प्रधानमन्त्री साहले नेपालको पनि भारतको धेरै भूमि मिचेको छ भनि दिएको अभिव्यक्ति राष्ट्रहित विपरित रहेको निष्कर्ष निकाल्दै संसदको रोष्टमबाट नै माफी माग्नुपर्ने माग उक्त पार्टीका सांसद आर्यन राईले गरेका हुन् । सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भारतले पनि हाम्रो भूमि फिर्ता गर भनेर माग्यो भने कुन भूमि फिर्ता दिने ? भनि प्रधानमन्त्री साहलाई प्रश्न पनि गरे । सांसद राईले नेपालले कुनै पनि मुलुकको भूमि नमिचेको पनि पटक पटक बताए। उनले प्रधानमन्त्री साहको उक्त अभिव्यक्तिले आफूलाई गहिरो दुखी र लज्जावोध गराएको पनि बताए।
सांसद राईले भने,‘प्रधानमन्त्रीको अभिव्यक्तिले मलाई गहिरो दुःख र लज्जावोध भइरहेको छ । नेपालको सार्वभौम सत्ता, स्वतन्त्रता र राष्ट्रिय एकता र भौगोलिक अखण्डता कुनै राजनीतिक दल, सरकार वा व्यक्तिको मात्रै विषय होइन । यो सम्पूर्ण नेपाली जनताको साझा भावना, संविधानको मूल मर्म र राष्ट्रको अस्तित्वसँग जोडिएको विषय हो । त्यसैले यस्ता संवेदनशील विषयमा व्यक्त गरिने अभिव्यक्ति सधैं स्पष्ट, जिम्मेवार र राष्ट्रहितको अनुकूलतामा हुनुपर्दछ । म यो सम्मानित सभामा भन्न चाहन्छु सभामुख महोदय, मलाई हाम्रो प्रधानमन्त्रीज्युले यस्तो कमजोर मिथ्या र तथ्यहीन हाम्रो प्रश्नको उत्तर दिनुहुन्थ्यो भन्ने लाग्थ्यो भने, त्यो थाहा थियो भने त्यो प्रश्ननै सोध्ने थिइन सभामुख महोदय । मलाई आज त्यो प्रश्न सोधेकोमा लज्जाबोध भइरहेको छ । त्यसैकारणले म भन्न चाहन्छु–सम्माननीय प्रधानमन्त्रीज्यूको त्यो रेकर्डबाट हटाउने कुरा मात्रै होइन, इतिहासमा यस्तो नजिर स्थापित भयो, भोली तिम्रो प्रधानमन्त्रीले नै भनेको हो, हाम्रो भूमि मिचेको हो, फिर्ता ल्याउ भन्छ भने कुन भूमि फिर्ता दिने सभामुख महोदय ? त्यसैले म भन्न चाहन्छु– जसरी संसदको रोष्टममा आएर प्रधानमन्त्रीले राष्ट्रको हित विपरित उहाँले अभिव्यक्ति दिनु भएको छ । यही आएर माफी मागेर आफनो शब्द फिर्ता लिनुपर्दछ ।’
सांसद राईले प्रधानमन्त्री साहले नेपालको इतिहासमा नै सबैभन्दा कमजोर, मिथ्या र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै आक्रोश पनि व्यक्त गरे।