संस्थाले भोलि अप्रिल २९ (बुधवार) दिउँसो २ बजेदेखि साढे ४ बजेसम्म 'नेपालमा बालेनको नेतृत्वलाई विश्वले कसरी हेर्छ ?' शीर्षकमा अन्तर्राष्ट्रिय वेबिनार आयोजना गर्न लागेको हो ।उक्त वेबिनारमा नेपालसहित २५ देशका २६ जना कूटनीतिज्ञ, नीति निर्माता तथा विद्वानहरूको सहभागिता रहने संस्थाले जनाएको छ । फागुनको निर्वाचनपछि झण्डै दुई तिहाइ बहुमतसहित गठन भएको बालेन शाह नेतृत्वको सरकार र यसमा देखिएको ‘जेनेरेशन–जेड’ को प्रभावबारे अन्तर्राष्ट्रिय दृष्टिकोण प्रस्तुत गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।
वेबिनारमा भारतका पूर्व राजदूत पंकज सरन र मन्जीव सिंह पुरी, चीनको फुडान विश्वविद्यालयका डा चाङ चियाडोङ, अमेरिकाको प्यासिफिक फोरमका रोब योर्क, संयुक्त राष्ट्रसंघकी पूर्व शान्ति सल्लाहकार सिन्थिया पेट्रिघ र युरोपेली संघकी पूर्व उपप्रमुख जोएल हिभोनेटले मुख्य वक्ताका रूपमा धारणा राख्नेछन् ।
हाल स्थापनाको १०औँ वर्ष मनाइरहेको एनआईआईसीई नेपालमा आणविक अप्रसारका क्षेत्रमा कार्य गर्ने एक मात्र थिंक–ट्याङ्क हो । संस्थाले यसअघि ग्लोबल कन्क्लेभ र इन्डो–प्यासिफिक फ्युचर फोरम जस्ता महत्वपूर्ण अन्तर्राष्ट्रिय कार्यक्रमहरू समेत सम्पन्न गरिसकेको छ ।