नेपालमा प्लाइउड उद्योगः ओझेलमा परेको अर्थतन्त्रको महत्त्वपूर्ण पाटो

May 14, 2026 10:47 AM mero lagani



झटट्ट हेर्दा ओझेलमा परेको तर लगानी, रोजगारीलगायतका आर्थिक कृयाकलापको हिसाबले निकै महत्वपूर्ण उद्योग हो—प्लाइउड उद्योग ।

झण्डै २० अर्बकाे लगानी, ५० हजारभन्दा धेरैलाई रोजगारी र वार्षिक अर्बाैको कारोबार, यही तथ्याँकले नै नेपालमा प्लाइउड उद्योगको अवस्था कति बलियो छ भन्ने पुष्टि गर्छ ।

नेपालमा मात्र होइन, विश्वव्यापीरुपमै पछिल्लो समय निकै फस्टाएको उद्योगहरुमा प्लाइउड उद्योग पर्दछ । प्लाइउड काठबाट बनाइएको पाता हो, जुन पातला पानाहरू जोडेर बनाइएको हुन्छ । प्लाइउडलाई इन्जिनियर्ड वुड अर्थात् प्रशोधित काठजन्य सामाग्रीको सबैभन्दा लोकप्रिय उत्पादन मानिन्छ।

प्लाइउड पातला काठका तहहरूलाई विपरीत दिशामा राखेर रसायन प्रयोग गरी दबाब र तापद्वारा तयार गरिने बोर्ड हो । यसरी तहगत संरचना बनाइएकाले यो सामान्य काठभन्दा बलियो, कम चर्किने, कम बाङ्गिने, हलुका, टिकाउ हुने भएकोले प्लाइउडको माग विश्वव्यापीरुपमा बढिरहेको जानकारहरु बताउँछन् ।

विश्वमा प्लाइउड उद्योग अहिले निर्माण, फर्निचर, इन्टेरियर डिजाइन, प्याकेजिङ र पूर्वनिर्मित भवन (prefabricated buildings) सँग प्रत्यक्ष जोडिएको एक ठूलो उद्योगका रूपमा विकसित भएको छ । grandviewresearch.com  काअनुसार सन् २०२५ मा विश्वभर करिब ८० अर्ब अमेरिकी डलरको प्लाइउडको कारोबार भएको थियो । आगामी वर्षहरुमा यो अझ तीब्ररुपमा बढ्ने अनुमान गरिएको छ ।

प्लाइउड अहिले विभिन्न औद्योगिक र घरेलु उत्पादनहरुमा व्यापकरुपमा प्रयाेग गर्न थालिएको छ । पूर्वनिर्मित घरको लोकप्रियताले प्लाइउडको माग बढाएको छ भने आवास तथा कलकारखाना निर्माणको घरमा भवनको भित्तामा, छानामा, फर्मवर्क, फ्लोरिङ र ढोकामा प्लाइउडको व्यापक प्रयोग गरिन्छ । त्यस्तै फर्निचर उद्योगहरुले टेबल, बेड, किचन क्याबिनेट, अफिस फर्निचर, modular furniture, सजावट (इन्टेरियर डिजाइन)को साथै प्याकेजिङ र यातायातको क्षेत्रमा पनि प्लाइउडको व्यापक प्रयोग गरिन्छ ।

चीन, भारत, इण्डोनेसिया, भियतनाम, रुस प्लाइउडका सबैभन्दा ठूला उत्पादक र खपतकर्ता हुन् । यी देशका प्लाइउड विश्वभर पुग्ने गरेका छन् ।

२२९ सय वर्ष अगाडि नै  प्याटेण्ट

इतिहासकारहरूका अनुसार veneer अर्थात् पातलो काठ तह प्रयोग गर्ने अभ्यास प्राचीन मिश्र (इजिप्ट) मा करिब ३,००० वर्षअघि नै सुरु भएको थियो।

त्यसबेला दुर्लभ काठ बचत गर्न, सजावटी सतह बनाउन र महँगा काठको प्रभाव दिन पातला काठका तह टाँस्ने प्रविधि प्रयोग हुने गरेको इतिहासकारहरुले उल्लेख गरेका छन् । त्यसलाई विश्वमा प्लाइउड प्रयोगको प्रारम्भिक चरण मानिन्छ । तर, त्यतिबेला उद्योगको रुप भने लिइसकेको थिएन । मानिसहरुले घरेलु हतियार प्रयोग गरेर नै प्लाइउडको आकार दिने गर्दथे ।

आधुनिक प्लाइउडको जन्म भने औद्योगिक क्रान्तीपछि १८ औं शताब्दीमा भयो र त्यसले १९ औं शताब्दीमा व्यापकता पायो । इङ्ग्ल्यान्डका सामुयल बेन्थमले veneer layering ले सम्बन्धी आजभन्दा २२९ वर्ष अगाडि नै सन् १७९७ मै पेटेन्ट लिएका थिए । त्यहीकारण उनलाई आधुनिक  अवधारणाका जन्मदाता मानिन्छ ।

१९०५ मा अमेरिकाको पोर्टल्याण्डमा विश्वमै पहिलो पटक प्लाइउड फेयर अर्थात मेसिनबाट उत्पादन गरिएका प्लाइउडहरुको प्रदर्शन गरिएको थियो । त्यही प्रदर्शनीपछि विश्वमा प्लाइउड बजार आधुनिक युगमा प्रवेश गरेको र सर्वसाधारणको आकर्षण बढेको थियो । पहिलो र दोस्रो विश्वयुद्धमा हात हतियारको भण्डारणदेखि खाद्यान्न भण्डारण र सैनिकहरुको आवास व्यवस्थापनमा समेत प्लाइउडलाई प्रयोग गरिएको थियो । दोस्रो विश्वयुद्धमा ब्रिटिश de Havilland Mosquito विमानलाई wooden wonder भनिन्थ्यो, किनकि त्यसमा अध्यधिक मात्रामा प्लाइउडका संरचना प्रयोग गरिएको थियो । दोस्रो विश्वयुद्धपछि आवास निर्माणमा समेत प्लाइउडको प्रयोग गर्न थालिएपछि यसकाे बजार आक्रामकरुपमा विस्तार हुन थालेको थियो ।

नेपाली कच्चा पदार्थ, अर्बाैंको निर्यात

अन्य देशमा शताब्दीऔं देखि प्लाइउडको प्रयोग भइरहे पनि नेपालमा भने केही दशकदेखि मात्र यसकाे प्रयोग भएको छ । बढ्दो शहरीकरणसँगै पछिल्लो समय भने यो हरेक परिवारको लागि अनिवार्य वस्तु बनिसकेको छ ।

अहिले नेपालमा ८० भन्दा धेरै प्लाइउड कम्पनीहरू छन् । ती कम्पनीहरुमा ५० हजारभन्दा मानिसहरुले रोजगारी पाइरहेको उद्यमीहरु बताउँछन् । वार्षिक अर्बाैंको निकासी हुने गरेको छ । केही वर्ष अगाडिसम्म भारत निर्यातमा विभिन्न समस्या रहे पनि अहिले त्यस्तो समस्या लगभग नरहेको व्यवसायीहरु बताउँछन् ।

भारतले आफ्नो देशमा आयात हुने सामान बिआइएस अर्थात भारत सरकारको गुणस्तर प्रमाणपत्र लिएको हुनुपर्ने नियम लागू गरेको छ । त्यस्तो प्रमाण पत्र नभएको र गुणस्तर नभएको भन्दै भारतले बेला बेलामा नेपाली उत्पादन आफ्नो देशमा प्रवेश गर्न अवरोध गर्ने गरेको छ । तर पछिल्लो एक डेढ वर्ष प्लाइउड निर्यातमा त्यस्तो समस्या नरहेको व्यवसायीहरु बताउँछन् ।

नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेकाअनुसार अधिकांश उद्योगमा नेपाली कच्चापदार्थ नै प्रयोग गरेर प्लाइउड उत्पादन भइरहेको छ । अहिले नेपालबाट प्लाइउड मात्र नभएर प्लाइउड बनाउने कच्चा पदार्थ पनि निर्यात हुने गरेको घिमिरेको भनाइ छ । अर्काेतर्फ भारत, चीनलगायतका देशहरुबाट पनि केहीहदसम्म आउने गरेको छ ।

संघका वरिष्ठ उपाध्यक्ष मनोज चिलंगिया विगतमा केही मात्रामा प्लाइउड विदेशबाट आउने गरे पनि अहिले त्यो लगभग नरहेको र आन्तरिक उत्पादनले धानिरहेको बताउँछन् । प्लाइउडको प्रारम्भिक कच्चा पदार्थ प्लाइउडको लागि प्रारम्भिक कच्चा पदार्थ गोलो पारिएको काठ (गोलिया काठ) हो भने अर्ध तयारी कच्चा पदार्थ भेनियर हो । अध्यक्ष घिमिरेकाअनुसार गोलिया काठबाट निकालिएको १.५ एमएमको सिट (पाता)लाई भेनियर भनिन्छ। यसको प्रशोधनबाट उत्पादन हुने प्लाइउड न्यूनतम ५ एमएमको हुन्छ।


काठ संकलनको झण्झट

प्लाइउड उद्योगले प्रयोग गर्ने गोलिया काठमा उत्तिस, मसला, लहरे पीपल, देवदारु लगायतका रूख हुन्। ती रुखहरु खासगरि मध्य पहाडी क्षेत्रमा पाइन्छन् ।

गोलिया नेपालमा नै प्रशस्त पाइन्छ भने केमिकल र फेस भेनर आयात गर्नुपर्छ । जम्मा लागतमा आयात गर्ने मुख्य दुई वस्तुको योगदान २० देखि २५ प्रतिशत हुन्छ । अर्थात् ७५ देखि ८० प्रतिशत मूल्य अभिवृद्धि हुने व्यवसायीहरूको भनाइ छ।

व्यवसायीहरुका अनुसार प्लाइउड बनाउनको लागि आवश्यक पर्ने काठहरु प्लाइउड उद्योगहरु आफैले संचालन गर्न निकै झण्झट छ । त्यसैले उनीहरु अरु नै काठ व्यवसायीहरुसँग भर पर्न वाध्य छन् । ‘हाम्रोमा वन कानुन कस्तो छ र सरकारी मानसिकता कस्तो छ भन्ने तपाईलाई थाहा छदैँछ । त्यसैले प्रायः सबै उद्योगहरुले फर्निचर व्यवसायीसँग काठ लिन्छन्,’ संघका वरिष्ठ उपाध्यक्ष मनोज चिलंगिया भन्छन् ।

रसायनिक मलको हाहाकारसँग प्लाइउड उद्योगको सम्वन्ध

नेपालमा हरेक वर्ष नै रासायनिक मलको हाहाकार हुने गरेको छ । कृषिकर्मीहरु त्यसरी रसायनिक मल हाहाकार हुनुको एउटा मुख्य कारण प्लाइउड उद्योगीहरु भएको दावी गर्ने गर्छन् । किनकी प्लाइउड उद्योगले रसायनिक मल उल्लेख्यरुपमा प्रयोग गर्ने गर्छन् ।

तर संघका वरिष्ठ उपाध्यक्ष चिलंगिया नेपाली उद्योगहरुले ‘रेजिन’ भारतबाट ल्याउने हुनाले यहाँ रासायनिक मल प्रयोग नगर्ने दावी गर्छन् । ‘नेपालमा रेजिन उद्योग नै छैन्, त्यसैले भारतबाट ल्याउने गरिन्छ । रसायनिक मल प्रयोग हुने रेजिनमा हो । त्यो भारतबाट ल्याउने भएपछि यहाँ प्रयोग हुने त कुरै हुँदैन । त्यसैले प्लाइउड उद्योगले खपत गर्ने भएकोले रसायनिक मलको अभाव हुने गरेको छ भन्ने कुरामा कुनै सत्यता छैन,’ उनी भन्छन् ।

‘रेजिन’ भनेको प्लाइउडका पत्र पत्र टाँस्न प्रयोग गरिने लेदोजन्य वस्तु हो । चिल्लो र टाँसिने बनाउनको लागि रेजिनमा उल्लेख्य मात्रामा रसायनिक मल प्रयोग गरिन्छ । रेजिन नै भारतबाट ल्याइने भएकोले नेपालमा प्लाइउड उद्योगले रासायनिक मल प्रयोग नगर्ने उनको दावी छ ।