बोर्डको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागले बुधवार एक सूचना जारी गर्दै बजारको व्यवस्थित र प्रभावकारी विकास तथा विस्तारका लागि रचनात्मक र कार्यान्वयनयोग्य सुझाव पठाउन अनुरोध गरेको हो। बोर्डले हरेक वर्ष पूँजी बजार (धितोपत्र बजार) र वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गरी सार्वजनिक गर्दै आएको छ। सोही अभ्यासलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रमको तयारी अगाडि बढाएको बोर्डले जनाएको छ।
सूचना अनुसार, बजारको विकास, विस्तार र सुधारका पक्षमा सरोकारवाला, लगानीकर्ता तथा आम नागरिकले आफ्ना सुझावहरू दिन सक्नेछन्। इच्छुक व्यक्ति वा संस्थाले आगामी २०८३ जेठ १५ गतेभित्र बोर्डको आधिकारिक इमेल ठेगाना research@sebon.gov.np मा आफ्ना राय तथा सुझावहरू उपलब्ध गराउनुपर्नेछ। प्राप्त सुझावहरूको अध्ययन गरी बोर्डले आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गर्नेछ।