जीवन बीमा कम्पनीहरूको झन्डै ९ खर्बको लगानीः मुद्दती निक्षेपमै साढे ५ खर्ब, उत्पादनशील क्षेत्र सधैं ओझेलमा

May 26, 2026 05:45 PM Merolagani



नेपालका जीवन बीमा कम्पनीहरूले सर्वसाधारणबाट संकलन गरेको अर्बौं रुपैयाँ लगानी गर्ने सवालमा अझै पनि ‘परम्परागत र अनुदार’ बाटोमै रमाइरहेको देखिएकाे छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक वित्तीय विवरणले जीवन बीमा कम्पनीहरुको ९ खर्बकाे लगानी पोर्टफोलियोकाे ठुलाे हिस्सा सुरक्षित मानिने बैंकको मुद्दती निक्षेपमै थुप्रिएको छ।

प्राधिकरणको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूको कुल लगानी ८ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। तर, यो विशाल पुँजीको ठूलो हिस्सा अर्थात् ६२ प्रतिशतभन्दा बढी रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमै थन्किएको छ।

मुद्दती निक्षेपको मोहः ५ खर्ब ४९ अर्ब बैंकमै

जोखिम लिन नचाहने र स्थिर ब्याजको लोभमा पर्ने बीमा कम्पनीहरूको प्रवृत्ति चैत मसान्तसम्मको तथ्याङ्कले स्पष्ट पार्छ। जीवन बीमा कम्पनीहरूले ‘क’ वर्गका वाणिज्य बैंकहरूको मुद्दती निक्षेपमा मात्रै ५ खर्ब ४२ अर्ब ७५ लाख रुपैयाँ राखेका छन्। त्यस्तै, पूर्वाधार बैंकको ७ अर्ब १७ करोडसहित कुल ५ खर्ब ४९ अर्ब ९२ करोड रुपैयाँ मुद्दती निक्षेपमा परिचालन भएको छ।

नियामकले कम्तीमा ३० प्रतिशत लगानी मुद्दतीमा हुनुपर्ने सीमा तोके पनि बीमा कम्पनीहरूले त्यसको दोब्बरभन्दा बढी हिस्सा (६२.८३ प्रतिशत) यही क्षेत्रमा खन्याएका छन्। विकास बैंक र वित्त कम्पनीहरूको मुद्दती निक्षेपमा समेत गरी करिब साढे ६ अर्ब थप लगानी छ।

सरकारी ऋणपत्रमा न्यून चासो, नीतिगत व्यवस्थाको उपेक्षा

नीतिगत रूपमा बीमा कम्पनीहरूले सरकारी बचतपत्र वा ऋणपत्रमा न्यूनतम ३५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था छ। तर, तथ्याङ्कले यो व्यवस्थाको कार्यान्वयन फितलो देखाउँछ। सरकारी ऋणपत्रहरूमा बीमा कम्पनीहरूको कुल लगानी ६९ अर्ब ७४ करोड रुपैयाँ मात्र छ। नेपाल लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनी बाहेक अन्य कम्पनीहरूले यस क्षेत्रमा न्यून लगानी गरेर पोर्टफोलियो सन्तुलनमा ध्यान नदिएको देखिन्छ।

नेपाल लाइफः एक्लैको २ खर्ब ४५ अर्बको ‘होल्ड’

बजारमा निजी क्षेत्रको दबदबा कायम राखेको नेपाल लाइफ इन्स्योरेन्स लगानीको आकारमा सबैभन्दा अगाडि छ। वित्तीय बजारमा परिचालन भएको कुल लगानीमध्ये नेपाल लाइफ एक्लैले २ खर्ब ४५ अर्ब ९० करोड रुपैयाँ ओगटेको छ। यो कुल जीवन बीमा लगानीको झण्डै २८ प्रतिशत हिस्सा हो।

शेयर बजार र डिबेन्चरमा १ खर्ब ४२ अर्ब

दोस्रो बजार र बैंकहरूको ऋणपत्र (डिबेन्चर) तर्फ भने बीमा कम्पनीहरूको केही सक्रियता देखिएको छ। सूचीकृत कम्पनीहरूको साधारण शेयरमा ४६ अर्ब ११ करोड र बैंक तथा वित्तीय संस्थाको ऋणपत्र एवं अग्राधिकार शेयरमा ७७ अर्ब ७९ करोड रुपैयाँ लगानी भएको छ। अन्य सूचीकृत बण्डहरूमा समेत गरी कुल १ खर्ब ४२ अर्ब बढी रकम पुँजी बजार र ऋणपत्रको क्षेत्रमा परिचालन भएको देखिन्छ।

उत्पादनशील क्षेत्र अझै उपेक्षित

देशको अर्थतन्त्रलाई गति दिने जलविद्युत्, कृषि, पर्यटन र पूर्वाधार जस्ता क्षेत्रमा भने बीमा कम्पनीहरूको लगानी अझै ‘हात्तीको मुखमा जिरा’ जस्तै छ। सरकारले यी क्षेत्रमा लगानी बढाउन प्रोत्साहन गरे पनि बीमा कम्पनीहरूले जम्मा १३ अर्ब ५७ करोड रुपैयाँ मात्र यता खर्चिएका छन्। जुन कुल लगानीको डेढ प्रतिशत हाराहारी मात्रै हो।

त्यस्तै, रियल स्टेटमा ७५ करोड, म्युचुअल फण्डमा १० अर्ब र इन्भेष्टमेन्ट कम्पनीहरूमा ३ अर्ब १८ करोड रुपैयाँ लगानी भएको छ।

बीमा कम्पनीहरूले संकलन गरेको लामो अवधिको पुँजीलाई उत्पादनशील र पूर्वाधारका क्षेत्रमा परिचालन गरी अर्थतन्त्रलाई टेवा पुर्याउनुपर्नेमा ब्याजको सुरक्षित खेल (मुद्दती निक्षेप) मा मात्र केन्द्रित भएकाे देखिन्छ। नियामकको कठोरता र कम्पनीहरूको विविधीकरण रणनीतिबिना यो विशाल पुँजीले राष्ट्रिय विकासमा ठोस योगदान पुर्याउन सक्दैन ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।