प्रायः हरेक हप्ता जसो कुनै न कुनै कम्पनीको आईपीओहरू आइ नै रहेका छन् र लगानीकर्ता पनि उत्साहजनक रूपमा आईपीओ भरिरहेका छन्, भलै उनीहरूलाई कम्पनीको वित्तीय अवस्था र भविष्यमा दिने प्रतिफलको बारेमा थाहा नै किन नहोस्। सायद यसको पछाडिको कारण भनेको चाहिँ जुनसुकै कम्पनीको आईपीओ आए पनि केही वर्षयतादेखि अहिलेसम्म आईपीओमा पैसा लगाएर लगानीकर्ताहरूले साँवा गुमाउनु परेको छैन। यही भएर नै होला हरेक कम्पनीको आईपीओ ओभरसब्सक्राइब हुने गर्दछ र अहिले त आईपीओ भर्ने पनि लगभग ३० लाख जना पुग्न थालिसकेका छन्। बजारमा जति चर्चा कुनै कम्पनीको आईपीओहरूले पाएका छन्, त्यति चर्चा म्युचुअल फण्डहरूले भने पाएका छैनन्। यो नेपालको आईपीओ मार्केटको तीतो यथार्थ नै भन्दा हुन्छ होला।
यही लगभग ३० लाख जनाले जुनसुकै कम्पनी र जस्तोसुकै कम्पनीको आईपीओ आए पनि भर्ने गरेको देखेरै नै म्युचुअल फण्डहरूले पनि आफ्नो आईपीओ धमाधम यही समय आसपासमा ल्याइरहेका छन् कि जस्तो देखिन्छ। अब यसलाई म्युचुअल फण्डहरूको बाध्यता भन्ने हो कि चालबाजी भन्ने हो त्यो त लगानीकर्ताहरूले नै निर्धारण गरून्, तर यहाँ भइरहेको के देखिन्छ भने जहिले जहिले कुनै कम्पनीको आईपीओ आइरहेको हुन्छ त्यही समयमा वा त्यही समयको सेरोफेरोमा म्युचुअल फण्डहरूले पनि आफ्नो आईपीओ निकाल्ने गरेका छन् र आजकाल सबै म्युचुअल फण्डको आईपीओ मज्जाले नै सब्सक्राइब भइरहेको देखिन्छ। कुनै पनि कम्पनीको आईपीओ आइरहेको बेला म्युचुअल फण्डले पनि त्यही समयमा आईपीओ निकाल्नाले धेरैजसो लगानीकर्ताहरू, अझ विशेष गरी कम्पनी नहेरीकन आईपीओ आयो है भनेपछि भरि हाल्ने प्रवृत्ति धेरै नै मौलाएको कारणले गर्दा म्युचुअल फण्डहरूले यही मौका छोपेर आईपीओ निकाल्दछन् अनि आईपीओ खुलेको सुनेर आईपीओ भर्न जाँदा त्यहाँ म्युचुअल फण्डहरूको पनि आईपीओ देख्छन् र अरू पनि आईपीओ खुलेको रहेछ भनेर एप्लाइ गरिदिन्छन्।
यसरी म्युचुअल फण्डको आईपीओ भर्ने धेरैजसो लगानीकर्ताहरूलाई आफूले कुनै कम्पनीको शेयरको आईपीओ नभरेर म्युचुअल फण्डको आईपीओ भरिरहेको छु भन्ने पत्तै हुँदैन। सायद म्युचुअल फण्डहरूको पनि बाध्यतै होला यसरी कम्पनीको आईपीओसँगै जुधाएर आईपीओ ल्याउनुपरेको, किनकि अरू कुनै समय अर्थात् कम्पनीहरूको आईपीओ नखुल्दा अन्डरसब्सक्राइब हुन सक्ला भन्ने डर नै होला यसको पछाडि। अथवा कम्पनीको आईपीओ आएको बेलामा म्युचुअल फण्डको आईपीओको बारेमा बजारमा धेरै प्रचार प्रसार गर्न नपर्ने भएर पो हो कि ? यो त अब यस्तो समयमा संयोग परेर वा भनौँ जानाजान आईपीओ ल्याउने म्युचुअल फण्डहरूलाई नै थाहा होला।
अहिले भर्खरै पनि स्नो रिभर्स लिमिटेडको आईपीओसँगै केही म्युचुअल फण्डको आईपीओ आएको छ। जति जनाले कम्पनीको आईपीओ भर्छन् त्यति नै जनाले म्युचुअल फण्डको पनि भर्छन् भन्ने त छैन किनकि बिस्तारै लगानीकर्ताहरूले यो कुरा थाहा पाउँदै गइरहेका छन् र म्युचुअल फण्डमा आईपीओ भर्ने लगानीकर्ता पनि यही कारणले गर्दा कम भएका हुन सक्छन्। भविष्यमा म्युचुअल फण्डको आईपीओ भर्ने लगानीकर्ता अझ कम हुन सक्छन् र यसका लागि म्युचुअल फण्डहरूले बजारमा आईपीओको मात्र प्रचार प्रसार गर्नु भन्दा पनि जति सक्दो हुन्छ लगानीकर्ताहरू माझ म्युचुअल फण्ड के हो, यो कसरी काम गर्छ, यसले कसरी कमाएर प्रतिफल दिन्छ, यसमा लगानी किन गर्ने लगायतका कुराहरूमा ज्ञान बाँड्नु आवश्यक देखिन्छ। अब केही व्यक्ति वा म्युचुअल फण्डहरूले यहाँ भन्न सक्लान् कि हामीले प्रोसपेक्टस त दिएकै छौँ भनेर तर यहाँनेर अर्को तीतो यथार्थ के पनि हो भन्दा ९०% जसो लगानीकर्ताले कहिल्यै त्यो पढ्दैनन् र अधिकांशलाई प्रोसपेक्टस भन्ने पनि केही हुन्छ भन्ने नै थाहा छैन।
अझ नेपालको बजारमा त हालसम्म कुनै पनि इन्डेक्स ट्रेडिङ उपलब्ध छैन बरु सेबोनसँग वार्ता गरेर नियम कानुन संशोधन गर्न लगाएर हुन्छ वा अरू केही गरेर हुन्छ इन्डेक्स फण्ड र यसका साथै ईटीएफहरू पनि बजारमा ल्याउन सक्यो भने धेरै राम्रो हुनेछ।