राजधानीमा सम्पन्न 'समावेशी विकासका लागि निजी क्षेत्रको संलग्नता' विषयक क्षेत्रीय सम्मेलनले अब निजी क्षेत्रलाई विकासको केवल लाभग्राही मात्र नभई एक रणनीतिक साझेदारका रूपमा आत्मसाथ गर्नुपर्ने मुख्य सन्देश प्रवाह गरेको छ।
नेपाल उद्योग परिसंघ (सीएनआई) र हेल्भेटास नेपालको संयुक्त आयोजनामा 'व्यावसायिक प्रोत्साहन र विकासका परिणामबीचको संगम' भन्ने मूल नाराका साथ आयोजित उक्त सम्मेलनमा नेपालसहित विभिन्न देशका करिब १५० जना नीति निर्माता, व्यवसायी, विकासकर्मी र शिक्षाविद्हरूको सहभागिता थियो।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले सार्वजनिक क्षेत्र मात्र आर्थिक वृद्धिको एकमात्र इन्जिन बन्न नसक्ने बताए। उनले भने, ‘समावेशी वृद्धिको मार्ग गतिशील निजी क्षेत्रमार्फत निर्माण हुनुपर्छ। साना व्यवसाय र उपयोग नभएको श्रमशक्तिलाई विश्वव्यापी मूल्य शृंखलामा आबद्ध गर्न निजी क्षेत्रको भूमिका अपरिहार्य छ।’
पूर्व अर्थमन्त्री रामेश्वर खनालले सरकारले नियन्त्रकभन्दा सहजीकरणकर्ताको भूमिका निर्वाह गरे मात्र निजी क्षेत्रले आत्मविश्वासका साथ लगानी गर्न सक्ने उल्लेख गरे। त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले भविष्यका चुनौती सामना गर्न सरकार, व्यवसाय, श्रमिक र समुदायबीच 'नयाँ विकास सम्झौता' आवश्यक रहेको धारणा राखे।
हेल्भेटासका एसिया महादेशीय संयोजक डा. जुएर्ग मर्जले विकास सहकार्य अब परम्परागत अनुदानबाट सह-वित्तीयकरण र रणनीतिक लगानीतर्फ रूपान्तरण भइरहेको बताए। स्विस विकास तथा सहयोग नियोगका उपप्रमुख माथियास मायरले सार्थक साझेदारीमा लागत, जोखिम र जिम्मेवारी सबैको साझा हुने उल्लेख गरे ।
सम्मेलनमा नेपाल, म्यानमार, बंगलादेश र भियतनामका प्रतिनिधिहरूले सीप विकास र उद्यमशीलताका उत्कृष्ट अभ्यासहरू प्रस्तुत गरेका थिए। हेल्भेटास नेपालका कन्ट्री डाइरेक्टर मनीष प्रधानले निजी क्षेत्रसँगको साझेदारी कारोबारमा मात्र सीमित नभई विश्वास र सम्बन्धमा आधारित हुनुपर्नेमा जोड दिए।
सीप प्रतियोगिता र डिजिटल मार्केटप्लेस
सम्मेलनकै अवसरमा बागमती प्रदेश उद्योग परिसंघ (सीएनआई) सँगको सहकार्यमा प्रदेशस्तरीय सीप प्रतियोगिता आयोजना गरिएको थियो। जसमा सूचना प्रविधि विधामा सुष्मा तामाङ, अटोमोबाइलमा प्रेम गोले र आतिथ्य (हस्पिटालिटी) विधामा सुदीप वाइबा विजेता घोषित भए। यस्तै, सर्वाधिक अंक ल्याउने अमृता प्रजालाई प्रेसिडेन्सियल अवार्ड प्रदान गरियो भने सोफ्टी हाइजिन प्रालिलाई प्रशंसापत्र प्रदान गरियो।
सम्मेलनमा आयोजित डिजिटल मार्केटप्लेसमा नेपाल, बंगलादेश र भियतनामका विभिन्न संस्थाहरूले सीप विकास, रोजगारी र उद्यमशीलताका क्षेत्रमा भएका डिजिटल नवप्रवर्तनहरू प्रदर्शन गरेका थिए। यसले डिजिटल रूपान्तरणमार्फत सूचना र अवसरबीचको दूरी कम गरी समावेशी आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।