बुटवल–पोखरा सडक विस्तारका दुई विकल्पः सुरुङमार्गको विकल्पमा जाँदा लागत महंगो, सडक चौडा गर्दा ३५ अर्बमै सम्भव

Jun 02, 2026 05:42 AM Merolagani



हरिप्रसाद शर्मा
सरकारले सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलदेखि पोखरासम्म पर्ने सडकलाई डेडिकेटेड डबल लेनमा स्तरोन्नति गर्न दुईवटा विकल्प अघि सारेको छ ।

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत सरकारले उक्त राजमार्गलाई स्तरोन्नति गर्न दुई वटा विकल्प अघि सारेको छ । पहिलो, पुरानो सिद्धार्थ राजमार्गलाई चौडा बनाएर स्तरोन्नति गर्ने ? वा त्यसखण्डमा धेरै घुम्ती र अग्ला पहाडबाट सडक जाने भएकाले कतिपय ठाउँमा सुरुङमार्ग बनाएर जान सकिन्छ कि भनेर सरकारले अध्ययन गरिरहेको छ ।

तर, सुरुङमार्गको संरचनामा जाँदा भने लागत बढी लाग्ने देखिन्छ । अर्थ मन्त्रालयका अनुसार, पुरानो सिद्धार्थ राजमार्गलाई नै चौडा(वाइडेन) बनाएर स्तरोन्नति गर्दा लागत ३५ अर्ब हुन आउँछ । तर, त्यही सडकखण्ड सुरुङमार्गको संरचनामा ‘एक्सप्रेस वे’ बनाउने हो भने झन्डै एक खर्ब लागत लाग्ने अर्थ मन्त्रालयको आकंलन छ । उक्त राजमार्ग स्तरोन्नति र विस्तारका लागि छिमेकी मुलुक चिनिँया दातृ निकाय चिनिँया एसियाली पूर्वाधार लगानी बैंक(एआइआइबी)ले ऋण लगानी गर्ने सुनिश्चितता भइसकेको छ ।

जसमध्ये यसअघि एआइआइबीले उक्त राजमार्ग प्रारम्भिक रुपमा अध्ययन र स्तरोन्नतिका लागि २ मिलियन अमेरिकी डलर अर्थात ३० करोड रुपैयाँ अनुदान रकम पहिलो चरणमा नेपालले स्वीकार गरिसकेको छ ।

सडक चक्ल्याउँदा नै लागत सस्तो

सरकारले बजेटमार्फत मुग्लिन–पोखरा, मुग्लिन–बुटवल र बुटवल देखि पोखरासम्म जोड्ने गरी त्रिभुज आकारको बाटो बनाउने लक्ष्य लिएको छ । त्यसअनुसार, दुईवटा सडकखण्ड निर्माणको अन्तिम चरणमा पुगेका छन् ।

तर, बुटवल–पोखरा सडकखण्ड विस्तार सुरुङमार्गसहितको संरचनामा निर्माण गर्दा लागत महंगो पर्न जाने देखिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि पुरानो सिद्धार्थ राजमार्गलाई चौडा बनाएर स्तरोन्नति गर्दा ३५ अर्ब लाग्ने बताएका छन् ।

तर, सुरुङमार्गको संरचनामा आधारित ‘एक्सप्रेस वे’ बनाउन भने ९७ अर्ब लाग्ने अनुमान गरिएको छ । हुन त यो राजमार्ग विस्तार गर्नका लागि पनि सरकारले दातृ निकायबाट ऋण नलिइ सुखै छैन् । दातृ निकायबाट ठूलो ऋण लिएर एक्सप्रेस हाइवे बनाउनुभन्दा कम लागतमा नै बनाउन सकिने विकल्पतर्फ जाँदा थप प्रभावकारी हुने सरोकारवाला निकायको भनाइ छ ।

यो वर्ष अध्ययन र तयारी, अर्को वर्ष निर्माण थालिने

सरकारले आगामी आर्थिक वर्षभित्र उक्त राजमार्गको विस्तारका लागि गर्नुपर्ने अध्ययन, पूर्वतयारीका काम र अन्य प्रक्रियाहरु सम्पन्न गर्ने लक्ष्य राखेको छ । एक्सप्रेस हाइवे बनाउने वा पुरानो सिद्धार्थ राजमार्गलाई नै चौडा बनाएर स्तरोन्नति गर्ने भन्ने टुंगो लगाएर अर्को वर्षदेखि निर्माण सुरु गर्ने लक्ष्य सरकारले लिएको छ ।

कुल १५७ किलोमिटर लामो उक्त राजमार्ग विस्तारको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । उक्त राजमार्ग आगामी ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो राजमार्गलाई सरकारले कृषि, पर्यटन र सडकको त्रिपक्षीय कनेक्टिभिटीले अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गरेको छ ।




शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।