विभागका अनुसार सबैभन्दा बढी अनुमति सगरमाथा आरोहणका लागि जारी गरिएको छ। हालसम्म ५५ देशका ४९४ आरोहीले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन्।
सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै १०९ चिनियाँ नागरिकले अनुमति लिएका छन्। त्यसैगरी अमेरिकाका ७७, भारतका ६१, बेलायतका ३२, रसियाका १८, अष्ट्रेलियाका १५, जापानका १४, नेपालका १२ तथा ब्राजिलका १० नागरिकले अनुमति लिएका छन्।
यसबाहेक ल्होत्से का लागि १४३, आमादब्लम का लागि १११, नुप्त्से का लागि ५६, हिम्लुङ हिमाल का लागि ४६, कञ्चनजङ्घा का लागि ३६ तथा धवलागिरि का लागि ३० जनाले अनुमति लिएका छन्। अन्य हिमाल आरोहणका लागि पनि अनुमति जारी गरिएको विभागले जनाएको छ।
पर्यटन विभागले ६ हजार ५०० मिटरभन्दा माथिका हिमाल आरोहणका लागि अनुमति दिने गरेको छ। ५ हजार ८०० देखि ६ हजार ५०० मिटर उचाइसम्मका हिमाल आरोहणको अनुमति भने नेपाल पर्वतारोहण सङ्घ ले प्रदान गर्दै आएको छ।
विभागले यस वर्ष विभिन्न हिमाल आरोहणका लागि अनुमति दिएबापत १ अर्ब २५ करोड ८४ लाख ६० हजार ५५४ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। जसमध्ये सबैभन्दा बढी राजस्व सगरमाथाबाट मात्रै १ अर्ब ७ करोड ८६ लाख ९१ हजार ४७५ रुपैयाँ सङ्कलन भएको छ।
त्यसैगरी ल्होत्सेबाट ६ करोड ३६ लाख २७ हजार ७००, आमादब्लमबाट १ करोड ६६ लाख ९ हजार २००, कञ्चनजङ्घाबाट १ करोड ६० लाख ८१ हजार ६५०, धवलागिरि प्रथमबाट १ करोड ३४ लाख ५४ हजार ५५० तथा अन्नपूर्ण प्रथम बाट १ करोड २० लाख ४९ हजार १७५ रुपैयाँ राजस्व सङ्कलन भएको छ।
विभिन्न हिमालको आरोहण सुरु भइसकेको अवस्थामा सगरमाथा आरोहण भने वैशाख ३१ गतेदेखि सुरु भएको हो। डोरी टाँग्ने तथा बाटो निर्माणको काम सम्पन्न भएसँगै आरोहीहरू आरोहणमा जुटिरहेका छन्। पछिल्लो समय विश्वको सर्वोच्च शिखर सगरमाथासहित नेपालका हिमालमा विदेशी आरोहीहरूको आकर्षण बढ्दो क्रममा रहेको छ।