वैदेशिक व्यापारको ११ महिनाः आयातित कच्चा पदार्थमै निर्भर नेपालको निर्यात व्यापार

Jun 22, 2026 05:09 PM Merolagani



चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिना (साउनदेखि जेठ मसान्तसम्म) को वैदेशिक व्यापार तथ्यांकले नेपालको निर्यात व्यापारको एउटा विशिष्ट चरित्र र संरचनागत कमजोरीलाई उजागर गरेको छ।

भन्सार विभागको ११ महिनाको तथ्याङ्क अनुसार नेपालको कुल वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.२७ प्रतिशतले वृद्धि भई २ खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको ११ महिनामा नेपालले २ खर्ब ४७ अर्ब ५७ करोड २१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो।

निर्यातमा देखिएको यो वृद्धिदर उत्साहजनक सुनिए पनि देशको कुल आयात र चुलिँदो व्यापार घाटाको तुलनामा भने यो निकै सानो हो। जेठ मसान्तसम्म कुल वस्तु आयात १५.१५ प्रतिशतले बढेर १८ खर्ब ९४ अर्ब ९ करोड ८८ लाख रुपैयाँ पुग्दा कुल व्यापार घाटा १५.६६ प्रतिशतले विस्तार भई १६ खर्ब १६ अर्ब १३ करोड १६ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८७.२० प्रतिशत रहँदा निर्यातको योगदान मात्र १२.७९ प्रतिशतमा सीमित छ, जसले नेपालको आयात–निर्यात अनुपातलाई ६.८१ पु¥याएको छ। अर्थात्, नेपालले १ रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६ रुपैयाँ ८१ पैसा बराबरको वस्तु बाहिरबाट खरिद गरिरहेको छ।

तथ्यांकलाई अझ मिहीन ढंगले केलाउँदा नेपालको निर्यात व्यापारको ठूलो हिस्सा स्वदेशी उत्पादनमा नभई बाहिरी मुलुकबाटै आयात गरिने कच्चा पदार्थमा टिकेको स्पष्ट हुन्छ। समीक्षा अवधिमा ११ महिनाको अवधिमा ११ अर्ब ३१ करोड ८३ लाख रुपैयाँ बराबरको भटमासको तेल निर्यात भई सूचीको पहिलो स्थानमा छ। दोस्रो स्थानमा १ अर्ब २० करोड ११ लाख रुपैयाँसहित अलैँची दाना र तेस्रो स्थानमा ९३ करोड ८१ लाख रुपैयाँसहित उनी गलैँचा तथा कार्पेट रहेका छन्। चौथो स्थानमा ७९ करोड ९३ लाख रुपैयाँको सूर्यमुखीको प्रशोधित तेल, पाँचौँमा ६१ करोड ४० लाख रुपैयाँको पाल्मोलिन तेल र छैटौँमा ५७ करोड ८४ लाख रुपैयाँको जुटबाट बुनिएका कपडाहरू रहेका छन्। यसै गरी ५० करोड ४४ लाख रुपैयाँ बराबरको अन्य फेल्टका सामान निर्यात हुँदै सातौँ स्थानमा रहँदा आठौँमा ४६ करोड ८ लाख रुपैयाँको पोलिएस्टर स्टेपल फाइबर धागो, नवौँमा ४४ करोड १९ लाख रुपैयाँको मिश्रित फलफूलको रस र दशौँ स्थानमा ४३ करोड ९१ लाख रुपैयाँको पोलिएस्टर सिङ्गल धागो अटाएका छन्।

उत्कृष्ट १० वस्तुको यो सूचीले नेपालको निर्यातको जग कति हदसम्म आयातित कच्चा पदार्थमा आधारित छ भन्ने देखाउँछ। सूचीको पहिलो, चौथो र पाँचौँ स्थानमा रहेका भटमासको तेल, सूर्यमुखी तेल र पाल्मोलिन तेलको संयुक्त निर्यात मात्रै झन्डै २५ अर्ब रुपैयाँ बराबरको छ। नेपालले अर्जेन्टिना, ब्राजिल, युक्रेन, मलेसिया र इन्डोनेसिया जस्ता मुलुकहरूबाट खर्बौँ रुपैयाँ बराबरको कच्चा भटमास, सूर्यमुखी र पाम तेल आयात गर्दछ। स्वदेशी रिफाइनरी उद्योगहरूले यी कच्चा तेलहरूलाई प्रशोधन, रङ्गहीन र गन्धहीन बनाउने तथा प्याकेजिङ गरी दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रको शून्य भन्सार नीतिको प्राविधिक लाभ उठाउँदै भारतीय बजारमा पठाउने गर्छन्। तेल मात्र नभई सूचीमा रहेका पोलिस्टर धागोहरूका लागि आवश्यक पर्ने मुख्य कच्चा पदार्थ ‘पोलिएस्टर स्टेपल फाइबर’ नेपालमा नबन्ने हुँदा मुख्य रूपमा चीन, भारत र इन्डोनेसियाबाट आयात गरिन्छ। नेपालका आधुनिक कताइ मिलहरूले यो आयातित फाइबरलाई धागोमा रूपान्तरण गरी भारत, टर्की र केही युरोपेली मुलुकमा निर्यात गर्छन्।

यसै गरी स्वदेशी जुट मिलहरूले आफ्नो मागको ठूलो हिस्सा कच्चा जुट बंगलादेश र भारतबाट आयात गर्छन् र त्यसबाट सुतली, बोरा र बुनिएका कपडा बनाई पुनः भारततर्फ नै ५७ करोड ८४ लाख रुपैयाँ बराबरको निर्यात गर्छन्। बहुराष्ट्रिय कम्पनीहरूले उत्पादन गर्ने फलफूलको रसको मुख्य लेदो वा कन्सन्ट्रेट समेत भारत, चीन र तेस्रो मुलुकबाट आयात गरी स्वदेशी पानी र चिनी मिसाएर प्याकेजिङ गरी छिमेकी देशमा निर्यात गरिन्छ, जसको आकार ४४ करोड १९ लाख रुपैयाँ छ। उत्कृष्ट १० मा नपरे पनि जस्तापाता र फलामे डन्डीका लागि कच्चा पदार्थका रूपमा प्रयोग हुने एमएस बिलेट र एचआर सिट शतप्रतिशत भारतबाट आयात गरी प्रशोधन पश्चात् पुनः भारतकै उत्तर–पूर्वी राज्यहरूमा पठाइन्छ।

यस्तो प्रकारको निर्यातले देशमा केही औद्योगिक रोजगारी र न्यून मूल्य अभिवृद्धि गरे पनि कच्चा पदार्थका लागि पूर्ण रूपमा बाह्य बजारमा भर पर्नुपर्ने हुनाले यसलाई दिगो मान्न सकिँदैन। छिमेकी मुलुकको नीतिगत वा भन्सार दरको सामान्य फेरबदलले पनि यो व्यापार जुनसुकै बेला प्रभावित हुन सक्ने जोखिम रहन्छ। यस विपरीत, पूर्ण रूपमा स्वदेशी श्रम र माटोमा आधारित नेपाली अलैँची र हस्तनिर्मित उनी गलैँचाले अन्तर्राष्ट्रिय बजारमा कायम गरेको साख भने मुलुकका लागि वास्तविक रूपमा सुखद छ। यी वस्तुहरूले मात्रै वास्तविक र दिगो रूपमा देशमा विदेशी मुद्रा भित्र्याउन सघाएका छन्। जेठ मसान्तसम्मको यो समग्र चित्रले नेपालले दीर्घकालीन रूपमा वैदेशिक व्यापार सन्तुलनमा ल्याउनका लागि पुनः निर्यात हुने वनस्पती तेल जस्ता वस्तुको निर्भरतालाई क्रमशः कम गर्दै लैजानुपर्ने आवश्यकता औंल्याउँछ। त्यसको सट्टा उच्च मूल्य अभिवृद्धि हुने स्वदेशी कृषि उपज र मौलिक हस्तकला उद्योगलाई प्राथमिकता नदिएसम्म व्यापार घाटाको यो विशाल खाडल पुरिन गाह्रो देखिन्छ।