नेप्से परिसूचक २९५०.१६ को ऐतिहासिक विन्दुको नजिक पुगेर लगानीकर्तालाई ‘बुल रन’ को मिठो सपना देखाइरहेको थियो। ठ्याक्कै भोलिपल्ट चैत १३ गते, राम नवमीको शुभ साइतमा नयाँ मन्त्रिमण्डलले शपथ लियो। लगानीकर्ताहरूले सोचेका थिए– अब अर्थतन्त्रमा ‘युवा जोश’ आउनेछ। नीतिगत गाँठो फुक्नेछ र शेयर बजारले ३००० को मनोवैज्ञानिक सीमा पार गर्नेछ। तर, राजनीति र बजारको सोचेजस्तो सम्बन्ध सधैँ हुँदैन। आज जेठ १२ गते, नयाँ सरकार गठन भएको ठिक्क दुई महिना अर्थात् ६० दिन पुगेको छ। यी ६० दिन शेयर बजारका लागि निक्कै रोमाञ्चक बन्यो। गएको ६० दिनको यो अवधिमा शेयर बजारमा उत्साह, त्रास, गिरफ्तारी र अन्योलको एउटा लामो श्रृङ्खला नै चल्यो।
चैत १२ को २९५०.१६ विन्दुबाट सुरु भएको यो यात्रा आज जेठ १२ मा २७८६.३५ विन्दुमा आइपुगेको छ। यस अवधिमा शेयर बजारले समग्रमा १६३.८१ अंक गुमाएको छ। यो ६० दिनको अवधिमा बजार धेरै पटक २७०० को विन्दुसम्म झर्यो। लगानीकर्ताको अर्बौँको सम्पत्तिमा ह्रास आयो। जसको मुख्य कारण राजनीतिक र प्रशासनिक कदमहरूबाट सिर्जना भएको त्रास र अन्योल नै थियो।
सरकारको दुई महिना पुगेकै दिन आज जेठ १२ गते बिहान शेयर बजार मापक नेप्से सूचक २७८६.३५ अंकमा छ। गएको दुई कारोबार दिन शेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ। हिजो मात्रै नेप्से परिसूचक २७.८५ अङ्क (१.००%) ले बढेर २७८६.३५ विन्दुमा पुगेको हो। आज यही बिन्दुबाट पुनः कारोबार सुचारु हुने छ। पछिल्लो समय सुस्ताउँदै गएको कारोबार रकममा हिजो उल्लेख्य वृद्धि देखिएको थियो। हिजो मात्रै ५ अर्ब ९८ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भए।
सरकार गठनको सुरुवाती दिनमै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक लगायतलाई पक्राउ गरिएपछि शेयर बजार तरंगित भयो। तर, बजारलाई वास्तविक झट्का तब लाग्यो, जब व्यापारिक घरानाका ‘दिग्गज’ हरूमाथि सरकारको डण्डा चल्यो। बिचौलिया व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, शंकर अग्रवाल र उद्योगी शेखर गोल्छा जस्ता ठुला नामहरू धितोपत्र कसुर र सम्पत्ति शुद्धीकरणको आरोपमा समातिए। यद्यपि गोल्छा पछि छुटे, तर सन्देश प्रस्ट थियो— ‘अब पुराना खेलाडीहरूको दिन सकियो ।’
यी गिरफ्तारीहरूले शेयर बजारका ठुला लगानीकर्ताहरूलाई नराम्ररी झस्कायो। धितोपत्र बोर्डले नै भट्ट र अग्रवालको बदमासीबारे प्रतिवेदन सार्वजनिक गरेपछि त झन् ‘भोलि मेरो पालो पो हो कि ?’ भन्ने डरले ठुला लगानीकर्ता ‘पर्ख र हेर’ को स्थितिमा पुगे। जब बजारका मुख्य चालकहरू नै निष्क्रिय बन्छन्। तब बजार सुस्त हुनु स्वाभाविक थियो। यो दुई महिना ठुला लगानीकर्ताका लागि ‘लगानी गर्ने’ समयभन्दा पनि ‘आफूलाई सुरक्षित राख्ने’ समय बन्यो।
लगानीकर्ताको आत्मविश्वास डगमगाएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चैत २३ मा एउटा स्पष्टीकरण नै दिनुपर्यो– “सरकारको उद्देश्य सबैलाई थुन्ने होइन, दोषीलाई नछाड्ने मात्र हो ।” अर्थमन्त्रीको यो भनाइले बजारलाई थामथुम पार्ने कोसिस गरे पनि व्यावहारिक रूपमा लगानीकर्ता आश्वस्त हुन सकेनन्। बैंक सीईओ ज्योति प्रकाश पाण्डेको गिरफ्तारीले त झन् बैंकिङ क्षेत्र र शेयर बजारको सम्बन्धमा थप अन्योल थपिदियो। जसले शेयर बजारलाई थप सुस्त बनायो। शेयर बजारमा कारोबार रकम घटेर दुई वर्ष यताकै न्यून हुन पुग्यो। २० अर्ब भन्दा बढी कारोबार हुने बजारमा कारोबार रकम खुम्चिएर अढाई अर्बमा झर्यो।
६० दिनसम्म रनभुल्लमा परेको बजारमा पछिल्लो दुई दिनदेखि भने केही हरियो रङ देखिन थालेको छ। जेठ १५ मा आउन लागेको आगामी आर्थिक वर्षको बजेटलाई लिएर लगानीकर्तामा ‘झिनो आशा’ पलाएको छ। पछिल्ला दुई कारोबार दिनको वृद्धि यही ‘बजेट पूर्वको प्रतिक्रिया’ हो। अर्थमन्त्री वाग्लेले पूँजी बजारको ‘म्यासिभ रिफर्म’ गर्ने र धितोपत्रमैत्री नीति ल्याउने अपेक्षामा लगानीकर्ताहरू फेरि सक्रिय हुन खोज्दै छन्।
बालेन सरकारको पहिलो ६० दिन शेयर बजारका लागि खासै सुखद रहेन। बजार ‘शुद्धीकरणको सकस’मा पर्यो। ठुला लगानीकर्ताको मौनता र सरकारको कडा कदमले बजारलाई रक्षात्मक अवस्थामा पुर्यायो। यदि बजेटले नीतिगत स्थिरता र करको अन्योल चिर्न सक्यो भने, यो ६० दिनको ‘पर्ख र हेर’ को सकस आगामी दिनमा एउटा ठुलो उछालको आधार बन्न सक्छ। अन्यथा, ६० दिनको यो निराशा थप लम्बिन सक्ने जानकारहरूको विश्लेषण छ।