संघीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजामती, जङ्गी, प्रहरी, शिक्षक तथा सार्वजनिक सेवामा रहेका सबै कर्मचारीहरूको आधारभूत तलब १० प्रतिशतले बढाउने घोषणा गरे।
विगत चार वर्षदेखि कर्मचारीहरूको तलब वृद्धि नभएको र बजारमा महँगी अत्यधिक बढेको दबाबका बीच अर्थमन्त्री वाग्लेले यसपटक कर्मचारीहरूलाई राहत दिने गरी नयाँ तलबमान र प्रोत्साहन भत्ताको प्याकेज ल्याए।
बजेटको नयाँ व्यवस्था: आधारभूत तलब, प्रोत्साहन र महँगी भत्ता
अर्थमन्त्री वाग्लेले बजेट भाषणका क्रममा “पछिल्लो चार वर्षदेखि राष्ट्रसेवक कर्मचारीहरूको तलब वृद्धि नभएको र यो अवधिमा मूल्यवृद्धि १७.३ प्रतिशत पुगेकाले कर्मचारीहरूको मर्यादित जीवनयापनका लागि पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ” वाग्लेले भने।
नयाँ व्यवस्था अनुसार कर्मचारीहरूको आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरिएको छ। यति मात्र नभई, सरकारले पहिलो पटक ‘कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणाली’को सुरुवात गर्दै नयाँ वृद्धि गरिएको आधारभूत तलबको थप १० प्रतिशत ‘मासिक प्रोत्साहन भत्ता’को समेत व्यवस्था गरेको छ। कर्मचारीहरूले हाल पाइरहेको एकमुष्ट ५ हजार रुपैयाँ महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ। यी सबै व्यवस्था जोड्दा तल्लो तहका कर्मचारीको कुल पारिश्रमिकमा करिब २१ प्रतिशतसम्मको वृद्धि देखिने अर्थमन्त्रीले दाबी गरे।
कुन तहको तलब अब कति पुग्यो ?
बजेट वक्तव्यसँगै सार्वजनिक गरिएको नयाँ तलबमान अनुसार मुख्यसचिवको पारिश्रमिकमा ठूलो बढोत्तरी भएको छ ।
मुख्यसचिव र सचिव स्तर:
अहिले ७७ हजार २११ रुपैयाँ आधारभूत तलब खाइरहेका मुख्यसचिवको नयाँ आधारभूत तलब ८४ हजार ९३२ रुपैयाँ पुगेको छ । यसमा १० प्रतिशत प्रोत्साहन भत्ता (८,४९३ रुपैयाँ) र ५ हजार महँगी भत्ता थपिँदा उनको कुल मासिक पारिश्रमिक ९८ हजार ४२५ रुपैयाँ पुगेको छ। त्यस्तै, सचिवहरूको कुल पारिश्रमिक ९२ हजार २१९ रुपैयाँ पुगेको छ।
सहसचिव र उपसचिव स्तर:
सहसचिवहरूको आधारभूत तलब ६२ हजार ४६५ रुपैयाँ पुगेको छ र प्रोत्साहन भत्ता तथा महँगी भत्ता सहित उनीहरूले मासिक ७३ हजार ७१२ रुपैयाँ बुझ्नेछन् । उपसचिवहरूको कुल पारिश्रमिक अब ६३ हजार ९७१ रुपैयाँ हुनेछ ।
अधिकृत र सहायक स्तर:
शाखा अधिकृतहरूको कुल पारिश्रमिक ५७ हजार ८६२ रुपैयाँ पुगेको छ भने नायब सुब्बा (नासु) को ४७ हजार २३ रुपैयाँ र खरिदारको ४४ हजार ८१० रुपैयाँ पुगेको छ ।
कार्यालय सहयोगी (सहायक) स्तर:
सबैभन्दा तल्लो तहका कर्मचारीहरू अर्थात् कार्यालय सहयोगीहरूको पारिश्रमिकमा पनि उल्लेख्य सुधार आएको छ । यसअघि २७ हजार ६११ आधारभूत तलब पाइरहेका सहायकहरूको तलब अब ३० हजार ३७२ रुपैयाँ पुगेको छ । महँगी भत्ता र प्रोत्साहन भत्ता सहित उनीहरूको हातमा अब मासिक ३८ हजार ४०९ रुपैयाँ पुग्नेछ ।
अवकाशप्राप्त कर्मचारी र पेन्सनमा प्रभाव
बजेटले पेन्सन पाउने पूर्वकर्मचारीहरूलाई पनि सम्बोधन गरेको छ । पेन्सन प्राप्त गर्नेहरूको हकमा आधारभूत तलबमा भएको वृद्धिको दुई तिहाइ हिस्सा थप हुने व्यवस्था गरिएको छ । यस अनुसार पूर्वमुख्यसचिवहरूको पेन्सन मासिक करिब ५ हजार रुपैयाँले बढ्ने देखिएको छ भने अन्य अवकाशप्राप्त कर्मचारीहरूको हकमा उनीहरूको सेवा अवधि र स्केल अनुसार पेन्सन वृद्धि हुनेछ ।
चार वर्षपछिको सुखद समाचार
२०७९ सालको बजेटले १५ प्रतिशत तलब बढाएयता कर्मचारीहरूको तलबमा कुनै वृद्धि भएको थिएन । गत वर्ष सरकारले एकमुष्ट ५ हजार महँगी भत्ता दिए पनि आधारभूत तलबमान परिवर्तन नगर्दा कर्मचारीहरू निराश थिए । अर्थमन्त्री वाग्लेले यस पटकको बजेटमार्फत मूल्यवृद्धिको अनुपातमा कर्मचारीको क्रयशक्ति कायम राख्न खोजेको बताए।
अन्य सेवामा पनि लागू हुने
सरकारको यो निर्णय निजामती कर्मचारीमा मात्र सीमित छैन। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सरकारी शिक्षक र सार्वजनिक संस्थानका कर्मचारीहरूको तलब पनि यही अनुपातमा बढ्नेछ। सरकारले केही दिनभित्रै सबै सेवा समूहको विस्तृत तलबमान सार्वजनिक गर्ने तयारी गरेको छ।