धितोपत्र बोर्डका पूर्व अध्यक्ष तथा सहसचिव राना १ बर्षदेखि वेपत्ता

May 14, 2026 02:47 PM mero lagani



२०८१ सालमा करिब ७ महिना नेपाल धितोपत्र बोर्डको अध्यक्ष रहेका सहसचिव नरेन्द्रकुमार राना विगत एक वर्षदेखि वेपत्ता छन् । 

उनको बारेमा परिवारलेसमेत कुनै जानकारी नगराएकोले उनी बेपत्ता हुनु रहस्यपूर्ण देखिएको छ ।

अर्थमन्त्री वर्षमान पुनको समयमा अर्थमन्त्रालयको बजेट महाशाखाको प्रमुख रहेका सहसचिव पुनः २०८१ जेठ ३ गतेदेखि साउन २ गतेसम्म नेपाल धितो पत्र बोर्डको कार्यवाहक अध्यक्ष थिए । सन्तोष नारायण श्रेष्ठले मंसिर ११ गते बोर्ड अध्यक्षको रुपमा कार्यकाल सम्हालेपछि उनी मन्त्रालय फिर्ता भएका थिए । त्यसपछि २०८२ बैशाख २ गते उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको थियो । तर, उनी मन्त्रालयमा हाजिर हुन गएनन् न त सम्पर्क नै गरेका छन् ।

उनले त्यसयता तलबसमेत लिएका छैनन् । कतिपय सरकारी कर्मचारीहरुले आफूहरु अनुपस्थित भएको अवस्थामा नजिकका कोही व्यक्तिमार्फत तलव सुविधा लिने प्रवृत्ति देखिए पनि रानाले भने त्यसो गरेका छैनन् ।

निजामती सेवा ऐनअनुसार कुनै कर्मचारी बिना जानकारी ९० दिनभन्दा बढी अनुपस्थित भएमा जागिरबाट हटाउन सकिने प्रावधान छ। तर, राना विना जानकारी त्योभन्दा चारगुना बढी अर्थात एक वर्षदेखि नै अनुपस्थित भइसकेका छन् । यो आधारमा सरकारले उनलाई अवकाश दिइसक्नु पर्दथ्यो । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझैसम्म कुनै कारबाही अघि बढाएको छैन।
सरकारका काबिल र सबैभन्दा युवा सहसचिव मध्येका एककोरुपमा चर्चित रहेका उनको सेवा अवधि अझै १६ वर्ष बाँकी छ । २०४० माघ १४मा रूकुममा जन्मेका उनी ३७ वर्षको उमेरमै सहसचिव भएका थिए । त्यसैले उनी सचिव हुने लगभग निश्चित थियो ।

माओवादीको आधारभूमी मानिने रुकुमको भएकोले पनि उनी माओवादी नेतृत्वसँग विशेष घनिष्ट थिए । त्यहीकारण २०७७ मा सहसचिव भएपछि लुम्बिनी प्रदेश सरकारमा पदस्थापन भएका उनलाई केही महिनामै भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकियमा सरुवा गरिएको थियो । हाल नेकपा अध्यक्ष रहेका प्रचण्डकी छोरी रेणु दाहाल भरतपुर महानगरपालिकाको प्रमुख हुँदा लाई सघाउन ‘क्याडर’ खोज्ने क्रममा उनलाई भरतपुरको प्रमुख प्रशासकिय अधिकृत बनाइएको थियो भने माओवादी नेता वर्षमान पुन अर्थमन्त्री भए पछि अर्थ मन्त्रालयमा सरुवा गरेर बजेट महाशाखाको प्रमुख बनाएका थिए । विवादका कारण धितो पत्र बोर्डको अध्यक्ष नियुक्त हुन नसकेपछि पुनले नै वोर्ड अध्यक्षको जिम्मेवारी दिएका थिए ।

सरकार परिवर्तन भएर पुन अर्थमन्त्रीबाट हटेर विष्णु पौडेल अर्थमन्त्रीपछि उनलाई पहिले लोकसेवा आयोग र त्यसको केही महिनामा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा सरुवा गरिएको थियो ।

त्यहीबाट उनी बेपत्ता भएका हुन् । उनले शुरुमा अध्ययन विदा लिनको लागि निवेदन दिए पनि त्यो स्वीकृति नहुँदै छात्रवृत्ति नपाएकोले विदेश नपढ्ने भन्दै निवेदन फिर्ता लिएका थिए । तर, त्यसको केही दिनपछि मन्त्रालयलाई कुनै खबर नगरि कार्यालयमा हाजिर हुन छोडेका थिए । त्यसयता पटक पटक खोजी गर्दा पनि उनी फेला नपरेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । तर, मन्त्रालयले अहिलेसम्म पनि उनको बारेमा औपचारिकरुपमा कुनै जानकारी दिएको छैन, न उनलाई बर्खास्त नै गरेको छ ।