उफ..., कति गर्मी ! एल निनोका कारण विश्वव्यापी तापक्रम र वर्षाको ढाँचामा गम्भीर प्रभाव पार्ने चेतावनी

Jun 04, 2026 10:38 AM Merolagani



उखरमाउलो गर्मीले तराईको जनजीवन प्रभावित भएको छ । प्रचण्ड गर्मीले तराई जनजीवन कष्टकर बन्दैछ । जेठको सुरुवातसँगै गर्मी निरन्तर बढ्दै गएको छ । गर्मीले मजदुर, कृषक, विद्यार्थी तथा वृद्धवृद्धा बढि प्रभावित भएका छन् ।  प्रचण्ड गर्मीले गर्दा सर्वसाधारणहरु घर बाहिर निस्कनै छाडेका छन् । 

नेपालमा मात्र हाेइन, विश्वव्यापी रुपमा तापक्रम बढिरहेकाे छ । एल निनोका कारण विश्वव्यापी तापक्रम र वर्षाको ढाँचामा गम्भीर प्रभाव पार्ने चेतावनी विज्ञहरुले दिएका छन् ।एल निनो (El Niño) प्रशान्त महासागरको भूमध्यरेखीय क्षेत्रमा समुद्री सतहको पानी असामान्य रूपमा तातो हुने प्राकृतिक जलवायु घटना हो। यो सामान्यतया २–७ वर्षको अन्तरालमा देखा पर्न सक्छ र विश्वभरको मौसम प्रणालीमा प्रभाव पार्छ।

विश्व मौसम विज्ञान संगठन (डब्ल्युएमओ) ले प्रशान्त महासागरको उष्णकटिबंधीय क्षेत्रमा एल निनोको अवस्था विकसित भइरहेको र यसले आगामी महिनाहरूमा विश्वव्यापी तापक्रम र वर्षाको ढाँचामा गम्भीर प्रभाव पार्ने चेतावनी दिएको छ । यस प्राकृतिक मौसमी प्रणालीका कारण आगामी दिनहरूमा चरम मौसमी घटनाहरूको जोखिम उच्च रहने संगठनले जनाएको छ ।

जेनेभामा आयोजित एक पत्रकार सम्मेलनमा डब्ल्युएमओका महासचिव सेलेस्टे साउलोले सम्भावित शक्तिशाली एल निनो इभेन्टका लागि पूर्वतयारी गर्न आवश्यक रहेको बताए। डब्ल्युएमओको पछिल्लो अद्यावधिक प्रतिवेदनअनुसार सन् २०२६ को जुनदेखि अगस्ट महिनाको बीचमा एल निनो विकसित हुने सम्भावना ८० प्रतिशत रहेको छ । यो सम्भावना सेप्टेम्बरदेखि डिसेम्बरसम्मको अवधिमा ९० प्रतिशत पुग्ने विशेषज्ञहरूको अनुमान छ । यसअघि सन् २०२३–२०२४ मा देखिएको एल निनो इतिहासकै पाँच शक्तिशाली घटनाहरूमध्ये एक थियो, जसले सन् २०२४ मा विश्वव्यापी तापक्रमले नयाँ रेकर्ड कायम गर्न महत्वपूर्ण भूमिका खेलेको महासचिव साउलोले उल्लेख गरे ।

विभिन्न मुलुकका सरकार, मानवीय सहायता निकाय र जलवायु–संवेदनशील क्षेत्रहरूलाई समयमै सूचित गर्न डब्ल्युएमओले आगामी महिनाहरूमा मौसमी अवस्थाको सुक्ष्म अनुगमन गर्ने भएको छ । महासचिव साउलोका अनुसार सम्भावित जनधनको क्षति कम गर्न र एल निनोको प्रभावलाई न्युनिकरण गर्न मौसमी पूर्वानुमान र प्रारम्भिक चेतावनी प्रणाली अत्यन्त महत्त्वपूर्ण हुनेछन् ।

यसै सन्दर्भमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले एक भिडियो सन्देश जारी गर्दै एल निनोले बढ्दो विश्वव्यापी तापक्रमको समस्यालाई आगोमा घिउ थपे झैँ थप भयावह बनाउने बताए ।

महासचिव गुटेरेसले वर्तमान जलवायु संकटको प्रभावकारी समाधानका लागि जीवाष्म इन्धनको प्रयोग अन्त्य गर्न, नवीकरणीय ऊर्जाको विस्तारलाई तिब्रता दिन र सबैका लागि प्रारम्भिक चेतावनी प्रणाली सुनिश्चित गर्न विश्व समुदायसँग आग्रह गरेका छन् ।