साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक सामान्य ८.७८ अंकले बढेर २७१२.८६ विन्दुमा बन्द भएको छ। यद्यपि, बजारको अवस्थालाई हेर्दा नेप्से २७ सयको मनोवैज्ञानिक विन्दु कायम राख्न संघर्षरत भएको देखिन्छ। मंगलबारको कारोबार अवधिमा परिसूचक २७ सयभन्दा तल झरेर पुनः फर्किएको हो।
यस दिन बजार सामान्य अंकले बढेतापनि कारोबार रकमले साथ दिएको छैन। मंगलबार पछिल्लो ५ महिना यताकै न्यून रकम बराबरको शेयर खरिदबिक्री भएको छ । यसअघि गत फागुन २५ गते बजार हल्ट हुँदा र गत पुस ९ गते करिब ३ अर्ब मात्रै कारोबार भएको थियो। त्यसपछि मंगलबारको बजारमा तीन अर्बको हाराहारीमा मात्रै कारोबार भएको हो। बजारमा सूचकमा गिरावट आउदा पनि कम्पनीमा लगानीकर्ताको चहलपहल हुने गरेको थियो । तर पछिल्ला कारोबार दिनमा कम्पनीहरुपनि सुस्त अवस्थामा रहेको देखिन्छ । अहिले बजारमा ठूलो पूँजी भित्रिन रोकिदा कारोबार रकम लगातार घटेको लगानीकर्ताहरूको बुझाइ छ।
पछिल्लो समय व्यवसायीहरू माथि बढ्दो धरपकड र अनुसन्धानले लगानीकर्तामा मनोवैज्ञानिक त्रास पैदा भएको लगानीकर्ता प्रतिक रेग्मीले बताए। विभिन्न क्षेत्रका व्यापारीमाथि अनुसन्धान गरिँदा समग्र व्यावसायिक वातावरणमा त्रास फैलिएको छ। बजारमा ठूलो पैसा ल्याउने लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको रेग्मीको भनाई छ ।
विगतका वर्षहरूमा यो समयलाई शेयर बजारको सिजन मानिने भएतापनि यस पटक बजारमा लगानीकर्ताहरुको चहलपहल सुस्ताएको छ। यस्तो हुनुमा ब्रोकर कम्पनीहरूबाट लिमिटमा गरिएको कडाइ कारण पनि भएको हुन सक्ने अनुमान रेग्मीले गरेका छन्। व्यवसायीहरू धरपकड र अनुसन्धानको घेरामा पर्नु र ब्रोकरले लिमिटमा कडाई गरेकै कारण पनि बजारमा ठूलो कित्ता शेयरको माग भएको छैन। त्यसको प्रत्यक्ष प्रभाव सूचकलाई परेको उनको बुझाई छ।
बजार घट्नु पर्ने कारण छैन । तर बजार प्रभावित छ भन्नुको मतलव बजारको गिरावटलाई आर्थिक आधारभूत वा प्राविधिक पक्ष भन्दा बढी लगानीकर्ताको मनोवैज्ञानिक र आगामी बजेटको अनिश्चितता रहेको लगानीकर्ता रेग्मीको भनाई छ । ‘अहिले बजारमा आधारभूत पक्षभन्दा भावना र त्रास हाबी छ। सरकारले लगानीमैत्री वातावरणको स्पष्ट संकेत दिन नसकेसम्म विश्वास फर्किन कठिन छ', रेग्मीले मेरोलगानीसँग भने ।
व्यवसायीहरू माथि भएको सरकारको अनुसन्धान र नीतिगत अस्पष्टताले बजार प्रभावित भएको नेपाल स्टक एक्सचेञ्जका पूर्वप्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए। तर यसको प्रभाव बजारमा धेरै समय टिक्दैन। ‘अहिले लगानीकर्ताहरु त्रासमा भन्दा सूचक घट्दा सस्तोमा शेयर किन्ने दाउमा रहेका छन्। अहिलेको अवस्थामा सक्रिय निर्णय लिनुभन्दा पर्ख र हेरको रणनीतिमा धेरै लगानीकर्ताहरू बसेका छन,’ साउदले भने।
सरकारले सुशासनका लागि अध्यादेश जारी गर्दै गति बढाएको छ । तर शेयर बजारमा त्यसको सकारात्मक प्रभाव देखिनुको साटो उल्टै लगानीकर्ता निरुत्साहित भएका छन्। सरकारको प्राथामिकतामा बजारमा नपरेकाे आशंका लगानीकर्ताले गरेका छन्। यद्यपि हालै मात्र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्थिति पत्र जारी गरेका छन्। त्यसमा पुँजी बजारको दायरा विस्तार गर्न, उत्पादनमूलक कम्पनी र गैरआवासीय नेपालीको लगानी भित्र्याउन तथा कानुनी सुधार गर्न कुरालाई जोड दिएको पाईन्छ। तर, सरकारको यो आश्वासनले लगानीकर्ताहरूलाई पूर्ण रूपमा आश्वस्त पार्न सकेको छैन। यतिबेला सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रकृयामा छ । तर सरकारले कस्ता नीतिलाई प्राथमिकता दिने हो भन्ने कुरामा अन्याेल हुँदा लगानीकर्ताहरू लगानी गर्न हिचकिचाइ रहेको देखिन्छ।