भारतपछि अब श्रीलंकामा पनि चल्नेछ नेपाली क्यूआर

May 13, 2026 05:36 PM Merolagani



नेपालको डिजिटल भुक्तानी प्रणालीले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पखेटा विस्तार गर्ने क्रममा अर्को एउटा महत्त्वपूर्ण सफलता हात पारेको छ। छिमेकी मुलुक भारतसँगको सफल ‘क्रसबोर्डर’ क्यूआर पेमेन्ट पछि अब नेपाली पर्यटक तथा व्यवसायीहरूले श्रीलंकामा पनि सहजै क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने भएका छन्।

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र श्रीलंकाको राष्ट्रिय भुक्तानी नेटवर्क ‘लंकापे’बीचको सहकार्यले दक्षिण एसियाली क्षेत्रमा वित्तीय एकीकरणको नयाँ ढोका खोलेको छ।

गत मंगलबार काठमाडौँ र कोलम्बोमा आयोजित एक भर्चुअल कार्यक्रमका बीच यो सेवाको औपचारिक सुरुवात गरिएको हो। यो प्रणाली लागू भएसँगै नेपालबाट श्रीलंका भ्रमणमा जाने पर्यटक, तीर्थयात्री र व्यवसायीहरूले आफूसँग डलर वा नगद बोक्ने झन्झटबाट मुक्ति पाउनेछन्।

नेपाली प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङ एप वा कनेक्ट आइपीएसमार्फत श्रीलंकाका ४ लाखभन्दा बढी ‘लंकापे क्युआर’ मर्चेन्टहरूमा सिधै भुक्तानी गर्न सक्नेछन्। यो सेवा हालका लागि लक्ष्मी सनराइज बैंकका ग्राहकहरूले उपभोग गर्न पाउनेछन् भने निकट भविष्यमा अन्य बैंक तथा वित्तीय संस्थाहरू पनि यसमा आबद्ध हुने तयारीमा छन्।

विश्लेषकहरूले यो कदमलाई भुक्तानीको सहजता मात्र होइन, बरु नेपालको बैंकिङ क्षेत्रको प्रविधिको सवलताको प्रमाण भएको बताएका छन् । डिजिटल माध्यमबाट हुने क्रस बोर्डर क्युआर कारोबारले अनौपचारिक माध्यमबाट हुने मुद्राको अपचलनलाई रोक्न मद्दत पुर्याउँछ भने श्रीलंकाबाट नेपाल आउने पर्यटक र नेपालबाट त्यहाँ जाने पर्यटक दुवैका लागि वित्तीय पहुँच सहज हुँदा पर्यटन उद्योगमा सकारात्मक प्रभाव पर्ने देखिन्छ।

नेपाली बैंकहरूले अन्तर्राष्ट्रिय भुक्तानी गेटवेमा आफ्नो उपस्थिति बलियो बनाउँदै लैजानुले भविष्यमा अन्य मुलुकहरूसँग पनि यस्तै सहकार्यका लागि बाटो प्रशस्त गरेको छ।

यो सेवा प्रयोग गर्नका लागि ग्राहकले आफ्नो बैंक खातामा आधारित भुक्तानी प्रणालीलाई सक्रिय बनाउनुपर्ने हुन्छ। विशेष गरी डलर कार्ड वा अन्तर्राष्ट्रिय भुक्तानीका लागि अनुमति प्राप्त खाताहरूलाई मोबाइल बैंकिङसँग जोडेर श्रीलंकामा सहजै ‘स्क्यान एन्ड पे’ गर्न सकिनेछ।

यसअघि भारतीय पर्यटकहरुले नेपालका १७ लाखभन्दा बढी फोनपे मर्चेन्टहरुमा युपीआई मार्फैत झन्डै दुई वर्षदेखि सहजै भुक्तानी गर्दै आएका छन् भने भुटानसँग पनि क्युआर भुक्तानी गर्ने सम्बन्धमा भुटानको रोयल मनिटरी अथोरिटी र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच भुक्तानी समझदारी भएको छ । त्यस्तै चीनको अलिपे गेटवे प्रयोग गरेर चीन, दक्षिण कोरिया, मलेसिया, सिंगापुर फिलिपिन्स, थाइल्यान्ड र केही युरोपेली देशहरु इटाली र जर्मनीका पर्यटकले नेपालमा क्युआर स्क्यान गरेर भुक्तानी गर्न सक्ने सुविधा छ ।

नेपालको पुँजी बजारमा सूचीकृत बैंकहरूले आफ्नो सेवालाई प्रविधिमैत्री र अन्तर्राष्ट्रिय स्तरको बनाउँदै लैजाँदा यसले दीर्घकालीन रूपमा बैंकको ‘नन–फि’ आम्दानीमा समेत टेवा पु¥याउने देखिन्छ। डिजिटल भुक्तानीको यो बढ्दो लहरले नेपाललाई ग्लोबल फिनटेक म्यापमा बलियो स्थान दिलाउने निश्चित छ। अहिलेलाई लक्ष्मी सनराइज बैंकबाट सुरु भएको यो यात्रामा छिट्टै नै नेपालका अन्य ’क’ वर्गका बैंकहरू पनि सहभागी हुने अपेक्षा गरिएको छ।