२१ खर्ब २४ अर्बको बजेट: संघीयता सुदृढीकरण र उत्पादनमा जोड, प्रदेश र स्थानीय तहमा ६ खर्बभन्दा बढी हस्तान्तरण

May 29, 2026 05:54 PM Merolagani



नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको विशाल बजेट सार्वजनिक गरेको छ।

संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको यो बजेट चालु आर्थिक वर्षको संशोधित अनुमानको तुलनामा २५ प्रतिशतले बढी हो। सरकारले बजेटमार्फत उत्पादन वृद्धि, डिजिटल रूपान्तरण र संघीयताको कार्यान्वयनलाई मुख्य प्राथमिकतामा राखेको छ।

बजेटको आकार र खर्चको संरचना

कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको विनियोजनमध्ये सरकारले चालु तर्फ अर्थात् प्रशासनिक र साधारण खर्चका लागि १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेको छ। यो कुल बजेटको ५९.८ प्रतिशत हो।

त्यसैगरी, विकास निर्माण र भौतिक पूर्वाधारमा खर्च गरिने पुँजीगत तर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ अर्थात् कुल बजेटको २०.३ प्रतिशत विनियोजन गरिएको छ। वित्तीय व्यवस्थापन तर्फ भने ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ (१९.९ प्रतिशत) छुट्याइएको छ। पुँजीगत खर्च र वित्तीय व्यवस्थापनको अनुपात झन्डै बराबर देखिनुले सरकारलाई ऋणको सावाँ-ब्याज भुक्तानीको चाप बढ्दै गएको सङ्केत गर्दछ।

स्रोत व्यवस्थापन र घाटा पूर्ति

आगामी आर्थिक वर्षको खर्च बेहोर्ने स्रोतका लागि सरकारले राजस्वबाट १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ उठाउने लक्ष्य राखेको छ। यसैगरी, वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। राजस्व र अनुदानबाट मात्र बजेटको ठूलो हिस्सा बेहोर्न नसकिने भएपछि ६ खर्ब ५७ अर्ब २९ करोड रुपैयाँ बजेट न्यून (घाटा) हुने देखिएको छ।

उक्त घाटा पूर्ति गर्न सरकारले वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब २८ करोड रुपैयाँ र आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब रुपैयाँ संकलन गर्ने योजना बनाएको छ। यद्यपि, आन्तरिक ऋणको सावाँ भुक्तानीमा २ खर्ब ४५ अर्ब ८९ करोड खर्च हुने भएकाले खुद आन्तरिक ऋण परिचालन १ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ मात्र हुने अर्थमन्त्रीले स्पष्ट पार्नुभएको छ।

संघीयताको कार्यान्वयन: प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण

बजेटको अर्को महत्वपूर्ण पक्ष भनेको प्रदेश र स्थानीय तहमा गरिएको वित्तीय हस्तान्तरण हो। संविधानको धारा ६० अनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा सरकारले तल्लो तहलाई चार प्रकारका अनुदान र राजस्व बाँडफाँडमार्फत ठूलो रकम पठाउने भएको छ।

१. वित्तीय समानीकरण अनुदान:
न्यूनतम आवश्यकता र विकासका सूचकाङ्कका आधारमा प्रदेशका लागि ६१ अर्ब ५० करोड र स्थानीय तहका लागि ९० अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको छ।

२. सशर्त अनुदान:
संघीय सरकारले तोकेका योजना कार्यान्वयनका लागि प्रदेशलाई ३९ अर्ब ७२ करोड र स्थानीय तहलाई २ खर्ब ६ अर्ब ८ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो अनुदानको सबैभन्दा ठूलो हिस्सा हो।

३. समपूरक र विशेष अनुदान:
पूर्वाधार आयोजना कार्यान्वयनका लागि समपूरक अनुदान तर्फ प्रदेशलाई ४ अर्ब ६० करोड र स्थानीय तहलाई ८ अर्ब ९३ करोड रुपैयाँ छुट्याइएको छ। विशेष अनुदान अन्तर्गत प्रदेशले ३ अर्ब ८२ करोड र स्थानीय तहले ९ अर्ब ४० करोड रुपैयाँ प्राप्त गर्नेछन्।

४. राजस्व बाँडफाँड र रोयल्टी:
प्रदेश र स्थानीय तहलाई राजस्व बाँडफाँडबाट कुल १ खर्ब ७५ अर्ब रुपैयाँ हस्तान्तरण हुने अनुमान छ। रोयल्टी र अन्य वित्तीय हस्तान्तरण समेत जोड्दा प्रदेश र स्थानीय तहमा कुल ६ खर्ब रुपैयाँभन्दा बढी रकम परिचालन हुने प्रक्षेपण सरकारले गरेको छ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।