अर्थात् एउटा जफत गाडीको फाइलमा एकैचोटी भन्सार, सवारी, फौजदारी, राजस्व र सम्पत्ति शुद्धीकरण सम्बन्धी ४–५ वटा कानुनसमेत आकर्षित हुन सक्छन्।
नेपालमा भन्सार छली गरेर ल्याइएका गाडीहरूको हकमा भने सामान्यतः भन्सार कानुन: सवारी तथा यातायात व्यवस्था ऐन, मुलुकी फौजदारी संहिता (किर्ते र ठगी भएमा) यी तीन कानुन सबैभन्दा धेरै प्रयोग हुने गरेका छन्।
भन्सार ऐन र भन्सार महसुल ऐन
यदि गाडी: भन्सार नतिरी ल्याइएको छ, चोरी–छिपी सीमा पार गराइएको छ,गलत मूल्याङ्कन (Under-invoicing) गरिएको छ, नक्कली कागजात प्रयोग गरिएको छ भने सबैभन्दा पहिले भन्सारसम्बन्धी कानुन लागू हुन्छ । यस्तो अवस्थामा गाडी जफत हुन सक्छ र जरिवाना तथा राजस्व असुल गरिन्छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९
यदि दर्ता नभएको गाडी छ, नक्कली नम्बर प्लेट प्रयोग गरिएको छ, इन्जिन वा च्यासिस नम्बरमा छेडछाड गरिएको छ, कानुनी दर्ता प्रक्रिया पूरा गरिएको छैन भने यो ऐन आकर्षित हुन्छ । यसमा पनि गाडी जफत देखि जरिवानासम्मको व्यवस्था छ ।
मुलुकी फौजदारी संहिता
यदि गाडी चोरीको हो, ठगी गरेर प्राप्त गरिएको हो, किर्ते कागजात प्रयोग गरिएको हो, आपराधिक गतिविधिमा प्रयोग गरिएको हो, भने फौजदारी अपराधको अनुसन्धान हुन्छ।
मुलुकी फौजदारी कार्यविधि संहिता
यो कानुनले अनुसन्धानको प्रक्रिया निर्धारण गर्छ
गाडी कसरी नियन्त्रणमा लिने,
कसरी बरामद मुचुल्का गर्ने,
अदालतमा प्रमाणको रूपमा कसरी पेश गर्ने,
कहिलेसम्म रोक्का राख्न मिल्ने, जस्ता विषय यस अन्तर्गत पर्छन्। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ ले अदालतलाई अभियुक्तसँग धरौटी, जमानत वा बैंक जमानत लिई तारिखमा राख्नसक्ने अधिकार दिएको छ ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन
यदि गाडी अवैध कमाइबाट खरिद गरिएको छ, सुन तस्करी, लागूऔषध कारोबार वा संगठित अपराधबाट प्राप्त रकमले किनिएको छ, भने सम्पत्ति शुद्धीकरणको अनुसन्धान पनि हुन्छ। राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन यदि गाडी प्रयोग गरेर कर छली, राजस्व छल, अवैध कारोबार, गरिएको छ भने यो कानुन आकर्षित हुन्छ।
गाडी जफत: ८० वर्षे इतिहास
नेपालमा सरकारले गाडी जफत गर्न थालेको इतिहास सवारी साधन नेपालमा भित्रिएलगत्तै सुरु भएको मानिन्छ। तर आज जस्तो स्पष्ट कानुनी व्यवस्था भने क्रमशः विकास भएको हो। सवारी नियन्त्रण र जफतसम्बन्धी सबैभन्दा पुराना कानुनी व्यवस्थामध्ये एक सवारी रुल, २००३ हो । यसले सवारी दर्ता, सञ्चालन र सरकारी नियन्त्रणको आधार तयार गरेको थियो।
अहिलेको मुख्य कानुनी आधार
हाल सवारी नियन्त्रण, दर्ता र कानुनी कारबाहीको मूल कानुन भने सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ हो । यस ऐनले दर्ताविहीन, नियमविपरीत वा गैरकानुनी रूपमा सञ्चालित सवारीमाथि कारबाही गर्न सक्ने आधार दिएको छ।
सबैभन्दा धेरै गाडी जफत हुने कारण
नेपालमा जफत भएका सवारीमध्ये ठूलो हिस्सा यी कारणले हुने गरेको पाइन्छः
भन्सार छली वा तस्करी
चोरीका सवारी
लागूऔषध ओसारपसार
नेपालमा आज जस्तो हजारौं गाडी जफत हुने अवस्था २०४० सालपछि मात्र देखिन थाल्यो। खासगरी भारतसँग खुला सीमाना,सवारीको संख्या तीव्र वृद्धि, भन्सार छली र तस्करी बढेसँगै भन्सार तथा प्रहरी यार्डहरूमा जफत गाडी थन्किने समस्या ठूलो बनेको हो। हाल राजश्व कार्यालय तथा प्रहरी कार्यालयहरुमा त्यसरी जफत गरिएका गाडीहरु दशाै हजार रहेको अनुमान गर्ने गरिन्छ । तर, त्यसको यकिन तथ्याँक भने छैन ।
दाबी गर्न नआउनुको कारण : विशेष गरी भारतीय नम्बर प्लेटका गाडीहरू दुर्घटना हुँदा वा बरामद हुँदा,घाइतेको उपचार र मृतकको क्षतिपूर्ति तिर्नुभन्दा गाडीको मूल्य कम हुने भएपछि धनीहरू गाडी छाडेर फरार हुन्छन्। त्यसरी बेवारिसे गाडीहरु प्रहरीले बेला बेलामा लिलाम गरेर विक्री गर्ने गर्छ ।
तर अझै पनि अर्बौँ रुपैयाँ बराबरका यी सवारी साधनहरू समयमै लिलाम हुन नसक्दा राज्यले ठूलो राजस्व गुमाइरहेको छ भने प्रहरी कार्यालय र भन्सारका आँगनहरू कबाडीखाना जस्ता देखिएका छन्। पछिल्लो समय सरकारले सरकारी सम्पत्ति तथा जिन्सी मालसामान लिलाम बिक्री सम्बन्धी कार्यविधिलाई केही खुकुलो बनाउँदै लिलामी प्रक्रियालाई तीव्र पार्ने प्रयास त गरेको छ, तर कानुनी जटिलता र सुस्त प्रशासनिक कार्यशैलीका कारण अझै पनि हजारौँ गाडीहरू अलपत्र अवस्थामै छन्।