तेस्रो सातामा पनि दर्शकको पहिलो रोजाइमा ‘परालको आगो’

May 18, 2026 02:11 PM Merolagani



नेपाली बक्स अफिसमा यतिबेला ‘परालको आगो’ले निरन्तर अग्रता कायम राखेको छ। प्रदर्शनको तेस्रो सातासम्म आइपुग्दा पनि चलचित्र दर्शकको उच्च रोजाइमा पर्न सफल भएको छ भने व्यापारिक रूपमा अन्य चलचित्रभन्दा स्पष्ट अग्रतामा देखिएको छ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको आधिकारिक बक्स अफिस प्रतिवेदनअनुसार बैशाख २६ गतेदेखि जेठ २ गते मध्यरातसम्म नेपालभर प्रदर्शनमा रहेका चार चलचित्रहरु ‘परालको आगो’, ‘लालीबजार’, ‘मालती’ मंगले र ‘गुरु आमा’ को कारोबार विवरण सार्वजनिक गरिएको हो।

बोर्डअन्तर्गत सञ्चालित ‘सिनेपाः २ बक्स अफिस’को तथ्यांकअनुसार ‘परालको आगो’ले हालसम्म १ लाख ५१ हजार ९२८ टिकट बिक्री गर्दै ४ करोड २२ लाख २३ हजार ४ सय ३५ रुपैयाँ आम्दानी गरेको छ। यो रकम हाल प्रदर्शनरत अन्य चलचित्रहरूको संयुक्त आम्दानीभन्दा समेत बढी रहेको उल्लेख गरिएको छ।

त्यसैगरी, प्रदर्शन मिति अगावै विवादमा परेर समयमै रिलिज हुन नसकेको ‘लालीबजार’ले पछिल्लो समय दर्शकको राम्रो साथ पाइरहेको छ। चलचित्रले हालसम्म १ लाख १४ हजार ४८६ टिकट बिक्री गर्दै ३ करोड ४२ लाख ६१ हजार ७ सय ७९ रुपैयाँ आम्दानी गरेको छ।

यता ‘मालती मंगले’ले १३ हजार ८ सय ९० टिकट बिक्री गर्दै ४४ लाख ७८ हजार ६ सय ८ रुपैयाँ कमाइ गरेको छ भने ‘गुरु आमा’ले ८ हजार ९७४ टिकट बिक्रीबाट २८ लाख ४४ हजार ४ सय ५१ रुपैयाँ आम्दानी गरेको तथ्यांकमा उल्लेख छ।

समग्रमा, नेपाली बक्स अफिसमा ‘परालको आगो’ले आफ्नो प्रभाव बलियो बनाउँदै अग्रता कायम राखेको देखिन्छ भने अन्य चलचित्रहरू दर्शक तान्न प्रतिस्पर्धामा रहेका छन्।