भारतीय पर्यटकमाथि प्रतिबन्ध लागेको छैन: पर्यटन बोर्ड

May 13, 2026 05:08 PM Merolagani



नेपालमा भारतीय पर्यटकलाई विभिन्न प्रतिबन्ध लगाइएको भन्दै बाहिरिएका समाचारप्रति नेपाल पर्यटन बोर्ड (एनटीबी)ले गम्भीर आपत्ति जनाएको छ। बोर्डले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै भारतीय पर्यटकको नेपाल बसाईंमा ३० दिने सीमा तोकिएको, अनिवार्य परिचयपत्र मागिएको र सवारी साधन जफत गर्ने जस्ता दाबी गरिएका समाचारहरू पूर्णतः निराधार, कपोलकल्पित र भ्रामक रहेको स्पष्ट पारेको हो।

पछिल्लो समय केही सञ्चारमाध्यम र अनलाइन प्लेटफर्ममा नेपाल सरकारले भारतीय पर्यटकका लागि नयाँ र कडा नियम ल्याएको भन्दै अपुष्ट खबरहरू फैलिएपछि बोर्डले यस्तो स्पष्टीकरण दिएको हो। बोर्डका अनुसार नेपाल र भारतबीचको ऐतिहासिक खुला सिमाना, सांस्कृतिक सम्बन्ध र द्विपक्षीय समझदारीमा कुनै पनि परिवर्तन गरिएको छैन। भारतीय पर्यटकको बसाईं अवधि वा आवतजावतमा कुनै नयाँ बन्देज नलगाइएको भन्दै बोर्डले दुई देशबीचको पर्यटन सहकार्य अझै बलियो रहेको उल्लेख गरेको छ।

पर्यटकलाई सास्ती दिने नभई उल्टै प्रक्रिया सहज बनाउन सरकारले नयाँ ’डिजिटल प्रणाली’ सुरु गरेको बोर्डको दाबी छ। अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले भारतीय र अन्य विदेशी निजी सवारी साधनका लागि नयाँ अनलाइन सहजीकरण प्रणाली सुरु गरेको हो। यस व्यवस्थाअनुसार नेपाल प्रवेश गर्ने सवारी साधनले अस्थायी प्रवेश अनुमति र राजस्व भुक्तानीको काम अनलाइनबाटै घरै बसेर वा सिमानामा पुग्नुअघि नै गर्न सक्नेछन्। यो पहल पर्यटकलाई नाकामा हुने ढिलासुस्ती र झन्झटबाट मुक्त गराउनका लागि ल्याइएको बोर्डले जनाएको छ।

पर्यटन बोर्डले सञ्चारमाध्यम, डिजिटल प्लेटफर्म र आम सर्वसाधारणलाई आधिकारिक सरकारी स्रोतबाट पुष्टि नभई यस्ता संवेदनशील विषयमा भ्रम नफैलाउन आग्रह गरेको छ। नेपाल भारतीय पर्यटकका लागि सधैं सुरक्षित र स्वागतयोग्य गन्तव्य रहेको भन्दै बोर्डले आधिकारिक सूचनाका लागि मात्र सरकारी सञ्चार माध्यम वा बोर्डको वेबसाइट पछ्याउन अनुरोध गरेको छ।