देशको दिगो विकास र राजनीतिक स्थायित्वका लागि ‘हरित क्रान्ति’ (ग्रिन रिभोल्युसन) मात्रै अन्तिम र भरपर्दो विकल्प भएको उनले बताए । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकमा भएका विगतका राजनीतिक परिवर्तनहरूलाई विभिन्न रङको क्रान्तिका रूपमा चित्रण गर्दै अध्यक्ष घिसिङले अबको आवश्यकता आर्थिक र वातावरणीय क्रान्ति भएको बताए । अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टीको मूल दर्शन नै हरित क्रान्तिमा आधारित रहेको स्पष्ट पारे। पार्टीको झण्डा हरियो हुनु र चुनाव चिह्न ‘चिम’ ले शक्तिको सञ्चार गर्नुले पनि यो अवधारणालाई पुष्टि गर्ने उनको तर्क छ । हरित क्रान्तिको व्याख्या गर्दै उनले सुशासनलाई यसको केन्द्रबिन्दु मानिएको बताए । सुशासनका अतिरिक्त जलस्रोतको अधिकतम उपयोग गरी जलविद्युत् उत्पादन, हरित हाइड्रोजन र हरित युरियाको उत्पादनलाई पार्टीले मुख्य प्राथमिकतामा राखेको उनले जानकारी दिए ।
उनले भने, ‘उज्यालो नेपाल पार्टीको एउटा प्रमुख उद्देश्य नेपालमा हरित क्रान्ति गर्नु हो । हामी नेपालमा ‘ग्रिन रिभोल्युसन’ ल्याउने अभियानमा छौँ । विगतमा विभिन्न क्रान्तिका नाममा अनेकौँ राजनीतिक परिवर्तन भए । कसैले त्यसलाई श्वेत क्रान्ति भने, कसैले रातो क्रान्ति । यदि १० वर्षे जनयुद्धपछिको परिवर्तनलाई रातो क्रान्ति भनेर नामाकरण गर्ने हो भने, केही समयअघि स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो अभियानलाई निलो क्रान्ति (ब्लु रिभोल्युसन) भनेर प्रस्तुत गर्यो । तर निलो क्रान्ति धेरै समय टिक्दैन। अन्तिम र दिगो क्रान्ति भनेको हरित क्रान्ति अर्थात् ग्रिन रिभोल्युसन हो । यसले नेपाललाई दिगो रूपमा संस्थागत गर्छ, दिगो विकासको आधार तयार गर्छ, र देशमा राजनीतिक स्थायित्व कायम गर्न मद्दत गर्छ । त्यसैले नेपालको दिगो विकास र दिगो राजनीतिक स्थायित्वका लागि अब आवश्यक क्रान्ति भनेको हरित क्रान्ति नै हो, र यो हरित क्रान्तिको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्छ । उज्यालो नेपाल पार्टीको झण्डा हरियो छ, र पार्टीको चुनाव चिह्न ‘चिम’ ले शक्ति प्रदान गर्ने सन्देश दिन्छ । त्यसैले हरित क्रान्तिको अवधारणा हाम्रो पार्टीको मूल दर्शनसँग जोडिएको छ । हरित क्रान्ति भनेको के हो ? यसको मुख्य आधारभूत विषय सुशासन हो । हामीले सुशासनलाई हरित क्रान्तिको केन्द्रबिन्दु मानेका छौँ । यसका विभिन्न आयामहरू छन् । तीमध्ये सबैभन्दा महत्वपूर्ण क्षेत्र पानी हो । पानीबाट हामी जलविद्युत उत्पादन गर्न सक्छौँ । पानीकै माध्यमबाट हरित हाइड्रोजन उत्पादन गर्न सकिन्छ। हालैको बजेटमा हरित हाइड्रोजन र हरित युरिया सम्बन्धी केही विषय समेटिएका छन् । यी विषयहरू हामीले पहिले नै आफ्नो घोषणापत्रमा समावेश गरेका थियौँ । सरकारको बजेटमा ती विषयहरू केही मात्रामा समेटिएको देख्दा म सम्बन्धित पक्षलाई धन्यवाद दिन चाहन्छु ।’
उज्यालो नेपाल पार्टीले अबको राजनीतिक दिशा हरित क्रान्ति र सुशासनकै सेरोफेरोमा केन्द्रित हुने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।