फिफा विश्वकप २०२६ः इजिप्टको सानदार पुनरागमन, न्युजिल्याण्ड ३–१ ले पराजित

Jun 22, 2026 08:58 AM Merolagani



फिफा विश्वकप २०२६ को समूह जी अन्तर्गत क्यानडाको बीसी प्लेस भ्याकुभर स्टेडियममा आज भएको खेलमा इजिप्टले उत्कृष्ट पुनरागमन गर्दै न्युजिल्याण्डलाई ३–१ को फरकले पराजित गरेको छ। पहिलो हाफमा पछि परेको इजिप्टले दोस्रो हाफमा उत्कृष्ट लय समात्दै ३ गोल फर्काउन सफल भयो।

खेलको सुरुवात न्युजिल्याण्डका लागि निकै सुखद रह्यो। विश्वकप इतिहासमै पहिलो पटक खेलको पहिलो हाफमा अग्रता लिने क्रममा न्युजिल्याण्डले सुरुवाती दबाब सिर्जना गर्‍यो। खेलको १५औँ मिनेटमा टिम पेनको पासमा फिन सुरम्यानले उत्कृष्ट गोल गर्दै न्युजिल्याण्डलाई १–० को अग्रता दिलाएका थिए।

पहिलो हाफ निकै आक्रामक रह्यो, जसमा इजिप्टका मोहनद लासिन तथा न्युजिल्याण्डका सरप्रित सिंह र काल्लम म्याककोवाटले पहेँलो कार्ड पाएका थिए।

दोस्रो हाफमा भने मैदानमा अर्कै इजिप्ट देखियो। रणनीति परिवर्तन गर्दै मैदान उत्रिएको इजिप्टका अगाडि न्युजिल्याण्डको रक्षापंक्तिले घुँडा टेक्यो। ५८औँ मिनेटमा मोहम्मद हानीको पासलाई सदुपयोग गर्दै मोस्ताफा जिकोले हेडमार्फत गोल गरी खेललाई १–१ को बराबरीमा ल्याए।

बराबरीको ठीक ९ मिनेटपछि अर्थात् ६७औँ मिनेटमा इजिप्टका स्टार कप्तान मोहम्मद सालाहले उत्कृष्ट गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए। त्यस्तै, खेलको ८२औँ मिनेटमा मोहम्मद सालाहको पासमा सब्सटिच्युट खेलाडी ट्रेजेग्वेले गोल गर्दै इजिप्टको ३–१ को सानदार जित सुनिश्चित गरे।

यसअघि आफ्नो पहिलो खेलमा इजिप्टले बेल्जियमसँग १–१ को बराबरी खेलेको थियो भने न्युजिल्याण्डले इरानसँग २–२ को बराबरी खेलेको थियो। आजको जितसँगै इजिप्टले २ खेलबाट ४ अंक जोड्दै नकआउट चरणको सम्भावनालाई निकै बलियो बनाएको छ। अर्कोतर्फ, केबल १ अंकमा सीमित न्युजिल्याण्डका लागि अब अघिल्लो चरणको यात्रा कठिन बनेको छ।