अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा भएको खेलमा आइभोरी कोस्टले खेलको अन्तिम समयमा गोल गर्दै महत्त्वपूर्ण ३ अङ्क पक्का गर्यो। खेलको निर्धारित समय सकिन मात्र १ मिनेट बाँकी छँदा (८९ औँ मिनेटमा) विल्फ्रेड सिङ्गोको उत्कृष्ट पासमा सब्सटिच्युट खेलाडी अमाद डियालोले डि–बक्सको मध्यभागबाट उत्कृष्ट गोल गर्दै आइभोरी कोस्टलाई रोमाञ्चक जित दिलाए।
सन् २०१४ पछि पहिलो पटक विश्वकप खेलिरहेको आइभोरी कोस्टका लागि यो जित ऐतिहासिक रह्यो। यस जितसँगै उनीहरूले विश्वकपमा दक्षिण अमेरिकी टोलीहरू विरुद्ध लगातार तीन खेलमा व्यहोरेको हारको शृङ्खलालाई समेत तोडेका छन्।
खेलको पहिलो हाफमा इक्वेडरले निकै आक्रामक खेल प्रदर्शन गरे पनि गोल गर्न सकेन। पहिलो हाफमा इक्वेडरका दुईवटा प्रहार गोलपोस्टको बारमा ठाक्किएर बाहिरिएका थिए। यस हारसँगै इक्वेडरको १९ खेलसम्मको ऐतिहासिक अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ।
समूह ई मा जर्मनीले कुरासाओमाथि फराकिलो जित निकाल्दै शीर्ष स्थान ओगटेको छ भने आइभोरी कोस्ट ३ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ।