गत साता करिब ७ अंक बढेको नेप्से, यस साता के होला?

May 11, 2026 06:15 AM Merolagani



गत साता नेप्से परिसूचक करिब ७ अंक बढेर बन्द भएको थियो। अघिल्लो साता २७३८.७२ विन्दुमा बन्द भएको नेप्से, गत साता ०.२५ प्रतिशत अर्थात ६.९३ अंक बढेर २७४५.६५ विन्दुमा बन्द भएको हो।

सो साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से घटेको थियो भने तीन कारोबार दिन बढेर बन्द भएको थियो।

टेवा क्षेत्रबाट उक्लियो

गत साता नेप्से परिसूचक टेवा क्षेत्रबाट उक्लिएको छ। अघिल्लो साता टेवा क्षेत्र नजिक बन्द भएको नेप्से, गत साता इन्ट्रा डेमा सो क्षेत्रमा झरेर उक्लिएको हो। हाल नेप्सेको टेवा क्षेत्र २६४५ देखि २६९० सम्म रहेको छ। आगामी दिनमा नेप्से उकालो लागेमा २८०० देखि २८६० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

‘भि सेप रिकभरी’ को सुरुवात

गत साताको वृद्धिले, नेप्सेले ‘भि सेप रिकभरी’ को सुरुवात गरेको जस्तो देखिन्छ। यद्यपि, यसको सुनिश्चितता भने आजको कारोबारले दिनेछ। यदि आज पनि बजारले गत साताकै गतिलाई निरन्तरता दिँदै उकालो लागेमा बजारमा लगानीकर्ताहरुको प्रवेश हुन सक्छ। बजार सपोर्ट जोनबाट फर्किएकोले अहिले शेयर बिक्री गर्नुभन्दा ‘होल्ड’ गर्नु उपयुक्त देखिन्छ।

कमजोर भोल्यूम

गत साता नेप्सेको भोल्यूम भने कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ३ अर्ब ४२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ६ अर्ब १२ करोड रुपैयाँ रहेको छ। बजार बढ्दा भोल्यूम नबढ्नुले लगानीकर्ताहरु अझै पनि केही हदसम्म ‘पर्ख र हेर’ को अवस्थामा रहेको संकेत गर्दछ।

बियरिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा र सिग्नल रेखा दुबै शून्य रेखाभन्दा तल रहेको छ। यसले गत साता बजार बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन एमएसिडी रेखा र सिग्नल रेखाबीचको दूरी केही साँघुरिएको छ। साथै हिस्टोग्राममा उचाई पनि नकारात्मक क्षेत्रमा घट्दो क्रममा रहेको छ। यही क्रमले निरन्तरता पाएमा आगामी दिनमा बुलिश क्रशओभर बन्नेछ, जसले बजार बढ्ने संकेत गर्दछ।

ओभरसोल्ड जोन

गत साता नेप्सेको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोनमा रहेको छ। जब यो आरएसआई ओभरसोल्ड जोनमा पुग्छ, तब बजारमा एक ‘बाउन्स ब्याक’ आउने सम्भावना बढी हुन्छ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)