नेप्सेका पूर्व सीईओ शङ्करमान सिंहको निधन: पूँजी बजार र आर्थिक क्षेत्रमा अपूरणीय क्षति

May 21, 2026 01:04 PM merolagani



नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पूर्वप्रमुख कार्यकारी अधिकृत शङ्करमान सिंहको निधन भएको छ। सिंहको गएराति आकस्मिक हृदयघातका कारण निधन भएको पारिवारिक सदस्यहरूले जानकारी दिएका छन्। उनी लामो समयदेखि नेपालको पूँजी बजारको विकास र आर्थिक नीति विश्लेषणमा सक्रिय रहँदै आएका थिए।

शङ्करमान सिंहले वि.सं. २०६४ देखि २०६८ सम्म नेप्सेको प्रमुख कार्यकारी अधिकृतका रूपमा नेतृत्व सम्हालेका थिए। उनको कार्यकालमा नेपालको शेयर बजारमा लगानीकर्ताको पहुँच बढाउने विषयमा महत्त्वपूर्ण खुड्किलाहरू तय भएका थिए। नेप्सेबाट बिदा भएपछि उनको प्रशासनिक अनुभवलाई कदर गर्दै सरकारले २०७० साल असारमा उनलाई 'विशेष आर्थिक क्षेत्र (SEZ) विकास समिति'को कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। सेजमा रहँदा उनले नेपालमा निर्यातजन्य उद्योगहरूको प्रवर्द्धन र औद्योगिक वातावरण निर्माणमा उल्लेख्य भूमिका निर्वाह गरे।

सिंह एक कुशल प्रशासक मात्र नभई प्रखर आर्थिक विश्लेषक र लेखक पनि थिए। उनले नेपालका प्रमुख राष्ट्रिय दैनिकहरूमा आर्थिक, वित्तीय र पूँजी बजारका समसामयिक विषयमा सयौँ विश्लेषणात्मक लेखहरू लेखेका छन्। जटिल आर्थिक मुद्दाहरूलाई सरल भाषामा बुझाउन सक्ने उनको क्षमताका कारण उनी नीति-निर्माता र पाठकमाझ उत्तिकै लोकप्रिय थिए।

सिंहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरूमा रहेर पनि लामो समय सेवा गरेका थिए। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको आर्थिक सम्भावनाका बारेमा धेरै कार्यपत्रहरू प्रस्तुत गरेका थिए। उनी स्पष्ट वक्ता र भिजिनरी नेतृत्वका रूपमा परिचित थिए।

उनको आकस्मिक निधनले नेपालको पूँजी बजार, आर्थिक पत्रकारिता र प्रशासनिक क्षेत्रमा एउटा ठूलो रिक्तता सिर्जना भएको छ। पूँजी बजारका विज्ञहरूले उनलाई एक 'संस्थागत मार्गदर्शक'का रूपमा स्मरण गरेका छन्। सिंहको योगदान नेपालको आर्थिक इतिहास र पूँजी बजारको विकासक्रममा सधैँ स्मरणीय रहनेछ।




‘देशमै बस्नुभन्दा भारत गएर बस्दा सुरक्षित महसुस हुन्छ’

May 17, 2026 02:36 PM

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।