नेपाली लिपिमा आधारित इन्टरनेट प्रवर्द्धन गर्न काठमाडौंमा 'यूए ह्याकाथन' सम्पन्न

May 18, 2026 06:09 PM Merolagani



इन्टरनेटलाई सबैका लागि समावेशी र बहुइन्टरभाषिक बनाउने लक्ष्यका साथ काठमाडौंमा आयोजित ‘यूए अडाप्टेसन एन्ड ह्याकाथन नेपाल २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ। 

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजना तथा आईक्यान र युनेस्कोको सहकार्यमा शनिबार भएको उक्त कार्यक्रमले नेपाली भाषा र लिपिमा आधारित डोमेन नेम तथा ईमेल ठेगानाहरूलाई इन्टरनेटका सबै प्रणालीले सहजै स्वीकार गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएको छ। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८३ को अवसर पारेर सञ्चालन गरिएको यस ह्याकाथनमा देशभरका सफ्टवेयर डेभलपर र प्रविधि प्रेमीहरूको उत्साहजनक सहभागिता रह्यो।

 

कार्यक्रमको उद्घाटन गर्दै क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले यो ह्याकाथन केवल प्रतिस्पर्धा मात्र नभएर नेपालको डिजिटल पूर्वाधारलाई बहुभाषिक र समावेशी बनाउने ऐतिहासिक कदम भएको बताइन्। त्यस्तै महासंघका संस्थापक अध्यक्ष डा. विमल कुमार शर्माले प्रविधिलाई भुइँतहका नागरिकसम्म पुर्‍याउन 'युनिभर्सल एक्सेप्टेन्स' को भूमिका अपरिहार्य रहेको उल्लेख गरे। सरकारी निकायको तर्फबाट प्रतिबद्धता जनाउँदै नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक ई. रोजा किरण बासुकलाले डिजिटल नेपाल फ्रेमवर्कलाई सफल बनाउन यस्ता प्राविधिक रूपान्तरण आवश्यक रहेको बताइन्। युनेस्कोका नेपाल प्रतिनिधि जाको दु तोइले प्रविधिमा आफ्नै मातृभाषाको प्रयोगले मानिसहरूलाई सशक्त बनाउने र पहिचान जोगाउने धारणा राखे भने आईक्यानका उपाध्यक्ष समिरन गुप्ताले आफ्नै रैथाने लिपिमा इन्टरनेट उपयोग गर्न पाउनु नागरिकको अधिकार भएको र यसले डिजिटल खाडल पुर्ने दाबी गरे।

प्राविधिक विधातर्फको कडा प्रतिस्पर्धामा देवनागरी लिपिमा आधारित अत्याधुनिक ईमेल प्रणाली विकास गर्ने 'टिम एभरेष्ट' प्रथम हुन सफल भयो। निराजन पराजुली, एन्जेला न्यौपाने, रौनक रेग्मी, भुवन जोशी, आवरण ढुङ्गाना र बिनी चन्द सम्मिलित यस टोलीले इन्टरनेटलाई ल्याटिन क्यारेक्टरमा मात्र सीमित नराखी स्थानीय भाषामा पनि सहज पहुँचयोग्य बनाउने आधार खडा गरेको छ। त्यस्तै गैर-प्राविधिक विधातर्फ अमरेश शाह, विजय रेग्मी, दक्षिणा पाण्डे र कुमकुम सर्राफको टोलीले नीतिगत तथा चेतनामूलक योजनाको उत्कृष्ट खाका प्रस्तुत गर्दै पहिलो स्थान हासिल गर्‍यो। क्यान महासंघले यसअघि नै नेपाली लिपिमा आधारित 'क्यान.संगठन' पोर्टल सञ्चालनमा ल्याइसकेको सन्दर्भमा यो ह्याकाथनले बहुभाषिक डिजिटल समाधानका नयाँ बाटोहरू खोलेको छ। विभिन्न कलेज र प्रविधि संस्थाहरूको सहयोगमा सम्पन्न यस कार्यक्रमले नेपालको डिजिटल समावेशीकरणमा महत्त्वपूर्ण इँटा थप्ने विश्वास कार्यक्रम संयोजक उदिप बरालले व्यक्त गरे।