केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूको अधिक तरलता खिच्न प्रयोग गरिने ‘स्थायी निक्षेप सुविधा’ (एसडीएफ) को व्यवस्थामा पुनरावलोकन गर्दै उक्त व्यवस्था गरेको हो। २०८३ जेठ १३ गतेदेखि लागू हुने गरी अब यो सुविधा प्रत्येक दिन उपलब्ध गराउने घोषणा गरेको छ। नयाँ व्यवस्थाअनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंक खुलेको प्रत्येक दिन बैंकिङ कारोबार समयभित्र स्थायी निक्षेप सुविधा प्रयोग गर्न पाउनेछन्। यसअघि यो सुविधा हप्ताको निश्चित २ दिन मात्र उपलब्ध हुने गरेकोमा अब बैंकहरूले आफ्नो आवश्यकताअनुसार हरेक दिन अधिक तरलता राष्ट्र बैंकमा राख्न सक्नेछन्। यसरी राखिएको निक्षेपको सावाँ र ब्याज रकम भोलिपल्ट अपराह्न ३ बजेपछि सम्बन्धित बैंकको खातामा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ।
स्थायी निक्षेप सुविधा नेपालमा तुलनात्मक रूपमा नयाँ उपकरण हो। यसअघि राष्ट्र बैंकले यो सुविधा हप्तामा दुई पटक (सामान्यतया आइतबार र बुधबार) मात्र बोलकबोलमार्फत वा निश्चित समयका लागि उपलब्ध गराउँदै आएको थियो। बैंकहरूसँग धेरै पैसा थुप्रिए पनि राष्ट्र बैंकले सूचना जारी नगरेसम्म उनीहरूले पैसा राख्न पाउँदैनथे। तर, ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन राष्ट्र बैंकले गत फागुनदेखि यसलाई स्थायी प्रकृतिको बनाएको थियो र अहिले आएर यसलाई ‘दैनिक’ उपलब्ध गराउने निर्णय गरेको हो।