार यूरो एनक्याप रेटिङ प्राप्त गरेको छ ।

यस बाहेकका सुविधाहरूमा यो ईभीमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट रहेको छ । ११ स्पिकर अडियो सिस्टम र प्यानोरामिक सनरुफ छन् । साथै, युट्युब जस्ता इन-बिल्ट स्ट्रिमिङ एपहरू र वायरलेस चार्जिङ सुविधा छन् ।

नेपालमा एमजी एस६ को आगमन पश्चात पहिले नै बजारमा रहेका बीवाईडी सिलायन ७, दिपल एस ०७ र लिपमोटर सी१० जस्ता गाडीहरूसँग कडा प्रतिस्पर्धा गर्नेछ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।