राष्ट्रपतिमार्फत सार्वजनिक गरिएको सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटमा पूँजी बजारलाई विशेष प्राथमिकता दिने दाबी गर्दै उनले विगतमा केही सीमित व्यक्तिहरूको कब्जामा रहेको बजारलाई अब पद्धति र प्रणालीमा ढाल्ने प्रतिवद्धता जनाए। तर,अर्थमन्त्रीको यो 'गुलियो' भाषण र आश्वासनलाई नेपालको एक मात्र शेयर बजार नेप्सेले भने कडा चुनौती दिएको छ। तथ्याङ्कले भन्छ– बजारले अर्थमन्त्री वाग्लेले दिन खाेजेकाे सन्देशलाई 'रिजेक्ट' (अस्वीकार) गरिरहेकाे छ।

अर्थमन्त्री गत चैत १३ गते (मार्च २७) मा नियुक्त भएका हुन्। उनी नियुक्ति हुँदाका बखत लगानीकर्तामा केही आशा पलाए पनि व्यवहारमा नेप्से सूचकले त्यसको विपरीत बाटो समातेको छ। चार्टको विश्लेषण गर्दा, मार्च २७ को आसपासमा बजारले एक पटक 'हाई' बिन्दु २९६९.५० सम्मको यात्रा तय गरेको थियो। चार्ट अनुसार, आज मे २१ (जेठ ८) सम्म आइपुग्दा नेप्से सूचक २७४४.४० को बिन्दुमा ओर्लिएको छ। पछिल्लो एकै दिनमा मात्र बजार ३९.४५ अंक (१.४२ प्रतिशत) ले घटेको छ। मार्चको उच्च बिन्दु २९६९.५० बाट घटेर २७४४.४० मा आउनु भनेको करिब २२५ अंकभन्दा बढीको गिरावट हो। अर्थमन्त्रीले पूँजी बजारको सुधारका कुरा गरिरहँदा सूचक यसरी लगातार घट्नुले लगानीकर्ताहरूकाे मनाेबिज्ञान किन बिचलित भएकाे छ भन्ने कुरा सरकारले बुझ्न जरूरी छ ।
सन्देश एकातिर, सूचक अर्कैतिर
अर्थ समितिमा बोल्दै अर्थमन्त्रीले पूँजी बजारमा हुने 'मार्केट म्यानिपुलेसन' (बजार चलखेल) र 'इन्साइडर ट्रेडिङ' अन्त्य गर्ने कुरा गरे। उनले १५–१६ अर्ब रुपैयाँको जनताको पैसा अपचलन गरेर केही व्यक्तिले राजनीतिलाई समेत गोजीमा राखेको गम्भीर आरोप लगाए। 'जेनजी' आन्दोलनका कारण बजार ठूलो दुर्घटनाबाट बचेको तर्क गर्दै उन्ले अब 'सुशासन' पहिलो प्राथमिकता हुने बताए। मन्त्रीको तर्क छ– "पहिलो वर्ष सुशासनको जग बसालौँ, त्यसपछि विकास र अन्य प्रणाली स्वतः अगाडि बढ्छन्।" तर, लगानीकर्ताहरू भने मन्त्रीको यो 'सुशासन' को परिभाषाबाट त्रसित देखिन्छन्। सरकारले अख्तियर गरेको बाटो, नीति र नीतिगत अस्पष्टता कायम रहँदासम्म मन्त्रीका भाषणले मात्र बजार बढ्दैन भन्ने प्रमाणित भइसकेको छ।
के लगानीकर्ताले पत्याउलान् ?
शेयर बजार मनोविज्ञानमा चल्ने क्षेत्र हो। जबसम्म बोली र काममा एकरुपता देखिँदैन, तबसम्म लगानीकर्ताको मनोबल उच्च हुन सक्दैन। चार्टमा देखिएको 'रेड क्यान्डल' (रातो संकेत) हरूले राम्राे संकेत दिएकाे छैन। एकातिर अर्थमन्त्री बजारलाई विश्वस्तरीय बनाउने सपना बाँड्दै छ्न, अर्कोतिर लगानीकर्ताहरू प्रश्न गरिरहेका छन्– यदि सरकार साँच्चै पूँजी बजारप्रति उदार छ भने, मन्त्रीले भनेजस्तो 'सुशासन' को नाममा साना लगानीकर्तालाई मात्र अप्ठ्यारोमा पार्ने काम त भइरहेको छैन?
निष्कर्ष
अर्थमन्त्रीले अर्थ समितिमा दिएको अभिव्यक्ति सुन्दा निकै आशालाग्दो सुनिए पनि बजारको वास्तविक चित्र (नेप्से चार्ट) भर लाग्दाे छैन। मार्च २७ यताको २२५ अंकभन्दा बढीको गिरावट कुनै सामान्य अंक मात्र होइन । अब आउने बजेटले यदि यी चार्टका 'राता' रेखाहरूलाई 'हरियो' मा बदल्ने ठोस योजना ल्याउन सकेन भने, अर्थमन्त्रीको 'विश्वस्तरीय' शेयर बजारकाे कल्पना केवल राजनीतिक बक्तव्यमा मात्र सीमित हुने निश्चित छ।