आर्थिक सर्वेक्षणको तथ्यंकले देशभर ३२ हजार तीन सय २५ सहकारी संस्थाहरू सञ्चालनमा उल्लेख गरेको छ। यी संस्थाहरूको कुल शेयर पुँजी एक खर्ब ४३ अर्ब २९ करोड रुपैयाँ पुगेको छ भने १० खर्ब २९ अर्ब ५७ करोड रुपैयाँ बचत परिचालन भएको छ । साथै, नौ खर्ब पाँच अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह भएको सर्वेक्षणले देखाएको छ । सहकारी क्षेत्रले हालसम्म ८२ हजार २ सय १६ जनालाई प्रत्यक्ष रोजगारी समेत प्रदान गरेको छ ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले ८३४ सहकारीलाई सञ्चालन इजाजत प्रदान गरेको छ। कोपोमिसमा १९ हजार ९ सय तीन संस्थाहरू आबद्ध भएका छन् । सरकारले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीका लागि नयाँ मापदण्ड २०८२ समेत जारी गरेको छ ।
यद्यपि, सहकारी क्षेत्रमा समस्या पनि उत्तिकै देखिएको छ । समस्याग्रस्त घोषित २३ सहकारीमध्ये हालसम्म तीज वटाको मात्र राफसाफ भएको छ । बाँकी २० संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीको प्रक्रिया बाँकी नै छ । कुल ४७ अर्ब ६० करोड १३ लाख रुपैयाँ माग दाबी गर्ने ८० हजार ८७ दाबीकर्तामध्ये हालसम्म ३ हजार ६ सय ८८ जनाले २ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ मात्र फिर्ता पाएका छन् ।