नेपालमा बीमाको पहुँच ५० प्रतिशत नाघ्यो, बैशाख मसान्तसम्म संकलन भयो २ खर्बभन्दा बढी बीमाशुल्क

Jun 03, 2026 04:22 PM Merolagani



नेपालमा बीमा व्यवसायको दायरामा आधाभन्दा बढी जनसंख्या बीमाको पहुँचभित्र समेटिएका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को बैशाख मसान्तसम्मको सूचकांकअनुसार म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित नेपालको ५०.६६ प्रतिशत जनसंख्या बीमाको दायरामा आएको हो। 

प्राधिकरणको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिमा यो पहुँच ४७.३९ प्रतिशत मात्रै रहेको थियो। राष्ट्रिय तथ्याङ्क कार्यालयको २०७८ सालको जनगणनाको प्रतिवेदनमा आधारित जनसंख्या वृद्धि प्रक्षेपणका आधारमा गणना गरिएको यस तथ्यांकमा वैदेशिक रोजगार र म्यादी बीमालाई बाहेक गर्दा भने वास्तविक जीवन बीमाको पहुँच १८.४५ प्रतिशत मात्र पुगेको देखिन्छ, जुन अघिल्लो वर्ष १६.७७ प्रतिशत थियो।

बीमाको दायरा विस्तार भएसँगै कम्पनीहरूको व्यवसायमा पनि बलियो वृद्धि देखिएको छ। चालू आर्थिक वर्षको बैशाख मसान्तसम्ममा जीवन र निर्जीवन बीमा कम्पनीहरूले कुल २ खर्ब १ अर्ब ३६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा १४.२७ प्रतिशतको वृद्धि हो। यसमध्ये जीवन बीमा कम्पनीहरूले १ खर्ब ५९ अर्ब २६ करोड ५८ हजार बीमाशुल्क संकलन गरेका छन्, जसमा प्रथम जीवन बीमाशुल्क संकलन २६.७६ प्रतिशतले बढेर रु. ३९ अर्ब १७ करोड १२ लाख ६४ हजार र नवीकरण बीमाशुल्क १०.३७ प्रतिशतले बढेर एक खर्ब २० अर्ब ७९ करोड ४५ लाख ९७ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, निर्जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क संकलन पनि १५.४२ प्रतिशतले वृद्धि भई ४१ अर्ब ३९ करोड ५९ लाख ६२ हजार रुपैयाँ पुगेको प्राधिकरणको तथ्यांक छ।

बजारमा सक्रिय बीमालेखको संख्या बढ्नुले पनि बीमाप्रतिको आकर्षणलाई पुष्टि गर्छ। हाल कुल सक्रिय जीवन बीमालेखको संख्या ७.९६ प्रतिशतले बढेर १ करोड ६५ लाख २५ हजार ९ सय ४९ पुगेको छ भने कुल निर्जीवन बीमालेखको संख्या ६.१४ प्रतिशतले बढेर २८ लाख ३० हजार ६ सय ५२ पुगेको छ। यद्यपि, वैदेशिक रोजगार बीमालेखको संख्यामा भने ३.८९ प्रतिशतको गिरावट आई २४ लाख ४ हजार ४२ मा सीमित भएको देखिन्छ। प्राधिकरणका अनुसार यस तथ्याङ्कमा लघु जीवन र लघु निर्जीवन बीमा कम्पनीहरूको विवरणलाई समेत क्रमशः जीवन र निर्जीवन बीमामै समावेश गरेर गणना गरिएको छ।

व्यापारिक सूचकहरू सकारात्मक रहँदा बीमा कम्पनीहरूको भौतिक उपस्थिति र रोजगारीको अवस्थामा भने मिश्रित परिवर्तन देखिएको छ। बीमा कम्पनीहरूको कुल कार्यालय संख्या सामान्य घट्दै २ हजार ९९४ कायम भएको छ, जसमा जीवन बीमा कम्पनीका कार्यालयहरू घटेर १ हजार ८४० पुगेका छन् भने निर्जीवन बीमा कम्पनीका कार्यालयहरू सामान्य बढेर १ हजार १५४ पुगेका छन्। कार्यालय घटे पनि यस क्षेत्रमा कार्यरत कुल कर्मचारीको संख्या भने १.८६ प्रतिशतले बढेर १२ हजार ३ सय ८८ पुगेको छ, जसमा जीवन बीमातर्फ ६ हजार ९६ र निर्जीवन बीमातर्फ ६ हजार २९२ कर्मचारी कार्यरत रहेका छन्।




शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।