प्रतिनिधिसभामा ९ मन्त्रालयको बजेटमाथि छलफल सुरु हुने, राष्ट्रिय सभामा अर्थमन्त्रीले जवाफ दिने

Jun 15, 2026 08:41 AM Merolagani



सङ्घीय संसद्अन्तर्गत आज दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा) को बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३र८४ को विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकहरूमाथि समूहीकृत रूपमा छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ। बैठकमा आज विभिन्न ९ वटा मन्त्रालयहरूको बजेट वक्तव्य र विनियोजित शीर्षकहरूमाथि सांसदहरूले आफ्नो धारणा राख्नेछन्।

आज छलफल हुने मन्त्रालयहरूः

  • युवा, श्रम तथा रोजगार मन्त्रालय
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
  • कृषि, वन तथा पर्यावरण मन्त्रालय
  • सूचना तथा सञ्चार मन्त्रालय
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
  • शिक्षा तथा खेलकुद मन्त्रालय
  • स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय
  • भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
  • महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय

बैठकमा यी मन्त्रालयहरूका लागि विनियोजित बजेटको प्राथमिकता, खर्चको खाका र नीतिहरूमाथि केन्द्रित रहेर सांसदहरूले संशोधन प्रस्ताव र सुझावहरू प्रस्तुत गर्नेछन्।

उता दिउँसो १ः१५ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल जारी रहनेछ।

राष्ट्रिय सभामा आजको बैठकको मुख्य कार्यसूची अन्तर्गत, बजेटमाथि सांसदहरूले उठाएका जिज्ञासा, आलोचना र सुझावहरूको सम्बन्धमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने कार्यक्रम रहेको छ। बजेटको आकार, राजस्व सङ्कलनको लक्ष्य र विनियोजन प्रणालीलाई लिएर सदनमा भइरहेको बहसलाई लिएर अर्थमन्त्रीको सम्बोधनलाई चासोका साथ हेरिएको छ।