अमेरिकाका डेढ दर्जन धनी उद्योगीहरु सहित ट्रम्प चीन भ्रमणमा, चीनले भिसा दिन आनाकानी गरेका दुई उद्योगी पनि भ्रमण टोलीमा

May 13, 2026 05:14 PM mero lagani



संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणको क्रममा १७ जना धनी उद्योगीहरुलाई साथमा लगेका छन् ।

यसबाट उनी चीनसँग ठूला ठूला व्यवसायिक सम्झौता गर्ने प्रयासमा रहेको विश्लेषकहरुले बताएका छन् ।

ट्रम्पको प्रतिनिधिमण्डलमा टेस्ला तथा स्पेसएक्सका एलन मस्क, ब्ल्याकरकका ल्यारी फिङ्क, एपलका टिम कुकको साथै अनि मेटा, भिजा, जेपी मोर्गन, बोइङ, कार्गिलसहित विभिन्न कम्पनीका कार्यकारी प्रमुखहरू रहेका छन्।

ट्रम्प यसअघि आफ्नो पहिलो कार्यकालको समयमा सन् २०१७ मा बेइजिङ गएका थिए । गत वर्ष ट्रम्पले दोस्रो पटक राष्ट्रपतिको पदभार सम्हालेदेखि शुरु गरेको व्यापार युद्धका कारण दुई देशको सम्वन्ध शत्रुतापूर्ण रहदै आएको छ । तर पछिल्लो समय उनी चीनसँग सम्वन्ध सुधारको पक्षमा देखिदैँ आएका छन् । यसैक्रममा ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिन्पिङको भेटलाई महत्त्वपूर्ण मानिएको छ । त्यसमाथि अमेरिकाकै ठूला १७ उद्योगपतिहरुलाई भ्रमणमा गराइएकोले पनि यो भ्रमणलाई चासोको साथ हेरिएको छ ।

मस्क, कुक र फिङ्कबाहेक ट्रम्पको टोलीमा संलग्न कार्यकारी प्रमुखहरूको सूची यस्तो छ :

डिना पावल मकोर्मिक, प्रेजिडन्ट तथा भाइस चेअर, मेटा

केली ओर्ट्बर्ग, प्रेजिडन्ट तथा कार्यकारी प्रमुख, बोइङ

र्‍यान मकिनर्नी, कार्यकारी प्रमुख, भिजा

स्टीभन श्वार्ज्मन, कार्यकारी प्रमुख, ब्ल्याकस्टोन

ब्रायन साइक्स, कार्यकारी प्रमुख तथा अध्यक्ष, कार्गिल

जेन फ्रेजर, कार्यकारी प्रमुख, सिटी

जिम एन्डर्सन, कार्यकारी प्रमुख, कोहरन्ट

हेन्‌री लरेन्ट कल्प, कार्यकारी प्रमुख, जीई एअरोस्पेस

डेभिड सोलोमन, कार्यकारी प्रमुख, गोल्डमन स्याक्स

याकोब टेसेन, कार्यकारी प्रमुख, इल्यूमिना

माइकल मीबाख, अध्यक्ष, मास्टरकार्ड

यो सूचीमा एन्भिडिआका प्रमुख जेन्सन ह्वाङ परेका थिएनन् । उनको कम्पनी अमेरिका र चीनबीच कम्प्युटर चिप्स तथा आर्टिफिशल इन्टेलिजन्स (एआई)को क्षेत्रमा जारी द्वन्द्वको केन्द्रबिन्दुमा छ। तर, चीनको लागि उडेको अमेरिकी राष्ट्रपतिको विमान एअर फोर्स वनमा ह्वाङ पनि देखिएका थिए । यसले गर्दा राष्ट्रपति ट्रम्पको भ्रमणलाई थप कौतुहलतापूर्ण बनाएको छ । चीनले नरुचाहेका र भ्रमणमा सहभागि नगराउन अनुरोध गरेपनि राष्ट्रपति ट्रम्पको विशेष अनुरोधमा अन्तिममा उनलाई भिषा दिन चीन तयार भएको बताइएको छ ।

त्यस्तै माइक्रोन टेक्नोलजीका कार्यकारी प्रमुख सञ्जय मेहरोत्रा पनि ट्रम्पको प्रतिनिधिमण्डलमा गराइनु अर्काे आश्चर्यको विषय बनेको छ । चीनले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै माइक्रोनद्वारा उत्पादित चिप्सको प्रयोगलाई सन् २०२३ मा प्रतिबन्ध लगाएको थियो । त्यहीकारण मेहरोत्रा पनि ट्रम्पको टोलीमा सहभागी हुनुलाई रोचक मानिएको छ।