प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत अनुमोदन

May 19, 2026 04:25 PM Merolagani



डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश नियुक्त हुने निश्चित भएको छ। संसदीय सुनुवाइ समितिले मंगलबार उनको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेसँगै सर्वोच्च अदालतको नेतृत्व सम्हाल्ने बाटो खुलेको हो।

समितिको बैठकले संसदीय सुनुवाइ प्रक्रिया पूरा गर्दै शर्माको नाम अनुमोदन गरेको हो। संसदीय सुनुवाइ समितिले संसदीय सुनुवाइ समिति कार्यसञ्चालन नियमावली, २०८० को नियम २६ उपनियम ५ अनुसार उनको नाम सर्वसम्मत रूपमा पारित गरेको जनाएको छ।

यसअघि वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले शर्मालाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको थियो। संसदीय अनुमोदनपछि अब उनले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएर औपचारिक रूपमा कार्यभार सम्हाल्नेछन्।

प्रधानन्यायाधीशका रूपमा शर्माको कार्यकाल ६ वर्ष रहनेछ। त्यसअनुसार उनले २०८९ वैशाखसम्म सर्वोच्च अदालत को नेतृत्व गर्नेछन्।