गत वर्ष साउन पहिलो साता भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय एमालेले गरेको थियो । यो निर्णयले एमाले भित्र चर्काे विवाद उत्पन्न गरेको थियो । केही महिना अघि भएको एघारौं राष्ट्रिय महाधिवेशनबाट पार्टीकै नेतृत्व लिने प्रयास गरे पनि सदस्यता नविकरण नगरिएपछि उनी अध्यक्ष हुने बाटो बन्द भएको थियो । फागुन २१ गतेको चुनावमा पार्टीले पराजय भोगेपछि फेरि भण्डारीलाई पार्टी अध्यक्ष बनाउनु पर्ने आवाज उठ्दै आएको थियो ।
त्यहीक्रममा सोमबार पार्टी सदस्यता नविकरण गर्ने निर्णय गरिनुलाई अर्थपूर्णरुपमा लिइएको छ । सदस्यता नविकरण गरिएसँगै भण्डारी पार्टी अध्यक्ष हुने र अध्यक्ष केपी ओली नेतृत्वबाट विदा हुने लगभग निश्चित भएको एमाले नेता कार्यकर्ताहरु बताउँछन् । चुनावमा पराजय पछि अध्यक्ष ओलीमाथि नेतृत्व छोड्न दवाव बढ्दै गएको छ ।