तथ्याङ्क कार्यालयले मंगलबार सार्वजनिक गरेको ‘राष्ट्रिय लेखा तथ्याङ्क’ अनुसार गत वर्षको तुलनामा वृद्धिदरमा केही संकुचन देखिए पनि अर्थतन्त्रका केही मुख्य क्षेत्रहरूमा भने सकारात्मक संकेत देखिएका छन्। पश्चिम एसियामा जारी युद्ध चाँडै अन्त्य हुने र त्यसका कारण भएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि नहुने तथा चालु आवभित्र सम्पन्न हुने अनुमान गरिएका आयोजना चाँडै सकिने अनुमानका आधारमा यो प्रक्षेपण गरेको हो ।
विद्युत क्षेत्रमा २०.९३ प्रतिशतको वृद्धि
यस वर्षको आर्थिक वृद्धिलाई मुख्य गरी जलविद्युत क्षेत्रले डोहो-याएको देखिन्छ। नयाँ आयोजनाहरू राष्ट्रिय प्रसारण लाइनमा जोडिनु र विद्युतको आन्तरिक खपत तथा निर्यात बढ्नुले विद्युत तथा ग्यास क्षेत्रमा २०.९३ प्रतिशतको लोभलाग्दो वृद्धिदर हासिल हुने देखिएको छ। यो समग्र २१ वटा औद्योगिक वर्गीकरणमध्येकै सबैभन्दा उच्च वृद्धि हो।
त्यसैगरी वित्तीय तथा बीमा क्षेत्रले ९.१६ प्रतिशत र यातायात तथा भण्डारण क्षेत्रले ५.७९ प्रतिशतको वृद्धि हासिल गर्दै आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुर्याएका छन्।
धान उत्पादन घट्दा कृषिमा धक्का
लक्ष्य अनुसारको उच्च आर्थिक वृद्धि हासिल हुन नसक्नुमा कृषि क्षेत्रको कमजोर प्रदर्शन मुख्य जिम्मेवार देखिएको छ। कुल गार्हस्थ्य उत्पादनमा झण्डै एक चौथाइ हिस्सा ओगट्ने कृषि क्षेत्रको वृद्धिदर यस वर्ष मात्र १.५८ प्रतिशतमा सीमित हुने अनुमान छ। विशेषगरी मुलुकको मुख्य बाली धानको उत्पादन ४.१६ प्रतिशतले घट्नु र अन्य हिउँदे बालीको उत्पादनमा न्युन वृद्धि हुनुले समग्र आर्थिक वृद्धिदरलाई प्रभावित पारेको कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले जानकारी दिए।
अर्थतन्त्रको आकार ६६ खर्ब, खर्चयोग्य आय बढ्यो
वृद्धिदरमा केही सुस्तता देखिए पनि नेपालको अर्थतन्त्रको आकार भने ६६ खर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान छ। प्रतिव्यक्ति आयको हकमा, डलरको विनिमय दरमा भएको वृद्धिका कारण प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १,५१३ डलरमा सीमित भए तापनि नेपालीको खर्चयोग्य आय भने बढेर २,०४४ डलर पुगेको छ।
उद्योग र निर्माणमा ‘यू–टर्न’
विगतका वर्षहरूमा ऋणात्मक वृद्धि खेपेका उद्योग र निर्माण क्षेत्रमा यस वर्ष सुधार देखिएको छ। सिमेन्ट र फलामे डन्डी जस्ता निर्माण सामग्रीको उत्पादन बढ्नु र निजी क्षेत्रको मागमा सुधार आउनुले उद्योग क्षेत्र २.८३ प्रतिशत र निर्माण क्षेत्र २.२१ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरिएको छ। सरकारी पूँजीगत खर्चमा अपेक्षित तीव्रता नहुँदा निर्माण क्षेत्रको वृद्धि भने अझै उत्साहजनक हुन सकेको छैन।
तथ्याङ्क कार्यालयका अनुसार यस वर्षको कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान ६१.८ प्रतिशत रहनेछ, जसले नेपालको अर्थतन्त्र क्रमशः सेवामुखी बन्दै गएको पुष्टि गर्दछ।