श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक उच्च अधिकारीका अनुसार वैदेशिक रोजगारीमा गएर फर्किएका नेपालीको सीप र पूँजीलाई नेपालमै प्रयोग गर्न प्रेरित गर्ने उद्देश्यले ‘सीप पासपोर्ट’को अवधारणा ल्याइएको हो । ‘बजेटमै त्यसबारेमा विशेष व्यवस्था गर्ने गरि’ यसमा अहिले अन्तिम छलफल चलिरहेको छ,’ मन्त्रालयका एक अधिकारीले मेरो लगानीसँग भने ।

ती अधिकारीकाअनुसार सरकारले अहिले पनि वैदेशिक रोजगारीमा गएर फर्किएका रिटर्नी माइग्रेन्टलाई उनीहरूको तथ्याङ्क सङ्कलन गरेर स्थानीय तहसँग सहकार्य गरी उनीहरूलाई व्यवसायमा जोड्ने काम गरिरहेको छ । त्यसलाई व्यवस्थित बनाउनको लागि ‘सीप पासपोर्ट’ जारी गर्न लागिएको हो ।
खासगरी नेपालबाट दक्षिण कोरिया, मलेसिया, इजरायल, जापानलगायतका देशमा निश्चित समयका लागि जाने नेपालीहरुलाई लक्षित गर्दै ‘सीप पासपोर्ट’ जारी गर्न लागिएको हो । ‘विदेशबाट फर्केर नेपालमा उद्यम गर्न चाहाने हरेक नेपालीले यो पासपोर्ट पाउनेछन् । यसमा मुख्य गरि दक्षिण कोरिया, मलेसिया, इजरायल, जापानमा केही महिना वा केही वर्ष काम सिकेर फर्कने नेपालीहरु धेरै समेटिन्छन् भन्ने हाम्रो विश्लेषण छ, किनकी युरोप वा अमेरिका जानेहरु कमै मात्र फर्कन्छन,’ मन्त्रालयका ती अधिकारीको भनाइ छ ।
सरकारले केही दिन अघि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा विदेशबाट फर्केका वा फर्कन चाहने नेपालीहरु सीप नेपालमै प्रयोग गर्न सकिने गरि कार्यक्रम संचालन गरिने उल्लेख गरेको थियो ।
वैदेशिक रोजगारीमा गएर नेपाल फर्किनेहरू कति सङ्ख्यामा छन् भन्ने यकिन तथ्याङ्क अहिलेसम्म सरकारसँग छैन । ‘सीप पासपोर्ट’ जारी भएपछि तथ्याङ्क अद्यावधिक हुने र त्यसबाट त्यस्ता युवाहरुलाई कसरी अर्थतन्त्रको मूल प्रवाहमा समावेश गर्न सकिन्छ भन्ने बारेमा निर्णय गर्न सजिलो हुने सरकारी अधिकारीहरुको भनाइ छ । यस्तो पासपोर्ट जारी भएपछि विदेशमा सीप सिकेर नेपाल आउन चाहने युवाहरुलाई थप प्रेरणा मिल्ने पनि सरकारी अधिकारीहरुको भनाइ छ ।