ब्राजिलको पहिलो सानदार जित, टर्कीमाथि पाराग्वेको कठिन जित

Jun 20, 2026 11:05 AM Merolagani



फिफा विश्वकप २०२६ को समूह चरण अन्तर्गत आज भएका दुई फरक खेलहरूमा पूर्व विजेता ब्राजिल र दक्षिण अमेरिकी टोली पाराग्वे आ–आफ्नो खेलमा विजयी भएका छन्। पहिलो खेलमा ब्राजिलले हाइटीलाई सहजै किनारा लगायो भने दोस्रो खेलमा १० खेलाडीमा समेटिएको पाराग्वेले टर्कीलाई स्तब्ध बनायो।

फिलाडेल्फिया स्टेडियममा भएको खेलमा ब्राजिलले उत्कृष्ट पुनरागमन गर्दै हाइटीलाई ३–० ले पराजित गरेको हो। मोरक्कोसँगको पहिलो खेलमा १–१ को बराबरीमा रोकिएको कार्लो एन्सेलोटीको ब्राजिलले आज पहिलो हाफमै खेल आफ्नो नियन्त्रणमा लिएको थियो।

म्यानचेस्टर युनाइटेडका फरवार्ड माथियस कुन्हाले २३औँ र ३६औँ मिनेटमा लगातार दुई गोल गर्दै ब्राजिललाई २–० को बलियो स्थितिमा पुर्‍याए। पहिलो हाफको इन्जुरी समयमा रियल म्याड्रिडका स्टार भिनिसियस जुनियरले गोल थप्दै टोलीलाई ३–० को जित सुनिश्चित गराए।

लगातार दोस्रो हारसँगै हाइटी प्रतियोगिताको समूह चरणबाटै बाहिरिने निश्चित भएको छ। यो जितसँगै ब्राजिल ४ अंकका साथ समूह सी को शीर्ष स्थानमा उक्लिएको छ।

त्यस्तै, सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको अर्को तनावपूर्ण खेलमा पाराग्वेले टर्कीलाई १–० को अन्तरले पराजित गर्दै प्रतियोगितामा आफ्नो सम्भावना जीवित राखेको छ। दुवै टोली आफ्नो पहिलो खेलमा पराजित भएकाले यो खेल निकै दबाबपूर्ण रहेको थियो।

खेल सुरु भएको दोस्रो मिनेटमै पाराग्वेका मातियास गालार्जाले गरेको गोल नै खेलको निर्णायक गोल साबित भयो। पहिलो हाफको अन्तिम समयमा पाराग्वेका प्रमुख खेलाडी मिगुएल अल्मिरोनले रातो कार्ड पाएपछि पाराग्वे दोस्रो हाफभरि १० खेलाडीमा सीमित भएको थियो। दोस्रो हाफमा टर्कीले झण्डै ८० प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राखेर लगातार आक्रमण गरे पनि पाराग्वेका गोलकिपर ओर्लान्डो गिलले सानदार बचाउ गर्दै टर्कीलाई अंकविहीन बनाए।

यो जितपछि समूह डी मा पाराग्वेको ३ अंक भएको छ र उसले अन्तिम खेलमा अष्ट्रेलियाको सामना गर्नेछ, जबकि लगातार दुई हार बेहोरेको टर्की संकटमा परेको छ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।