५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न, ११ अर्ब ३० करोड लगानी हुने

May 13, 2026 06:41 PM Merolagani



दिव्यज्योति हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ५० मेगावाट क्षमताको ‘मर्स्याङ्दी बेसी जलविद्युत आयोजना’ को वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। आयोजनामा ऋण लगानीका लागि कम्पनी र बैंकहरूबीच बुधबार राजधानीको होटल एभरेष्टमा एक कार्यक्रमका बीच ऋण सम्झौतामा हस्ताक्षर भएको छ।

कुल ११ अर्ब ३० करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको अगुवाइमा सह-वित्तीयकरण मार्फत ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी हुनेछ। आयोजनाको बाँकी ३ अर्ब ८० करोड रुपैयाँ भने प्रवर्द्धक कम्पनीले स्वपुँजी (इक्विटी) मार्फत व्यवस्थापन गर्नेछ।

गण्डकी प्रदेशको लमजुङ जिल्लास्थित बेसी सहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिका भएर बहने मर्स्याङ्दी नदीमा यो आयोजना निर्माण भइरहेको छ। आयोजनाको निर्माण सम्पन्न गर्नका लागि ४ वर्षको अवधि तोकिए तापनि निर्माण कार्यलाई तीव्रता दिँदै आगामी ३० महिनाभित्रै काम सक्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।

आयोजनाबाट उत्पादित बिजुली विद्युत गृहबाट करिब ८ किलोमिटर टाढा रहेको नेपाल विद्युत प्राधिकरणको १३२ केभी क्षमताको उदिपुर सब-स्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।

यसअघि नै कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग २०७५ भदौ १० गते विद्युत खरिद-बिक्री सम्झौता (PPA) गरिसकेको छ। त्यस्तै, २०७४ असोज १ गते ऊर्जा मन्त्रालय, विद्युत विकास विभागबाट आयोजनाले उत्पादन अनुमति पत्र प्राप्त गरेको थियो। वित्तीय व्यवस्थापनको काम सकिएसँगै आयोजनाको निर्माण कार्यले थप गति लिने विश्वास गरिएको छ।