सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारी (ईभी) मा करको दर परिमार्जन गरेसँगै कम्पनीले शुक्रबारदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।
कति बढ्यो मूल्य ?
कम्पनीका अनुसार बीवाईडी एट्टो २ को मूल्यमा ३ लाख ४ हजार रुपैयाँ र एट्टो ३ को मूल्यमा २ लाख रुपैयाँ वृद्धि भएको छ। यसअघि ४५ लाख ९५ हजार रुपैयाँमा बिक्री हुँदै आएको बीवाईडी एट्टो २ मोडलको मूल्य अब ४८ लाख ९९ हजार रुपैयाँ पुगेको छ।
त्यस्तै, यसअघि ५९ लाख ९९ हजार रुपैयाँ पर्ने बीवाईडी एट्टो ३ (एड्भान्स भेरियन्ट) मोडलको मूल्य बढेर ६१ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ। यद्यपि, मूल्य समायोजन हुनुभन्दा अगाडि नै गाडी बुकिङ गरिसकेका ग्राहकहरूलाई भने कम्पनीले पुरानै मूल्यमा गाडी उपलब्ध गराउने स्पष्ट पारेको छ।
मूल्य बढ्नुको मुख्य कारण
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत ईभीको कर संरचनामा व्यापक परिवर्तन गरेको छ। यसअघि मोटरको ‘पिक पावर’ क्षमताका आधारमा लाग्दै आएको भन्सार महसुललाई अहिले ‘मूल्यगत’ आधारमा परिवर्तन गरिएको छ।
साथै, सरकारले ईभीमा अन्तःशुल्क खारेज गरी भन्सार विन्दुमै ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’ थप गरेको छ। नयाँ व्यवस्थाअनुसार गाडीको मूल्यका आधारमा २.५ प्रतिशतदेखि १३० प्रतिशतसम्म यस्तो शुल्क लाग्ने व्यवस्था छ। यसका साथै ५ प्रतिशत सडक निर्माण दस्तुर र १३ प्रतिशत भ्याट पनि यथावत् छ, जसको प्रत्यक्ष असर गाडीको अन्तिम बिक्री मूल्यमा परेको हो।
गत नाडा अटो शोमा सार्वजनिक भएको एट्टो २ नेपालमा निकै रुचाइएको मोडल हो। सार्वजनिक भएको एक वर्षभन्दा कम समयमै करिब २ हजार युनिट बिक्री भइसकेको छ। साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतमका अनुसार अझै पनि करिब ८ सय ग्राहकहरू एट्टो २ को प्रतीक्षामा छन्। पेट्रोल र डिजेलको मूल्यवृद्धिका कारण पनि उपभोक्ताहरू आधुनिक फिचर र किफायती सञ्चालन खर्च भएको बीवाईडीतर्फ आकर्षित भएको उनको भनाइ छ।