९ बुँदे कार्ययोजना पारित गर्दै सामाजिक व्यवसायसम्बन्धी नेपाल कन्ट्री फोरम २०२६ सम्पन्न

May 31, 2026 02:45 PM Merolagani



स्वावलम्बन विकास केन्द्रको आयोजनामा ‘सामाजिक व्यवसायः खण्डित विश्वमा शान्तिको भाषा’ भन्ने मूल नाराका साथ ‘१६औं सामाजिक व्यवसाय दिवस, नेपाल कन्ट्री फोरम २०२६’ काठमाडौँमा सम्पन्न भएको छ । 

आगामी जुन २७–२८ मा युनुस सेन्टर र ग्रामीण समूहको सहकार्यमा आयोजना हुने विश्वव्यापी सामाजिक व्यवसाय दिवसको पृष्ठभूमिमा यो नेपाल फोरम आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा. गुणाकर भट्टले परम्परागत दियो (पानस) बालेर गरेका थिए ।

कार्यक्रममा नोबेल शान्ति पुरस्कार विजेता प्राध्यापक मुहम्मद युनुसको ३ शून्य अर्थात् शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनको अवधारणामा केन्द्रित रही साझेदार संस्थाहरूले अपनाएका रणनीति र हासिल गरेका उपलब्धिहरूमाथि गहन छलफल गरेका थिए । उद्घाटन मन्तव्य राख्दै प्रमुख अतिथि डा. गुणाकर भट्टले वित्तीय समावेशीकरण र उद्यमशीलता विकासको माध्यमबाट गरिबीको समाधान गर्न सकिने बताए । लघुवित्तले महिला सशक्तीकरण, सामाजिक समावेशीकरण र गरिबी निवारण जस्ता आधारभूत समस्यालाई सम्बोधन गर्न सक्ने उल्लेख गर्दै उनले वित्तीय संस्था, गैरसरकारी संस्था, नेपाल राष्ट्र बैंक र नागरिक समाजको सहकार्यात्मक दृष्टिकोण आवश्यक रहेको कुरामा जोड दिए ।

नेपाल कन्ट्री फोरम आयोजक समितिका अध्यक्ष एवं स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्त संस्थाहरू घ वर्गका वित्तीय संस्थाका रूपमा वर्गीकरण भएपछि नाफामुखी संस्था भए तापनि सामाजिक–आर्थिक रूपान्तरणका लागि गरिबहरूसँग नाफा बाँडफाँड गर्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखे। उनले विपन्न वर्गका लागि २०० भन्दा बढी बेड क्षमताको २ अर्ब रुपैयाँको लगानीमा ‘जीवन विकास अस्पताल’ निर्माण गर्न संस्थाको लाभांश प्रयोग गरिएको उदाहरण प्रस्तुत गरे । त्यस्तै, विशेष अतिथि ग्रामीण ट्रष्ट, बङ्गलादेशका कार्यकारी उपाध्यक्ष अब्दुल हाई खानले युवाहरू जागिर खोज्ने होइन, जागिर सिर्जना गर्ने बन्नुपर्ने भन्दै युवा स्वरोजगारी प्रवद्र्धन गर्न ३–जिरो क्लबको विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

फोरममा दुई वर्षे कार्ययोजनाको प्रगति, नेपालमा ३ शून्यको अवधारणा, ३ शून्य क्लबको अवस्था, युवा उद्यमशीलता, वातावरणमैत्री गाउँ (इको–भिलेज) निर्माण र गरिबहरूका लागि स्वास्थ्य सेवाको प्रवद्र्धनका विषयमा रणनीतिहरू प्रस्तुत गरिएका थिए । अनुभव आदानप्रदानका क्रममा उच्च माध्यमिक विद्यालयमा अध्ययनरत ३–जिरो क्लबका सदस्यहरूले वातावरण र जलवायु परिवर्तनको क्षेत्रमा आफ्नो सामूहिक प्रयासले शून्य खुद कार्बन उत्सर्जन हासिल गर्न योगदान पुग्ने आशा व्यक्त गरे।

शंकरमान श्रेष्ठको अध्यक्षतामा गठित चौध सदस्यीय सामाजिक व्यवसाय सम्मेलन आयोजक समितिले परिमार्जन गरेको दुई वर्षे रणनीतिक कार्ययोजना बैठकले पारित गरेको छ । फोरमले युवा रोजगारी, इको–भिलेज र सबैका लागि स्वास्थ्य सेवामा केन्द्रित रहँदै ९ बुँदे कार्ययोजना पारित गरेको हो । नेपाल कन्ट्री फोरमको यस गरिमामय कार्यक्रममा सरकारी निकाय, नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था, सहकारी र गैरसरकारी संस्थाहरू लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाका करिब १०० जना अधिकारीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।




शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।