फिफाले यस विश्वकपमा कुल ११ बिलियन अमेरिकी डलर (करिब ११ अर्ब डलर) आम्दानी गर्ने लक्ष्य राखेको छ । अघिल्लो कतार विश्वकप (२०२२)मा फिफाको आम्दानी ७.५ बिलियन डलर मात्र थियो । खेल संख्या र बजारको आकार बढेकाले व्यापारिक सम्झौता र प्रायोजनबाट मात्रै फिफाले ठूलो रकम आर्जन गर्दैछ ।
यसपटक कुल १०४ खेलहरू सञ्चालन हुने भएकाले टिकट बिक्रीबाट ऐतिहासिक राजस्व उठ्ने अनुमान छ। फिफाले केही समयअघि ४५ पाउन्ड स्टर्लिङको सुरुवाती मूल्यसहितको किफायती सपोर्टर इन्ट्री क्याटगोरी टिकट पनि ल्याएको थियो, जसले गर्दा मैदानमा दर्शकको उपस्थिति उच्च रहने देखिन्छ। यसपटक ५० लाखभन्दा बढी टिकट बिक्री हुने अनुमान गरिएको छ भने अनलाइन र टेलिभिजनहरुबाट विश्वकप हेर्नेहरुको संख्या २ अर्बभन्दा धेरै पुग्ने अनुमान गरिएको छ ।
खेल संख्या बढेसँगै विश्वभरका टेलिभिजन च्यानल र डिजिटल स्ट्रिमिङ प्लेटफर्महरूका लागि प्रसारण अधिकारको मूल्य आकाशिएको छ। अमेरिका, क्यानडा र मेक्सिको जस्ता ठूला कर्पोरेट बजारहरू भएकाले विज्ञापनदाताहरूले ठूलो लगानी खन्याएका छन्।
पर्यटन र स्थानीय अर्थतन्त्रमा प्रभाव
तीन देशका १६ वटा आयोजक सहरहरू (जस्तै न्यूयोर्क, लस एन्जलस, मेक्सिको सिटी, टोरन्टो आदि) को स्थानीय अर्थतन्त्रमा यसले अर्बौँ डलरको योगदान दिनेछ।
लाखौँ विदेशी फुटबल समर्थकहरू आउने हुनाले ती शहरका होटल, रेस्टुरेन्ट, सार्वजनिक यातायात, खुद्रा व्यापार र पर्यटन क्षेत्रले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ। विश्वकपले दीर्घकालीन पूर्वाधार विकासमा सहयोग गरिरहेको छ ।
कतिपय अध्ययनकाअनुसार आयोजक सहरहरूमा मात्रै थप हजारौँ अल्पकालीन र दीर्घकालीन रोजगारीका अवसरहरू सिर्जना भएका छन्। केही अध्ययनले झण्डै ८ लाखभन्दा बढी पूर्णकालीन बराबरको रोजगार सृजना भैरहेको दावी गरेका छन् ।
२०२२ मा भएको कतार विश्वकपको तुलनामा उत्तर अमेरिकामा पहिलेदेखि नै अत्याधुनिक र विशाल रंगशालाहरू उपलब्ध भएकाले रंगशाला निर्माणमा धेरै खर्च गर्नुपरेको छैन। तर, यातायात व्यवस्थापन, सुरक्षा, र डिजिटल पूर्वाधार ९जस्तै फिफाले प्रयोग गर्ने अत्याधुनिक ५०० हर्ट्ज मोसन सेन्सर चिपसहितको कनेक्टेड बलु प्रविधि र भीएआर प्रणालीका लागि ठूलो रकम लगानी गरिएको छ।
खेलाडी, रेफ्री र म्याच अफिसियलहरूको सङ्ख्या
यसपटक टोली सङ्ख्या ४८ पुगेकाले खेलाडीहरूको सङ्ख्यामा पनि ऐतिहासिक वृद्धि भएको छ। फिफाको नियमअनुसार प्रत्येक राष्ट्रले आफ्नो अन्तिम टोलीमा न्यूनतम २३ देखि अधिकतम २६ जना खेलाडीहरू राख्न पाउँछन् (जसमा ३ जना गोलकिपर अनिवार्य हुनुपर्छ)। यो विश्वकपमा कूल १,२४८ जना खेलाडीहरू मैदानमा देखिनेछन्।
फिफाले हालै २०२६ विश्वकपका लागि आधिकारिक रेफ्री र म्याच अफिसियलहरूको अन्तिम सूची सार्वजनिक गरेको छ। इतिहासमै पहिलोपटक FIFA Team One को समूहमा १७० जना मुख्य म्याच अफिसियलहरू छानिएका छन् (यो संख्या कतार विश्वकप २०२२ को भन्दा ४१ जना बढी हो ।)
मुख्य रेफ्रीः ५२ जना
सहायक रेफ्रीः ८८ जना
भिडियो म्याच अफिसियलः ३० जना (यसपटक ६ जना महिला म्याच अफिसियलहरू पनि समेटिएका छन्।)
मुख्य प्रशिक्षक र प्राविधिक टोली
४८ वटा देशका आ-आफ्नै ठूला प्राविधिक टोलीहरू मैदान बाहिर खटिनेछन् ।
मुख्य प्रशिक्षकः ४८ जना (प्रत्येक टोलीको १ जना)।
सहायक र प्राविधिक टोलीः प्रत्येक टोलीमा सहायक प्रशिक्षक, गोलकिपिङ प्रशिक्षक, फिटनेस कोच, र भिडियो विश्लेषकहरू गरी औसतमा १० देखि १५ जनाको प्राविधिक समूह हुन्छ। यस हिसाबले ५०० देखि ७०० जना सम्म प्रशिक्षक र प्राविधिक विज्ञहरू विश्वकपमा प्रत्यक्ष संलग्न हुनेछन्।
मेडिकल, ब्याकस्टेज र व्यवस्थापकीय कर्मचारी
खेलाडीहरूको रेखदेख र टोलीको व्यवस्थापनका लागि प्रत्येक देशले ठूलो लावालस्कर लिएर आउँछन् ।
मेडिकल टिमः प्रत्येक टोलीमा डाक्टर, फिजियोथेरापिष्ट, र मसाज थेरापिष्टहरू हुन्छन्।
व्यवस्थापकीय कर्मचारीः टोलीका म्यानेजर, क्युरेटर (सामान ओसारपसार गर्ने), मिडिया अफिसर, सुरक्षा गार्ड, र सेफ (भान्से) हरू ।
प्रत्येक टोलीसँग खेलाडी बाहेक थप ३० देखि ४० जनाको सपोर्ट स्टाफ टोली हुने भएकाले ४८ वटा देशबाट मात्रै करिब १,५०० देखि २,००० जना कर्मचारीहरू आधिकारिक रूपमा क्यानडा, मेक्सिको र अमेरिकामा केन्द्रित हुनेछन्।
फिफा र स्थानीय आयोजकका कर्मचारी एवं स्वयम्सेवक
यो त भयो टोलीहरूको आन्तरिक जनशक्ति, तर १६ वटा सहरका १०४ खेलहरू सफलतापूर्वक सञ्चालन गर्न सबैभन्दा ठूलो जनशक्ति आयोजकहरूको तर्फबाट खटिनेछस्
फिफा र सुरक्षा कर्मचारीस् खेल व्यवस्थापन, भीआईपी सत्कार, र सुरक्षाका लागि हजारौँ अन्तर्राष्ट्रिय तथा स्थानीय सुरक्षाकर्मी र फिफाका स्थायी कर्मचारीहरू खटिनेछन्।
स्वयंसेवक: रङ्गशाला व्यवस्थापन, दर्शकलाई दिशा निर्देश गर्ने, र सञ्चार माध्यमलाई सहयोग गर्नका लागि तीनवटै देशमा गरी ५०,००० भन्दा बढी स्वयम्सेवकहरू परिचालन गरिँदैछ।
मुख्य चुनौति चर्काे गर्मी
यो विश्वकपको लागि मौसम सबैभन्दा ठूलो चुनौति मानिएको छ । वातावरणविद्हरुले विश्वकपका खेल हुने १६ मध्ये १४ वटा रङ्गशालाको तापक्रमले खतरनाक तह पार गर्ने चेतावनी दिएका छन्।दक्षिण अमेरिका र उत्तरी मेक्सिकोका केही भूभागमा दिउँसो तापक्रम ३५ डिग्री सेल्सिअसजति हुन्छ। तर गर्मी याममा तापक्रम बढेर ४० डिग्रीजति पुग्छ।
तापक्रम, आर्द्रता, हावाको गति र चर्को घामजस्ता कुरा प्रतिकूल भए विश्वकप आयोजना हुने सहरमा खेलाडीहरूलाई चर्को गर्मी र ‘फिजिकल हीट स्ट्रेस’ महसुस हुने उच्च जोखिम छ।
फिफाले खेलाडीहरूको हितमा जनाएको प्रतिबद्धतामा जस्तोसुकै मौसम भए पनि मध्यान्तर अगाडि र पछाडि दुवै हाफमा तीनमिनेट कुलिङ ब्रेक लिनैपर्ने जनाएको छ। कुलिङ ब्रेकको व्यवस्था पनि पहिलो पटक गरिएको हो । खुला आकाशमुनि हुने सबै खेलमा प्राविधिक कर्मचारी र वैकल्पिक खेलाडीहरूलाई जलवायु नियन्त्रित कक्षहरू उपलब्ध गराइने छ।
साथै दर्शकदीर्घालाई अझ शीतल बनाउने उपाय अवलम्बन गरिन्छ। त्यसका लागि घाम छेकिने ठाउँ, मिस्टिङ सिस्टम अर्थात् पानीका मसिना कण निकाल्ने फोहरा, कुलिङ बस र पानी वितरणलगायतका योजना अघि सारिएको छ।