डीडीसीको सित्तैमा प्रचार गरिदिएका बालेनलाई यदि पैसा तिर्नु परेको भए ‘इन्डोर्समेन्ट फि' कति दिनु पर्थ्यो होला ?

May 20, 2026 01:34 PM Merolagani



सुवास निरौला 

शनिबारको एउटा सामान्य दिउँसो। सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल हुन्छ।

तस्बिरमा नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) एउटा प्लेटमा चिजका टुक्राहरू र 'डीडीसी याक चिज' को प्याकेटका साथ देखिएका छन्। क्याप्सन छोटो र चोटिलो छ– "Say Cheese, DDC ko Cheese"।

यो एउटा साधारण तस्बिर मात्र थिएन, यो त वर्षौंदेखि आर्थिक संकट र घाटामा थलिएको एउटा सरकारी संस्थानका लागि 'तुरुपको एक्का' सावित भयो। तस्बिर पोस्ट भएको २४ घण्टा नबित्दै डीडीसीका बिक्री काउन्टरहरूमा उपभोक्ताको लर्को लाग्यो। सुपरमार्केटहरूले स्टक थप्न हारगुहार गरे र याक चिजको माग रातारात २०० देखि ३०० प्रतिशतले बढ्यो। यो घटनाले आधुनिक डिजिटल युगमा 'इन्फ्लुएन्स' (प्रभाव) र 'Earned Media Value' (आर्जित मिडिया मूल्य)को शक्तिलाई स्थापित गरिदिएको छ।

के हो 'Earned Media Value' (EMV)?

मार्केटिङको दुनियाँमा प्रचारप्रसारका तीनवटा स्वरूप हुन्छन्– पेड (Paid), ओन्ड (Owned) र अर्नड (Earned)।

पेड मिडिया भनेको जब कम्पनीले पैसा तिरेर रेडियो, टिभी वा फेसबुकमा विज्ञापन दिन्छ। त्यस्तै ओन्ड मिडिया भनेको कम्पनीको आफ्नै वेबसाइट वा फेसबुक पेज, जहाँ उसले आफ्ना कुरा राख्छ। यसैगरि अर्नड मिडिया (EMV) भनेको सबैभन्दा शक्तिशाली र मूल्यवान् स्वरूप हो। जब कुनै तेस्रो पक्ष, प्रभावशाली व्यक्ति वा सञ्चारमाध्यमले कम्पनीको उत्पादनबारे आफ्नो खुसीले चर्चा गरिदिन्छन्, त्यसलाई 'Earned Media Value' भनिन्छ।

बालेन शाहले डीडीसीको प्रचारका लागि संस्थानबाट एक रुपैयाँ पनि लिएका छैनन्। तर, उनको पोस्टले जुन तहको 'इङ्गेजमेन्ट' (लाइक, कमेन्ट र सेयर) प्राप्त गर्‍यो, त्यति नै चर्चा र पहुँच (Reach) पाउन डीडीसीले कुनै ठूलो विज्ञापन एजेन्सीलाई कम्तीमा ५० लाखदेखि १ करोड रुपैयाँसम्म तिर्नुपर्ने हुन्थ्यो। बालेनको ४.६ मिलियन फलोअर्स भएको पेजबाट गरिएको यो 'अघोषित विज्ञापन' ले डीडीसीलाई सित्तैमा करोडौंको व्यावसायिक लाभ दिलाएको छ। यसैलाई भनिन्छ– 'Earned Media Value'।

विश्वसनीयता

विज्ञापनको एउटा ठूलो कमजोरी हुन्छ– मानिसहरूलाई थाहा हुन्छ कि यो पैसा तिरेर गराइएको हो। त्यसैले उपभोक्ताले विज्ञापनमा देखाइने गुणस्तरलाई शंकाको दृष्टिले हेर्छन्। तर, जब बालेन शाह जस्तो युवा पुस्ताको 'आइकन' ले आफ्नै भान्सामा बसेर कुनै वस्तु उपभोग गरिरहेको तस्बिर राख्छन्। त्यो विज्ञापन रहँदैन, त्यो एउटा 'सच्चा सुझाव' (Authentic Suggestion) बन्न पुग्छ।

मनोवैज्ञानिक रूपमा उपभोक्ताले सोच्छन्– "यदि बालेनले यो खाइरहेका छन् भने पक्कै पनि यो राम्रो हुनुपर्छ।" यो 'सोसल प्रुफ' (Social Proof) को सिद्धान्त हो। पैसा तिरेर गरिएको विज्ञापनलाई मानिसले बेवास्ता गर्न सक्छन्। तर आफ्नो मन पर्ने नेता वा सेलिब्रेटीले गरेको सिफारिसलाई मानिसले व्यवहारमा उतार्छन्। बालेनको पोस्टपछि याक चिजको माग ह्वात्तै बढ्नुको मुख्य कारण यही 'विश्वसनीयता' हो, जसलाई पैसाले किन्न सकिँदैन।

डीडीसीको संकट र 'बालेन इफेक्ट'

दुग्ध विकास संस्थान (डीडीसी) को वर्तमान अवस्था निकै पीडादायी छ। संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार डीडीसी अहिले करिब २ अर्ब रुपैयाँ सञ्चित नोक्सानीमा छ। गत आर्थिक वर्षमा मात्रै यसले ४० करोड घाटा बेहोरेको छ। सबैभन्दा दुखद पक्ष त यो छ कि, दूध उत्पादन गर्ने किसानलाई संस्थानले करिब ५० करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ।

बजारमा निजी डेरीहरूको तीव्र प्रतिस्पर्धा, पुरानो प्रविधि र सरकारी कार्यशैलीका कारण ओरालो लागिरहेको डीडीसीका लागि बालेनको एउटा पोस्ट 'सञ्जीवनी बुटी' जस्तै बन्यो। शनिबारअघि डीडीसीका कतिपय काउन्टरबाट दैनिक ५० प्याकेट दूध बिक्री हुन्थ्यो भने आइतबारदेखि सोही काउन्टरमा २०० प्याकेटसम्मको माग आयो। ५ वर्षअघि अर्गानिक प्रमाणीकरण पाए पनि ओझेलमा परेको याक चिजका लागि त यो पोस्टले अन्तर्राष्ट्रिय स्तरकै ब्रान्डिङ गरिदिएको छ।

बालेनको त्यो पोस्टमा देखिएको प्रतिक्रिया लोभलाग्दो छ:

  • लाइक: ४ लाख ९३ हजारभन्दा बढी।

  • कमेन्ट: ४८ हजारभन्दा बढी।

  • सेयर: ४ हजार २०० भन्दा बढी।

नेपालको कुल इन्टरनेट प्रयोगकर्ताको जनसंख्यालाई हेर्ने हो भने, यो इङ्गेजमेन्ट दर निकै उच्च हो। कुनै पनि व्यावसायिक ब्राण्डले यति धेरै मानिससम्म पुग्न महिनाभरिको ठूलो बजेट खर्च गर्नुपर्छ। बालेनको एउटै पोस्टले डीडीसीको ब्रान्डलाई प्रत्येक नेपालीको मोबाइल स्क्रिनसम्म पुर्‍याइदियो। समाचार अनुसार, चिजको माग ३० प्रतिशतले मात्र बढेको छैन, बरु समग्र दुग्धजन्य पदार्थको बिक्रीमा २०० देखि ३०० प्रतिशतको उछाल आएको छ। यो नै 'इन्फ्लुएन्सर मार्केटिङ' को वास्तविक शक्ति हो।

स्वदेशी उत्पादन र राष्ट्रवादको भावना

बालेन शाहको यो कदमलाई धेरैले स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने एउटा राष्ट्रवादी पहलका रूपमा पनि हेरेका छन्। नेपालमा बर्सेनि अर्बौको दुग्धजन्य पदार्थ आयात हुन्छ। जबकि नेपालकै उच्च हिमाली क्षेत्रमा उत्पादित याक चिज विश्व बजारमा उत्कृष्ट मानिन्छ। 'रिच र नटी' स्वादका लागि परिचित याक चिजलाई बालेनले "डीडीसीको चिज" भन्दै अपनत्व ग्रहण गरिदिँदा आम उपभोक्तामा पनि "आफ्नै देशको उत्पादन प्रयोग गर्नुपर्छ" भन्ने भावना जागृत भएको देखिन्छ।

यसअघि पनि बालेनले स्थानीय उत्पादन, कला र संस्कृतिको प्रवर्द्धनमा चासो देखाउँदै आएका थिए। तर, यो पटकको उनको प्रत्यक्ष प्रभाव प्रत्यक्ष रूपमा आर्थिक तथ्याङ्कमा देखियो। यसले के पुष्टि गर्छ भने, राजनीतिक नेतृत्वले चाहेमा केवल भाषणबाट मात्र होइन, आफ्ना साना आचरण र व्यवहारबाट पनि देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउन सक्छन्।

 के यो प्रभाव टिकिरहला?

माग बढ्नु एउटा सुखद पक्ष हो। तर डीडीसीका लागि यो एउटा ठूलो चुनौती पनि हो। महाप्रबन्धकका अनुसार अहिले संस्थानसँग पर्याप्त धुलो दूध, बटर र पनीर स्टकमा छ। तर, के डीडीसीले यो अचानक बढेको मागलाई गुणस्तरीय रूपमा निरन्तरता दिन सक्ला ?

यदि उपभोक्ताले बालेनको विश्वासमा चिज किन्दा त्यसको गुणस्तर खराब भेट्टाए वा प्याकेजिङ चित्तबुझ्दो भएन भने, यो 'बालेन इफेक्ट' प्रत्युत्पादक पनि हुन सक्छ। त्यसैले डीडीसीले अब आफ्नो प्याकेजिङ, लेबलिङ र ब्रान्डिङमा आमूल परिवर्तन गर्नुपर्ने बेला आएको छ। पुराना मेसिनरी र झन्झटिलो कार्यशैलीलाई सुधार गरेर यो अवसरलाई स्थायी सफलतामा बदल्नु डीडीसीको दायित्व हो।

निष्कर्ष: 

बालेन शाह र डीडीसीको यो प्रकरणले एउटा कुरा स्पष्ट पारेको छ– अबको विज्ञापन ठूला-ठूला होर्डिङ बोर्ड वा रेडियोका जिंगलमा मात्र सीमित छैन। डिजिटल दुनियाँमा एउटा प्रभावशाली व्यक्तित्वले दिने 'प्रामाणिक सुझाव' (Authentic Recommendation) मा करोडौंको विज्ञापनभन्दा बढी तागत हुन्छ।

डीडीसीले बालनलाई १ रुपैयाँ पनि नतिरी जुन 'Earned Media Value' प्राप्त गर्‍यो, त्यो नेपालको विज्ञापन इतिहासमा एउटा महत्वपूर्ण मोड हो। किसानको बक्यौता तिर्न संघर्ष गरिरहेको एउटा सरकारी संस्थानका लागि यो एउटा सुनौलो अवसर हो। बालेनले "से चिज" भन्दै बाटो देखाइदिएका छन्। अब त्यो बाटोमा हिँडेर किसानको अनुहारमा हाँसो ल्याउने र संस्थानलाई नाफामा लैजाने काम डीडीसीको व्यवस्थापनको काँधमा छ।

अन्त्यमा, यदि एउटा तस्बिरले बिक्री ३०० प्रतिशतले बढाउन सक्छ भने, नेपालका सबै सार्वजनिक व्यक्तित्वहरूले स्वदेशी उत्पादनलाई यसरी नै प्रवर्द्धन गर्ने हो भने देशको व्यापार घाटा कम गर्न र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न धेरै समय लाग्ने छैन। बालेन र डीडीसीको यो सहकार्य 'Earned Media Value' को एउटा यस्तो सफल 'केस स्टडी' बनेको छ, जसलाई आगामी दिनमा मार्केटिङका विद्यार्थी र नीति निर्माताहरूले पक्कै पनि अध्ययन गर्नेछन्।